पोखरा, वैशाख १६ / नेपाली लेखक संघ, केन्द्रीय समितिले गरेको निर्णयअनुसार संघका विभिन्न जिल्ला तथा प्रदेश शाखाहरूले विभिन्न कार्यक्रम सम्पन्न गरी राष्ट्रिय लेखक दिवस मनाएका छन् ।
सोही क्रममा वैशाख–१६ गते शनिबार नेपाली लेखक संघ, गण्डकी प्रदेश र कास्की शाखाद्वारा संयुक्त रूपमा रचनावाचन कार्यक्रम आयोजना गरी राष्ट्रिय लेखक दिवस मनाइएको छ ।
वि.सं. १९८७ सालमा नेपालको इतिहासमा घटेको पुस्तकालय पर्व (लाइब्रेरी पर्व) को सन्दर्भ पारी वैशाख १६ गतेलाई लेखकीय स्वतन्त्रतासँग जोडी राष्ट्रिय लेखक दिवस मनाउने प्रस्ताव नेपाली लेखक संघ, केन्द्रीय समितिले गरेको र सोहीअनुसार आज प्रथम राष्ट्रिय लेखक दिवस मनाइएको उक्त कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित नेपाली लेखक संघका केन्द्रीय सचिव गणेश शर्माले जानकारी दिनुभयो । उहाँले सो क्रममा लेखक दिवसको औचित्य प्रकाश पार्दै नेपाली लेखक संघले इतिहासको विशिष्ट दिनलाई स्मरण गर्ने गरी यो दिवस मनाउने प्रस्ताव गरेको बताउनुभयो । यो दिवस कुनै विचारसँग सम्बद्ध लेखकको नभई सम्पूर्ण नेपाली लेखकहरूको साझा दिवसका रूपमा स्थापित गर्ने गरी संघले थप कार्यक्रम ल्याउने समेत बताउनुभयो । सम्पूर्ण लेखकहरूलाई यस अभियानमा गोलबद्ध भएर लाग्नसमेत आग्रह गर्नुभयो ।
लेखक राजनीतिक दल र यिनका हरेकखाले गतिविधिको साक्षी बस्न नसक्ने र सत्ताको रचनात्मक स्थायी प्रतिपक्ष हुने भएकाले त्यसतर्फ हरेक लेखक सचेत रहन र लेखकीय सत्ता स्थापित गर्न लाग्नुपर्ने उहाँको भनाइ थियो ।
शनिबार आयोजित रचनावाचन कार्यक्रममा नेपाली लेखक संघका गण्डकी प्रदेश कोषाध्यक्ष साहित्यकार दीपक समीपले राष्ट्रिय लेखक दिवसबारे प्रष्ट पार्दै उपस्थित सबैलाई स्वागत गरेसँगै कार्यक्रम सुरु भएको थियो । कार्यक्रममा साहित्यकार दीपक समीप, लक्ष्मण थापा, डा. चैतन्य अधिकारी, गणेश शर्मा, डा. भूमिराज बस्ताकोटी, कल्याण पन्त, सञ्जीव पौडेल, अमृत क्षेत्री, लक्ष्मी थापा, कृष्ण सुवेदी, वसन्त विनोद, प्रदीप खनाल, सरला लामिछाने सरू, शर्मिला कार्की, जिज्ञासु सापकोटा, सुजित चौधरी, रोश नास्तिकलगायत दुई दर्जन कविलेखकहरूले आफ्ना रचना वाचन गर्नुभएको थियो ।
नेपाली लेखक संघ, कास्की शाखाका सचिव कमल पौडेल ‘अथक’ को अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको सञ्चालन प्राञ्जलले गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










