उद्धव देवकोटा

बुटवल । तेस्रो राष्ट्रिय लेखक दिवसको अवसर पारेर नेपाली लेखक संघ, रुपन्देहीले आयोजना गरेको ‘लघुकथा र यसका आयामहरू’ विषयक एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित श्री गीर्वाण माविमा भएको कार्यक्रममा आख्यानकार वनमाली निराकार र केन्द्रिय सचिव निर्मल ढुंगाना प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रम संस्थाका उपाध्यक्ष सरस्वती बस्यालको स्वागत मन्तव्यबाट सुरु भएको थियो। लेखक संघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष लीलाधर पाण्डेयले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै व्यस्त दैनिकीमा पनि छोटो समयमा पढ्न सकिने र पाठकमा गहिरो प्रभाव छाड्ने लघुकथाको लोकप्रियता बढ्दै गएको बताउनुभयो । उहाँले लघुकथा लेखनमा प्रशस्त अध्ययन र अभ्यासको आवश्यकतामा जोड दिनुभयो।

प्रशिक्षकको भूमिकामा समेत रहेका वनमाली निराकारले समाजमा घट्ने घटनालाई कथामा समावेश गर्ने तरिका, विषयवस्तु छनोट, पात्र निर्माण, संवाद, दृष्टिकोण, परिवेश, भाषा शैली र उद्देश्यमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले प्रशिक्षणले लेखनमा ऊर्जा प्रदान गर्ने र बाटो देखाउने भएपनि लेखन कार्यमा निरन्तर अभ्यास नै महत्वपूर्ण हुने कुरामा जोड दिनुभयो । अब्बल कथा लेख्न सके त्यस्ता कथा जीवन्त हुने उहाँको भनाइ थियो।

प्रशिक्षणमा ३० जना सहभागी हुनुहुन्थ्यो । प्रलेस रुपन्देहीका अध्यक्ष कृष्ण गाउँले, लेखक तथा स्तम्भकार हुमराज भुसाल लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । प्रशिक्षार्थीहरू रामप्रसाद बस्याल, लक्ष्मण बस्याल, तनुजा पाण्डे लगायतले आफ्नो अनुभव सुनाउनुभएको थियो । कवि उद्धव देवकोटाले कार्यक्रमको संयोजन र सञ्चालन गर्नुभएको थियो ।