मेरी फ्रान्सेस ओ’कोनर

मान्छे किन शोक मनाउँछ ? सबैलाई थाहा छ, यो मानिस जो मेरो अगाडि छ, कुनै न कुनै दिन टाढा हुनेछ । मर्नेछ र ऊ नरहेको कुरामा विश्वास गर्नुपर्नेछ तर पनि मन मान्दैन । जुन दिन त्यो मानिस मर्छ, विश्वासै लाग्दैन । भरै वा भोलि नै ऊ ढोका ढक्ढक्याउला कि झैँ लाग्छ । फोन पो गर्ला कि, जस्तो लागिरहन्छ ।

यी सबै किन हुन्छ ? किनभने प्रेम र अट्याचमेन्टका कारण । हाम्रो मस्तिष्कले उसप्रति यति र यसरी गाँसिदिन्छ कि हामी ऊ बिनाका कुरा कल्पना पनि गर्न सक्दैनौँ ।

जो मानिससँग हाम्रो दैनिक बोलचाल हुन्छ, सँगै खाना खाइन्छ, छुट्टिएर अन्तअन्तै काम गरिन्छ र बेलुकी पुनः भेट हुन्छ, यस्तो मानिसको देहान्त हुँदा हाम्रो मस्तिष्कले पनि सोही दैनिकी खोजिरहन्छ । हृदयको अन्तसमा सोही दैनिकी दोहोरिने अपेक्षा मस्तिष्कले गरिरहन्छ ।

जब कोही मर्छ, त्यो दैनिकी पुनः दोहोरिँदैन । पटक पटक नदोहोरिएपछि क्रमशः मानिसहरू नयाँ दैनिकीमा अभ्यस्त हुन थाल्छन् ।

तर कहिलेकाहीँ त्यस्तो हुँदैन । मरिसकेको मानिसलाई मानिसले देख्छ, कुराकानी गर्छ वा अनुभूत गर्छ । यो कुरा अरू मान्न तयार हुँदैनन् । धेरै मानिसहरू पुनर्जन्ममा विश्वास गर्छन् तर म गर्दिनँ । एउटा न्युरोवैज्ञानिकका रूपमा अध्ययन गर्दा मैले के पाएँ भने, हाम्रो मस्तिष्कले भविष्यवाणी गर्ने मेसिनका रूपमा काम गर्छ । मुटुले तपाईं शरीरभरि रगत पुर्याउँछ र नमरूञ्जेल यही काम गरिरहन्छ । ठीक यसरी नै तपाईंको मृत्यु नहुञ्जेल तपाईंको मस्तिष्कले अब के हुन्छ, त्यसको तयारीका लागि घटनालाई आँकलन गर्छ । यही कारणले हामी जहिले पनि सम्भावित वा आँकलित संसारका बाँच्ने गर्छौं । यस हिसाबले हामी सधैँ दुई वटा संसारमा एकैसाथ बाँचिरहेका हुन्छौँः निर्मित संसार र वास्तविक संसार । कहिलेकाहीँ हामी आँकलन गरिएको वा मस्तिष्कले निर्माण गरेको संसार र वास्तविक संसारबीच तालमेल मिलाउन सक्दैनौँ ।

ड्यानियल कानेमनको ‘थिङ्किङ, फास्ट एन्ड स्लो’ नामक पुस्तकमा हाम्रो मस्तिष्कले परस्पर विरोधाभाषपूर्ण सूचनालाई आफ्नो तरिकाले मथ्छ र नयाँ निष्कर्ष निकाल्छ भन्ने प्रमाणित गरेका छन् । भनाइको अर्थ, अप्ठेरो र ज्यादै विवादका क्षणमा अनि हाम्रा विरोधाभाषका क्षणमा हाम्रो मस्तिष्कले आफ्नै कथा कथ्छ र त्यसबाट अर्थ निकाल्छ ।

शोकका बेलामा अधिकांशतः यस्तो हुने गर्छ । कसैले तेरो लोग्ने मर्यो भन्छन् तर विधवी स्त्री त्यो मान्न तयार हुन्न ।

