नेपाली समाजमा विद्यमान नारीले भोग्नुपरेका समस्या, गर्नुपरेका सङ्घर्षका विषयमा ‘मोम्चो’ कथा उत्कृष्ट रहेको साहित्यकार तथा समालोचकहरूले बताएका छन् । शनिबार गैंडाकोटमा आयोजित ‘मोम्चो’ कथा संग्रह माथिको परिचर्चा कार्यक्रममा बोल्दै साहित्यकार एवं समालोचकहरूले कथा भित्रका विषयवस्तुहरूले नेपाली समाजमा भएको तीतो यथार्थलाई बाहिर ल्याएको बताए ।
चितवन साहित्य परिषदका पूर्व अध्यक्ष गायत्री श्रेष्ठले नारी भोग्या मात्र नभई जननी भएको बताउँदै उनीहरूमाथि हुने हिंसा रोक्न यो कथा संग्रह सार्थक बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “पितृ सत्तात्मक प्रवृत्ति उजागर गर्न ‘मोम्चो’ कथा संग्रह सफल भएको छ । नारीमाथि हुने विभेद, अन्याय र अत्याचार जस्ताको त्यस्तै समाजबाट टपक्क टिपेर राखिनु कथाकारको सवल पक्ष हो ।”
समालोचक डा. एकनारायण पौडेलले यस कथा संग्रहभित्र आन्चलिकता प्रबल मात्रामा देखिएको बताउनुभयो । खोजमूलक र नारी विषयवस्तुमा केन्द्रित भएर लेखिएको यस कथाले सीमान्तकृत समुदायमा रहेको चेपाङ समुदायमा रहेको धर्म, संस्कृति, रीतिरिवाजलाई टिप्ने काम भएको उहाँले बताउनु भयो ।
समीक्षक रमेश प्रभातले कथा भित्रको यौन मनोविज्ञानका बारेमा चर्चा गर्दै यौन मानवको अपरिहार्य वस्तु भएता पनि यसलाई प्रयोग गर्न नजान्दा समस्या भोग्नु परेको कथामा समेटिएको बताउनुभयो ।
सम्पूर्ण किताब नारायणगढको आयोजनामा सम्पन्न कार्यक्रममा लेखक बसन्त पराजुलीले नारीप्रधान विषयवस्तुमा लेखिएको ‘मोम्चो’मा यौन मनोविज्ञानसमेत पस्कने प्रयास गरिएको बताउनुभयो । साहित्यकार गोविन्दराज विनोदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार तथा कथाकार एल.बि. क्षेत्रीले कथा संक्षिप्त शैलीको आख्यान भएकाले कथामा लघुता हुने तर उपन्यास जस्तो बृहत नहुने बताउनुभयो ।
भुँडिपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको सो कृतिमा समसामयिक विषयवस्तुमा केन्द्रित ११ वटा कथाहरू रहेका छन् । ‘मोम्चो’ कथाकार पराजुलीको दोस्रो कथा संग्रह हो । पराजुली डेढ वर्षअघि मात्रै ‘कुमाता’ कथासङ्ग्रहका माध्यमबाट नेपाली आख्यान साहित्यमा प्रवेश गरेका हुन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।