काठमाडौँ महानगरपालिकाको ४ नं. वडाले आफ्नो वडामा बस्ने लेखक, कवि, साहित्यकार, संस्कृतज्ञ, इतिहासकार, सङ्गीतकार, कलाकारहरूलाई सम्पत्ति मान्दै तीमध्ये विशिष्ट व्यक्तित्वलाई सम्मान गर्ने भएको छ ।
पहिलो पटक आयोजना गर्न लागिएको यस किसिमको सम्मान कार्यक्रममा यस पटक नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व उपकूलपति बैरागी काइँला, प्रतिष्ठानकै पूर्व सदस्यसचिव द्वय डा. ध्रुवचन्द्र गौतम र गीता केसरीलाई सम्मान गर्ने निर्णय गरिएको हो ।
४ नं. वडाको मात्र नभएर राष्ट्रकै गौरव रहेका यी स्रष्टालाई आउँदो फागुन १४ मा जनही ५० हजार रूपैयाँ नगदसहित अभिनन्दन र सम्मान गरिने बताइएको छ ।
‘विकास भन्नाले स्कुल, कलेज, अस्पताल, स१चार, पुल, बाटा, पार्क, भवन आदि भौतिक कुरा मात्र होइनन्,’ वडा अध्यक्ष विष्टले जारी गर्नु भएको विज्ञप्तिमा भनिएको छ, ‘भाषा साहित्य र संस्कृति पनि विकासका पूर्वाधार हुन् । एउटा आदर्श समाजको स्थापना, सामाजिक चेतना अभिवृद्धिमा भाषा, साहित्य, कला, संस्कृति र स्रष्टाहरूको विशेष भूमिका रहेको हुन्छ । जसले भिन्दै रूपमा रहेर समाजलाई परिचालित गरी देश र समाजलाई निरन्तर बाटो देखाइरहेको हुन्छ । समाजभित्र रहेका बौद्धिक व्यक्तित्व गौरव हुने र तिनको मूल्याङ्कन, सम्मान र संरक्षण गर्नु समाजको दायित्व हो ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।