शोक र शोकावधि फरक कुरा हुन्छन् । शोकको घन ज्यादै सघन हुन्छ । यो एक पटकको घनले तपाईंलाई शून्य बनाएर जान्छ । त्यसले छाड्ने आवृत्तिले तपाईंलाई रिङ्ग्याइरहन्छ भने त्यो शोकावधि हो ।

एलिसाबेथ कुब्लेरोसले यस्तै शोकको बारेमा अध्ययन गरेकी छन् र उनले पाँच प्रकारका शोकहरूबारे बताएकी छन् । म उनको अध्ययनको ठूलो प्रशंसक हुँ । उनले पहिलो पटक शोकमाथि वृहद् चर्चा गरेर शोक पनि कुरा गर्न लायक विषय हो भन्ने प्रमाणित गरिदिइन्, जबकि यसअघि कसैले त्यसरी सोचेका थिएनन् । पहिलो पटक उनले सन् १९६९ मा ‘अन डेथ एन्ड डाइङ’ लेखेकी थिइन् र सो पुस्तकको अधिकांश भागमा उनी सही छन् जबकि यो खोज न्युरो वैज्ञानिकको भागको थियो । उनले आफू नजिकका मानिसहरूको अनुभवका आधारमा ती कुरा लेखेकी थिइन् । र, ती कुरा अहिले पनि उत्तिकै सत्य छन् । मानिसहरू अवशाद भोग्छन्, अस्वीकृति र स्वीकार भोग्छन् । तर उनका पुस्तकमा जति पनि मानिसको अन्तरवार्ता लिएकी छन्, ती सबै एक पटक मात्र लिएकी छन् । यतिबेला आएर बल्ल प्रमाणित भएको छ, कुनै पनि व्यक्तिको कुनै अनुभव वा समस्या सबै व्यक्तिको उही अनुभव र समस्या हुँदैन । यो सिधा सरल तरिकाले अघि बढ्दैन । यो बिल्कुलै डेढोमेढो बाटो गरेर अघि बढ्छ । त्यसैले उनका अध्ययन इमान्दरीपूर्वक गरिएका भए पनि बारम्बार र दोहोर्याएर गर्नुपर्ने आवश्यकता बोध हुन्छ ।

मेरी आमाको मृत्यु हुँदा जुन शोक र शोकावधिबाट गुज्रिएँ, त्यो बेला म शोकविज्ञ भएकी थिइनँ । मलाई आमाको मृत्युलाई सहजबोध गर्न ज्यादै अप्ठेरो भयो । मलाई कसैले मनोपरामर्श लिन सुझाए । त्यो बेला जुन अवस्थामा गुज्रिएँ, मनोपरामर्श लिँदा गरिएका सारा टिपोट यतिबेला काम लाग्यो, २० वर्षपछि । मैले त्यसैका आधारमा ‘द ग्रिभिङ ब्रेनः द सरप्राइजिङ साइन्स अफ हाउ वि लर्न फ्रम लभ एन्ड लस’ लेखेँ । मेरा बुवाको निधनका बेला मैले आफू र शोकबारे धेरै बुझ्ने भइसकेकी थिएँ । मृत्युलाई कसरी लिने भन्ने बुझ्ने भइसकेकी थिएँ । मेरा बुवाको मृत्युको शोकावधिमा मनोवैज्ञानिक शब्दावलीमा म अल्झिनँ, बरू म त्यसबाट मुक्त भएँ । मृत्युपछि हाम्रो शरीरले प्रतिक्रिया जनाउँछ, चाहे जतिसुकै ज्ञानी किन नहोऊँ म भन्ने कुराको ज्ञात भइसकेको थियो । त्यसैले मैले शोकलाई स्वीकार गरेँ । मेरालागि त्यो पीडा मात्र भयो, शोक मात्र रह्यो । यो आउँछ र हुन्छ भन्ने थाहा भएपछि मैले शोकावधिलाई सहजै पार गरेँ । म त्यहीँ अड्किएर बसिनँ । यो अनुभव मैले अनुभूत गरेँ, द्रष्टा बनेँ र जतिसुकै पीडामा भए पनि त्यसलाई सहेँ । पछि म छ्याङ्ग भएँ ।

