साहित्यकार रमेश हरिलट्ठकको स्मृतिमा गठित रमेश स्मृति कोषले हरेक वर्ष प्रदान गर्दै आईरहेको “रमेश स्मृति सम्मान- २०८०” साहित्यकार सरस्वती बस्याललाई प्रदान गर्ने भएको छ । दीप मिलनको संयोजकत्वमा गठित तीन सदस्यीय स्रष्टा छनोट समितिले बस्याललाई छनोट गरेको हो ।
छनोट समितिमा दीप मिलन, राजीव सापकोटा र सोतन्त्र नेपाल रहेका थिए । कोषले साहित्यकार हरिलट्ठकको जन्मजयन्तीको अवसर पारेर प्रदान गर्दै आइरहेको छ । हरिलट्ठकको ४४ औँ जन्मजयन्तीको अवसर पारेर यस्तो घोषणा गरिएको हो ।
नेपाली साहित्यको गीत, गजल, कविता, मुक्तक, कथा र हाइकूसहित अन्य विधामा क्रियाशील हरिलट्ठकको जन्म विक्रम संवत् २०३७ साल फाल्गुण २१ गते भएको थियो । २३ वर्षको अल्पायूमै दिवंगत भएका उनले २०६१ साल श्रावण २१ गते महाप्रस्थान गरेका थिए। नेपाली साहित्यको गजल विधामा पहिलोपटक TEN GHAZAL नामक अंग्रेजी गजलसंग्रह प्रकाशन गरेर नेपाली साहित्यमा अंग्रेजी गजलको कृतिमार्फत द्वार खोलेका थिए ।
हरिलट्ठकको सानू, कुकुरलाई घ्यू, जिन्दगीको कहानीमा, TEN GHAZAL अन्य सहित आधा दर्जन कृतिहरू रहेका छन् । उनको स्मृतिमा रमेश हरिलट्ठक र उनका सिर्जनाहरू नामक स्मृति संग्रह पनि प्रकाशन भइसकेको छ कोषका संयोजक दीप मिलनले बताए ।
कोषका अनुसार नेपाली साहित्यको चोटिलो मुक्तक विधामा सक्रिय साधनासँगै सम्भवत: देशमै पहिलोपटक आमा छोराको संयुक्त कृति निकालेर अतुलनीय योगदान गर्नुका साथै हरिलट्ठकसँग सम्बधित क्रियाकलापमा सक्रिय भूमिका निर्वाह गर्दै आएकाले यो सम्मान प्रदान गर्न लागिएको हो ।
बस्याल रूपन्देहीको देवदहमा बसेर साहित्य तथा समाज सेवामा सक्रिय रहँदै आउनुभएको छ । कोषले २०७२ सालदेखि यो सम्मान प्रदान गर्दै आइरहे तापनि पहिलोपटक महिला स्रष्टालाई सम्मान गर्न लागिएको बताएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।