काठमाडौं, पुस ४ / साहित्य कला मन्दिर लुनाकरणदास गंगादेवी चौधरी तथा बसन्त चौधरी फाउन्ण्डेसनले एक भव्य कार्यक्रम आयोजना गरी नेपाली कला साहित्यको क्षेत्रमा अनवरत रुपमा तल्लिन रही विशिष्ट योगदान दिएका डा. ध्रुवचन्द्र गौतमलाई ‘आविष्कारी आख्यानकार’को उपाधिले सम्मान गरेको छ । २००० पुस ३ गते जन्मिएका उनको ८० औं जन्मोत्सवको अवसरमा कमल पोखरीस्थित अग्रवाल भवनमा आइतबार आयोजित कार्यक्रममा सो उपाधिबाट सम्मानित गरिएको हो ।
कार्यक्रममा साहित्यानुरागी तथा सफल व्यवसायी साहित्यकला मन्दिरका संस्थापक अध्यक्ष बसन्त चौधरीले डा. गौतमलाई उपहार प्रदान गर्नुभएको थियो भने वर्तमान अध्यक्ष मेघा चौधरीले ढाकाटोपी लगाइदिएर नागरिक अभिनन्दन गर्नु भएको थियो ।
उक्त कार्यक्रममा साहित्यकला मन्दिरका अध्यक्ष बसन्त चौधरीले साहित्यकलाको माध्यमबाट जीवनमा विशिष्ट सन्तुष्टि प्राप्त हुने कुरा ब्यक्त गर्दै डा. गौतमसँगको सम्बन्ध वर्षमा नभएर दशकौंको रहनुका साथै उहाँको लेखन र दाजु विनोद चौधरीद्वारा निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘बासुदेव’को निर्माणका क्रमबाट घनिष्ठता बढेको कुरा उल्लेख गर्दै साहित्य कलामन्दिरले साहित्यको क्षेत्रमा विशेष योगदान पुर्याउनु हुने स्रष्टाहरूलाई सम्मान गर्ने मूलभूत उद्देश्य रहेकाले यसले साहित्यिक उन्नयनमा वृद्धि हुनुका साथै जीवनको ८० औं बसन्तमा प्रवेश गरिरहँदासमेत मलाई लेख्नबाहेक केही आउँदैन भनी सक्रिय र निरन्तर काव्य साधनारत डा. गौतमले नेपाली साहित्यका क्षेत्रमा विशिष्ट योगदान दिएका विचार ब्यक्त गर्दै उपस्थित सबैलाई न्यानो स्वागतका साथ संस्थागत गतिविधि र कार्यक्रमबारे प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा साहित्य कला मन्दिरका अध्यक्ष मेघा चौधरीले नेपाली साहित्य आकाशको लामो रेशको घोडाका रुपमा सुविख्यात आविष्कारी आख्यानका पुजारी डा. गौतमले नेपाली साहित्य क्षेत्रमा संयुक्त लेखनसहित ३२ उपन्यास, ५ संस्मरण, ८ कथासंग्रह र एउटा कविता संग्रह प्रदान गरेर नेपाली साहित्यिक गतिविधिलाई समृद्धितर्फ लान मद्दत मिलेको विचार ब्यक्त गर्दै लगायत जादुगरी लेखनकलाका सर्जक ८० औं वसन्तको यात्रामा समेत निरन्तर काव्य साधनारत सरस्वतीका वरद् पुत्र वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतमलाई नागरिक अभिनन्दन गर्न पाउँदा अत्यन्त खुशी लागेको विचार व्यक्त गर्नुभयो ।
सो अवसरमा डा. गौतमका विषयमा ४१ लेखकहरूको लेख समेटिएको ‘डा. ध्रुवचन्द्र गौतम: आविष्कारी आख्यानका दशकहरू’ नामक पुस्तकसमेत विमोचन गरिएको थियो । उक्त पुस्तकको सम्पादन डा. खुमनारायण पौडेल तथा डा. ईशान गौतमले गर्नु भएको हो । कार्यक्रममा प्रकृति र मानिस बीचको सम्बन्धमा कलात्मक बिम्बको प्रयोगका माध्यमले मानवीय समवेदना प्रस्तुत गर्ने शिल्पीगत विशिष्टता रहेका डा. गौतमको जीवन र जगत् प्रतिको सुन्दर लेखन पक्षका बारेमा एक बसाईमा ब्याख्या गर्न नसकिने विचार ब्यक्त गर्दै ध्रुवचन्द्र गौतम आविष्कारी आख्यान पुस्तकका सम्पादक डा. खुमनारायण पौडेलले बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ रंगकर्मी हरिहर शर्माले नागरिक अभिनन्दनका रुपमा संयुक्त हस्ताक्षरित अभिनन्दनपत्र प्रदान गर्दै डा. ध्रुवचन्द्र गौतम नेपाली साहित्यको फाँटमा अजरअमर भएर रहने विचार ब्यक्त गर्नुभयो ।
कार्यक्रममा सम्मानित अतिथिका रुपमा बोल्दै साहित्यकार सर्जक डा. गौतमले सर्जकहरू सृजनशीलताका संवाहक हुने भएकाले सुन्दर र सफा मनका धनि अनि व्यवहारमा स्पष्टता हुनुपर्ने कुरामा जोड दिँदै साहित्य सृजना सदैव नवीन हुनुका साथै लेखनमा प्रयुक्त नवीनकलाका लागि प्रयोग आविष्कारी हुने कुरा बताउँदै आफ्नो कार्यक्रमको आयोजना गरी ८० औं जन्मदिन भव्यरुपमा मनाई सम्मानित हुन पाएकामा खुशी व्यक्त गर्नुभयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

