नेपाली लेखक सङ्घको शनिबार काठमाडौंमा बसेको बैठकले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्याउने एकजना स्रष्टालाई एकलाख राशि सहितको ‘विशिष्ट लेखक पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाली लेखक सङ्घका अध्यक्ष तथा वरिष्ठ कवि तीर्थ श्रेष्ठको अध्यक्षतामा बसेको सङ्घको दोस्रो केन्द्रीय समितिको पूर्ण बैठकले २०८० साल बैशाख १६ गतेदेखि ‘लेखक दिवस’ मनाउन शुरुआत गर्ने निर्णय गरेको छ । उक्त दिन नेपाली लेखक सङ्घका सबै प्रदेश कमिटी र जिल्ला शाखाहरूले ‘लेखक दिवस’ विशेष कार्यक्रमको आयोजना गरी मनाउन पनि आग्रह गरेको छ ।

१९८७ सालमा निरंकुश राणा शासनको विरुद्ध संगठित हुन सुरु गरिएको पुस्तकालय अभियानमा राज्यका तर्फबाट भएको ज्यादतीलाई ‘पुस्तकालय पर्व’का नामले परिचित छ । नेपालमा राजनीतिक दलहरू खोल्नुपूर्व नै सचेत जनस्तरबाट संगठित भएर निरंकुश शासकविरुद्ध यो नै सिर्जनात्मक चेतको पहिलो विद्रोह थियो । यस अभियानको क्रममा १९८७ वैशाख १६- १७ गते राज्यद्रोह गरेको नाममा पुस्तकालय अभियानमा संलग्न ४५ जना स्रष्टाहरूलाई राज्यका तर्फबाट विभिन्न मुद्दा लगाई, दण्ड जरिवाना र जेल चलान गरेको थियो। स्रष्टाहरूले राजनीतिक परिवर्तनका लागि चालेको संगठनात्मक चेतको उच्च स्मरण गर्दै उक्त ऎतिहासिक दिनलाई नेपाली लेखक सङ्घले ‘लेखक दिवस’ मनाउने निर्णय गरेको हो ।

सङ्घका उप-महासचिव श्रीबाबु कार्की उदासका अनुसार उक्त दिवसकै अवसर पारेर प्रदान गरिने विशिष्ट लेखक पुरस्कारको अक्षय-कोष स्थापना गर्न सङ्घले आफ्नो तर्फबाट रकम सङ्कलन गर्न शुरु गरेको हो । सो पुरस्कार प्रदान गर्न अक्षय-कोषका लागि कार्यसमितिको तर्फबाट मात्रै छ लाख बराबरको रकम सङ्कलन भएको छ ।

शुरुआतमै निकै उत्साहपूर्वक र स्वत:स्फुर्त रकम सङ्कलन भएको अक्षय-कोषमा आगामी दिनमा पनि रकम सङ्कलन हुने जनाइएको छ । विभिन्न शुभेच्छुक संघ / संस्था र व्यक्तिहरूबाट रकम सङ्कलन गरी कोषमा कम्तीमा २० लाख बराबरको मूलधन पुर्याउने संकल्प रहेको नेपाली लेखक सङ्घका अध्यक्ष तथा वरिष्ठ कवि तीर्थ श्रेष्ठले उद्घोष गर्नुभएको छ । उहाँका अनुसार यो पुरस्कार वितरण गर्न नेपाली लेखक सङ्घले एक कार्यविधि निर्माण गरी स्रष्टाहरूबाट स्रष्टाहरूको लागि प्रदान गरिएको रकमलाई व्यवस्थित गरिने समेत जनाउनु भएको छ ।