धेरै मानिसहरू शोक अवधि बार्न पाइएन भनेर आफूलाई दोष दिन्छन् । कसैले शोक बारेन भनेर दोष पनि दिन्छन् । मेरी आमाको मृत्युपछि नै बिहेको औँठी फुकाल्नु भयो, छरछिमेकले निकै कुरा काटे । उनीहरू ज्यादै रूष्ट देखिन्थे । हामीले चाहिँ बुवालाई ज्यूँदो रहुञ्जेल आमालाई सक्दो सहयोग, दिनदिनै सेवा गर्नुभयो, अब यो औँठीले हुनेवाला केही छैन भनेर सम्झाएका थियौँ । बाँचुञ्चेल चाहिँ उपेक्षा गर्ने अनि मरेपछि शोक बार्नुभन्दा बरू बाँचुञ्जेल सहयोग गर्ने र मरिसकेपछि आफू त्यहीँ नअड्किई अघि बढ्नु बुद्धिमता हो भनी सम्झाएका थियौँ । उहाँले त्यो कुरा बुझ्नुभयो ।

हामी जतिसुकै बुझ्ने होऔँ, जतिसुकै ज्ञानी बनौँ, शोकले तपाईंलाई घेर्छ नै । किनभने हामीले आमाबुवा, लोग्नेस्वास्नी, प्रेमीप्रेमिका, दाजुभाइ, दिदीबहिनी, साथीसङ्गी सबैमाथि ठूलो लगानी गरेका हुन्छौँ । ज्यादै ठूलो र लामो लगानी हुने हुनाले हामी सहजै त्यस अवस्थालाई स्वीकार गर्न सक्दैनौँ । जति गहिरो सम्बन्ध, उति लामो शोकावधि ! किनभने हामी उनीहरूसँग एकअर्कामा गाँसिएका हुन्छौँ, आन्द्रै जोडिएजस्तो भएका हुन्छौँ । अचानक आन्द्रा चुँडिएपछि त्यसको प्रतिस्थापन तत्कालै हुँदैन, गर्न पनि सकिँदैन । त्यसैले हामीलाई शोकले घेर्छ । कुनै विधवाले लोग्नेजस्तै कदकाठीको मानिस देखी भने पुरानो घाउसमेत बल्झिन्छ । त्यो ज्यादै पीडादायी हुन्छ र यस्तो बेलामा नयाँ सम्बन्ध गाँस्न पनि गाह्रो हुन्छ ।

केही कथं त्यस्तै मानिससँग सम्बन्ध गाँसियो भने पनि उनीहरूलाई त्यो सम्बन्ध लामो समयसम्म लैजान गाह्रो हुनसक्छ । किनभने, मान्छे त मरिसकेको हुन्छ तर गहिरो गरी आत्मामा जोडिएको मानिस तपाईंसँगै यात्रामा हुन्छ, भावमा, अनुभूतिमा । त्यही भएर कुनै ब्रेकअपपछि कोही लामो समयसम्म सम्बन्ध जोड्न सक्दैनन्, जोडिए पनि त्यसमा टिक्न सक्दैनन् र अन्य कयौँ सम्बन्धमा पुरानो व्यक्ति खोजिहिँड्छन् ।

कहिलेकाहीँ शोक र शोकावधिबाट निस्कन नसक्दा मान्छे जीवनभर दुःखी प्राणी भई जीवन घिसारिरहेको हुन्छ । बस्, मैले त्यही कुरा सम्झाउन शोकमाथि यो शोध गरेँ र जन्मियो- द ग्रिभिङ ब्रेन अर्थात् शोक मनाइरहेको मस्तिष्क !