विराटनगर । २००८ साल स्थापित नेपाली लेखक संघ कोशी प्रदेश समिति गठन भएको छ । विराटनगरमा सम्पन्न संघको पहिलो अधिवेशनले साहित्यकार गोकुल अधिकारी (मोरङ)को नेतृत्वमा प्रदेश समिति गठन गरेको हो ।
२००८ सालमा साहित्यकार बीपी कोइराला, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोविन्दबहादुर मल्ल (गोठाले), विजय मल्ललगायत लेखक साहित्यकारहरुको अग्रसरतामा स्थापित संघको प्रदेश उपाध्यक्षमा समदर्शी काइँला (पाँचथर, लता खरेल (झापा) महासचिवमा मीनकुमार नवोदित (मोरङ), सचिवमा वासुदेव उपाध्याय पोखरेल (उदयपुर) र कोषाध्यक्षमा लक्ष्मी रायमाझी (मोरङ) चयन भएका छन् ।
संघका केन्द्रीय अध्यक्ष वरिष्ठ कवि तीर्थ श्रेष्ठको उपस्थितिमा भएको अधिवेशनले कृष्ण अधिकारी (सुनसरी), मिलनकुमार ढुंगाना (झापा), पूजा बहार (सुनसरी) मनु विश्वकर्मा (धनकुटा), डा. भेषराज खनाल (ओखलढुंगा), केजी सुब्बा (धनकुटा) र फणिराज नेपाल (संखुवासभा) लाई सदस्यमा सर्वसम्मत चयन गरिएको निर्वाचन समितिका संयोजक प्राध्यापक कविराज न्यौपानेले जानकारी दिनुभयो ।
प्रदेश समितिले केन्द्रसित समन्वय गरेर जिल्ला समितिलाई चलायमान बनाउनेछ ।
अधिवेशनको उद्घाटन समारोहमा केन्द्रीय अध्यक्ष वरिष्ठ कवि तीर्थ श्रेष्ठ, सहअध्यक्ष रत्नमणि नेपाल, महासचिव मनोज न्यौपाने, प्रदेश अधिवेशन आयोजक समितिका संयोजक प्राज्ञ विवश पोखरेल, निर्वाचन समितिका सदस्य डा. विमला श्रेष्ठ, प्राध्यापक गंगाधर कट्टेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।