भरतपुर / चितवनमा राष्ट्रिय लेखक दिवस मनाइएको छ । नेपाली लेखक संघ चितवन शाखा र चितवन साहित्य परिषद्को संयुक्त आयोजनामा शनिबार चितवन साहित्य परिषद्को सभाहलमा कार्यक्रम गरिएको हो । कार्यक्रममा लेखक दिवसको सान्दर्भिकतामाथि बहस गरिएको थियो भने काव्य वाचन पनि भएको थियो ।

वि.सं. १९८७ सालमा ‘सरस्वती गुठी’ नामक सामाजिक संस्था स्थापना गरी पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले ४५ जना कवि तथा लेखकले हस्ताक्षर गरी भीम शमशेरसमक्ष प्रस्ताव पेस गरेका थिए । त्यसपछि उनले सबैलाई दरबारमा बोलाएर दण्डित गरेको दिनलाई लेखक दिवसका रूपमा मनाउने नेपाली लेखक संघको निर्णय अनुसार यो दिवस मनाइएको अध्यक्ष सुरेन्द्र अस्तफलले बताए । राष्ट्रिय लेखक दिवस नेपालमा पहिलोपटक मनाइएको हो । नेपाली लेखक संघका जिल्ला शाखामार्फत मुलुकभर यो दिवस मनाइएको पनि अस्तफलले बताए ।

सोही समारोहमा कवि पदम अर्यालको कवितासङ्ग्रह `अङ्कुरण´ माथि अन्तरक्रिया गरिएको थियो । कवि नवराज ढुंगानाले कृतिमाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै छन्दमिश्रित कविताहरूमा बिम्बको संयोजन राम्रो भएको बताए । कार्यक्रममा कवि अर्यालले सोही कृतिबाट ६ वटा कविता वाचन गरेका थिए । चितवन साहित्य परिषद्का कार्यबाहक अध्यक्ष गणेश श्रमणको अध्यक्षतामा गरिएको कार्यक्रममा गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी प्रमुख अतिथि रहेका थिए । कवि विनोदीले अर्यालको कृतिबाट हिमाल शीर्षकको कविता वाचन गरेर कार्यक्रम उद्घाटन गरेका थिए । विनोदीले राष्ट्रिय लेखक दिवस मनाउनको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

सोही कार्यक्रममा कवि एवम् गजलकार युसुफदिन मिया पाल्पालीको दु:खद निधनमा एक मिनेट मौन धारण गरिएको थियो । स्रस्टा पाल्पालीको शनिबार भरतपुर-२ स्थित आफ्नै निवासमा निधन भएको हो । उनको अन्त्येष्टि बुटवलमा गरिने साहित्यकार हुसैन खाँले बताए । उनको जन्म वि. सं. २००२ साल वैशाख १२ गते पाल्पामा भएको थियो । उनका `पाल्पालीका गजल´, `मनको व्यथा´, `एक बहर एक गजल´, `रोशनी´, मुतकारिव दीवान´ गरि ५ वटा गजलसङ्ग्रह र नबीको महिमा´ कवितासङ्ग्रह प्रकाशित छन् । पाल्पालीले नेपाली कथानक चलचित्र `प्रेमपूजा´मा पनि गीत लेखेका छन् । कवि गोविन्दराज विनोदीले कवि एवम् गजलकार पाल्पालीको व्यक्तित्व र कृतित्वका बारेमा चर्चा गरेका थिए ।