त्रिफला राष्ट्रिय पुस्तकालय धुलाबारी झापाका अध्यक्ष प्रेम प्रकास पोख्रेल (फलाहारी)को सभापतित्वमा कात्तिक २ गते भर्चुअल माध्यमबाट श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरियो ।

उध्दव बिष्टद्वारा सञ्चालित उक्त कार्यक्रममा उमा ओडारीले पाँचथरबाट तिहारको शुभकामना र वाङ्गमय शताव्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्नु हुँदै कार्यक्रममा स्वागत गर्नुभएको थियो।

कार्यक्रममा जानुका राईले हङकङबाट वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र राष्ट्र कवि माधव प्रसाद घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै त्रिफला पुस्तकालय पुगेर फर्किएपछि त्रिफलासम्बन्धी लेख लेखेको सुनाउनुभयो । उहाँले फलाहारी बाबाले यो पुस्तकालय खोलेर एकदमै राम्रो काम गर्नुभएको छ भन्नु हुँदै आफूले समेत तन, मन, धनले आगामी दिनमा पुस्तकालयलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसैगरी काठमाडौंबाट ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले सिक्किमबाट फर्कदा त्रिफला पुस्तकालय पुग्नुपर्ने ठाउँ छुटाएको पछुतो सुनाउनु हुँदै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीसँग २०४६सालको आन्दोलनमा सडकमा सक्रिय रूपमा लाग्नु भएको प्रसंग सम्झनु भयो । जोशीको योगदानको सम्मान गर्दै ललितपुर नगरपालिकाले उहाँलाई जीवनकालमै गाडी सुविधा उपलब्ध गराएको र किष्ट अस्पतालले स्वास्थ्य उपचार सुविधा र घरमै नर्सद्वारा स्वास्थ्य हेरविचार सुविधा दिइएको थियो भन्नुहुँदै देशले पहिलो पटक स्रष्टाको नाममा बिदा दिएकोमा गर्वानुभूति भएको व्यक्त गर्नु भयो। सिंहले नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव २०७३मा प्रथम भएको आफ्नो कविता वाचनसमेत गर्नुभएको थियो ।

यसैगरी इलामबाट जीवनहरि शर्माले पनि सुन्दर कविता वाचन गरेर सुनाउनु भयो भने काठमाडौंबाट खोलाघरे साँइलोले सत्यमोहन जोशी बासँगको भेटको संस्मरण सुनाउनु हुँदै राष्ट्रकवि माधवप्रसाद घिमिरेप्रति समर्पित रचना वाचन गर्नुभयो भने दार्जिलिङ खर्स्याङकी देविका मग्रान्ती राईले चाडपर्वको समयमा चिया मजदुरले बोनस भत्ता नपाएको पीडा सम्झनु हुँदै एउटा सुन्दर रचना वाचन गर्नुभयो।

आशा प्रज्ञा केन्द्रका अध्यक्ष उमा घिमिरेले काठमाडौंबाट आफ्ना भनाइहरू राख्नु भयो । घनस्याम बराल(धनकुटा), टिका ढुङ्गेल”रटन”(सिक्किम), त्रिफलाका उपाध्यक्ष रामप्रसाद दाहाल,त्रिफलाका संरक्षक तोयानाथ फुयाल ( काठमाडौं)ले आ-आफ्ना परिचयसहित मन्तव्य राख्नुभयो।

सभापति प्रेम प्रकाश पोख्रेल “फलाहारी” गुरुले यहाँहरूकै सहयोगले त्रिफला पुस्तकालय स्थापनाको रजत वर्ष मनाउन सफल भएको अनुभव सुनाउनु हुँदै आजको कार्यक्रम निकै राम्रो भएको अनुभव सुनाउनु भयो ।