पोखरा । नेपाली लेखक संघ, कास्कीले हरेक वर्ष प्रदान गर्ने ‘लेखक कृति पुरस्कार – २०७९’ प्रदीप रोदनको गजलसङ्ग्रह ‘मफलर’ लाई प्रदान गरिएको छ ।पोखरामा आयोजित एक समारोहमा नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठले सो पुरस्कार अर्पण गरेका हुन् ।

सोही अवसरमा साहित्य क्षेत्रमा विशिष्ट योगदान गरेकामा स्याङ्जाका सर्जक विश्वप्रेम अधिकारीलाई ‘स्रष्टा सम्मान’ अर्पण गरिएको थियो ।

पुरस्कार एवम् सम्मान अर्पण गरेपछि प्रमुख अतिथिका रूपमा बोल्दै नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठले मन्दिरको जगजस्तै नदेखिएरै गजुरलाई उभ्याइरहने व्यक्तित्वलाई सम्मान गर्न पाउनु आफ्नो सौभाग्य भएको बताए ।

गजल लेख्नुलाई हास्यास्पद ठानिने समय सम्झँदै उनले प्रदीप रोदनको गजलकारिताले गजललाई एउटा उचाइमा पुर्याउन विशिष्ट योगदान दिएको बताए ।

अरूले प्रशंसा गरिरहेका बेला आफ्नै कमजोरी त्यसले मात्रै खोतल्न सक्छ ज‍सँग विशिष्ट क्षमता छ भन्दै विश्वप्रेम अधिकारीको दीर्घ साधनाको प्रशंसा गरे ।

साहित्यिक संगठनहरूले साहित्यकारलाई लिलिपुट  देख्ने प्रवृत्ति बढ्दै गएकामा उनले गुनासो गरे । लेखक संघलाई त्यो प्रवृत्तिबाट मुक्त गर्ने प्रयासमा आफूहरू लागेको उनले बताए ।

सम्मानित स्रष्टा विश्वप्रेम अधिकारीले पोखराले साहित्य, शिक्षा एवम् विविध क्षेत्रमा धेरै महत्त्वपूर्ण स्थान ओगटेको सम्झिए । यो सम्मान सिङ्गो पोखराले लामो समयको साधना सम्मानित भएको पनि बताए ।

पुरस्कृत कृति ‘मफलर’ का स्रष्टा गजलकार प्रदीप रोदनले लेखिरहँदा अचानक आउने यश प्रकारका स्याबासीले लेखनमा विशेष ऊर्जा मिल्ने र यो पुरस्कारले आफूलाई ठूलो हौसला प्राप्त भएको उनले सुनाए ।

कार्यक्रममा पुरस्कार छनोट समितिका संयोजक डा.भूमिराज बस्ताकोटीले पुरस्कृत एवम् सम्मानित स्रष्टाद्वयको परिचय प्रस्तुत गरेका थिए । सो क्रममा उनले प्रदीप रोदनका गजलहरूमा मानवीय संवेदनाको गहिरो अभिव्यक्ति पाइने बताए । स्याङ्जामा बसेर

साहित्य, साहित्यिक पत्रकारिता एवम् समाजसेवामा ६ दशक अथक साधना गरेका स्रष्टाका रूपमा विश्वप्रेम अधिकारी सम्मानयोग्य व्यक्तित्व भएको बताए । सर्जकको सिर्जना र साधना देशदेशावरसम्म पुग्ने बताउँदै उनले आज पुरस्कृत र सम्मानित स्रष्टाहरूको साहित्यिक उचाइ निकै उँचो रहेको बताए ।

वर्षभरिमा प्रकाशित कृतिमध्येबाट कार्यसमितिले उत्कृष्ट ६ कृति छनोट गरी पुरस्कार छनोट समितिलाई हस्तान्तरण गरिएको थियो । ती कृतिमध्येबाट मफलरलाई सर्वोत्कृष्ट ठहर गरिएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै नेपाली लेखक संघ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले संस्थाको कास्की शाखाले पुरस्कार र सम्मानको यो प्रशंसनीय कार्य गर्दै आएकामा खुसी व्यक्त गरे ।

पुरस्कारको राशि रु. २५००० रहेको छ । यसअघि सो पुरस्कारबाट सरोज अर्यालको दिव्याञ्जली, मतीप्रसाद ढकालको महाभारतमा के छ? र दीपक समीपको अक्षर अक्षरमा देश कृति पुरस्कृत भइसकेका छन् । त्यसैगरी स्व. तेजनाथ घिमिरे, केशवराज पराजुली र डा.भूपति ढकाल ‘कमल’ सम्मानित भएका थिए ।

नेलेस कास्की शाखाका अध्यक्ष रीता अधिकारी ‘ऋतु’को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव प्राञ्जलले गरेका थिए भने उपाध्यक्ष कमल पौडेल ‘अथक’ ले स्वागत मन्तव्य राखेका थिए ।