अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने नेपाली लेखक सङ्घले आज वैशाख १६ गते देशैभर विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी लेखक दिवस मनाएको छ ।

सम्पूर्ण लेखकहरूले गौरव गर्ने लाइब्रेरी पर्वका दिनलाई राष्ट्रिय लेखक दिवस मनाउने निर्णय नेपाली लेखक सङ्घको केन्द्रीय सचिवालयको बैठकले गरेको थियो । हरेक वर्ष वैशाख १६ लाई लेखक दिवसका रूपमा मनाउने कार्यको थालनी आजबाट भएको हो ।

वि.सं. १९८७ मा सरस्वती गुठी नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत् पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले ४५ जना कवि तथा लेखक एवम् बुद्धिजीवीहरूले हस्ताक्षर गरी श्री ३ भीम शमशेरसमक्ष निवेदन पेश गर्दा श्री ३ महाराजले निवेदनमा हस्ताक्षर गर्ने सबै युवालाई दरबारमा बोलाउन लगाई दण्डित गरेको दिन (वैशाख १६) लाई राष्ट्रिय लेखक दिवस मनाउन लागिएको जनाएको छ । यस दिनलाई नेपालको इतिहासमा पुस्तकालय पर्वका रूपमा पनि चिनिन्छ । यसै दिनलाई राष्ट्रिय लेखक दिवस मनाउँदा उपयुक्त हुने नेपाली लेखक सङ्घको ठहरअनुसार यो कार्यक्रम गरिएको हो ।

देशैभर मनाइएका कार्यक्रममध्ये नेपाली लेखक सङ्घको केन्द्रीय कार्य समितिले काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा १ लाख रूपैँया राशिको राष्ट्रिय लेखक पुरस्कारसमेत प्रदान गरेको छ । प्रत्येक दुई-दुई वर्षमा प्रदान गरिने यो पुरस्कार पहिलो पटक वरिष्ठ कवि एवम् संस्कृतिविद् बैरागी काइँला (तिलबिक्रम नेम्बाङ)लाई अर्पण गरिएको हो ।

पुरस्कार प्राप्त गरेपछि मन्तव्य दिँदै कवि काइँलाले आफूले लेखकीय सत्ताको उन्नयनका लागि खासै योगदान दिन नसक्दा पनि नेपाली लेखक सङ्घले पुरस्कार दिँदा आफूमाथि गम्भीर जिम्मेवारी आइपरेको विचार व्यक्त गर्नुभयो । नेपाल सरकारका उपप्रधानमन्त्री माननीय पूर्णबहादुर खड्का प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती विशिष्ट अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो । पुरस्कृत श्रष्टामाथि सल्लाहकार ज्ञानु पाण्डेले मन्तव्य राख्नुभएको थियो । संस्थाका महासचिव सोझो गाउँलेबाट सञ्चालित कार्यक्रमलाई अध्यक्ष तीर्थ श्रेष्ठले धन्यवाद मन्तव्यसहित विसर्जन गर्नुभएको थियो ।