लक्ष्मण वियोगी

कविडाँडा साहित्य समाजले आयोजना गरेको निबन्ध प्रतियोगिताको बाजी लेखक तथा पत्रकार लक्ष्मण वियोगीले मारेका छन् । उत्कृष्ट पाँचमध्ये चार जनालाई पाखा लगाउँदै स्याङ्जाका वियोगीको “कोरोनाको कर्खा” शीर्षकको निबन्ध प्रथम भएको हो ।

त्यस्तै, द्वितीय काठमाडौँका भवानी खतिवडाको निबन्ध “ट्याक्सी नम्बर १०१” र तृतीय झपाका निरज दाहालको निबन्ध “आमा पछ्यौरी” भएका छन् भने प्रोत्साहन पुरस्कार रूपन्देहीका यज्ञप्रसाद न्यौपानेको निबन्ध “रहरको घुम्तीमा विचारको कायाकल्प” र आख्यानकार सिर्जन अविरलको निबन्ध “जीवनको उकालो”लाई प्रदान गरिएको छ ।

हरेक वर्ष नयाँ नयाँ विधामा उत्कृष्ट साहित्यकर्मी खोजिरहेको कविडाँडा साहित्य समाज चितवनले यो वर्ष उत्कृष्ट निबन्धकारहरूको खोजी गरेको थियो । केही महिनाअघि सूचना जारी गरेर निबन्ध आव्हान गरेकोमा प्राप्त निबन्धहरुका आधारमा उत्कृष्ट पाँच निबन्धकार छनोट गरेको समाजले आज एक कार्यक्रमका बिच अन्तिम नतिजाको घोषणा गरेको हो । कार्यक्रम चितवनको जङ्गल सफारी लजमा भएको थियो ।

निबन्ध प्रतियोगितामा प्रथम हुनेलाई रू. १५१६० सहित प्रमाणपत्र, द्वितीय हुनेलाई रू. १०१६० सहित प्रमाणपत्र, तृतीय हुनेलाई रू. ७१६० सहित प्रमाणपत्र, चतुर्थ हुनेले रू. ५१६० सहित प्रमाणपत्र र पाँचौँ स्थानमा आउनेलाई रू ३१६० सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

२०६० सालमा स्थापना भएको कवि डाँडा साहित्य समाजले हरेक वर्ष कविता प्रतियोगिताको आयोजना गर्छ । त्यसबाहेक आवश्यकताअनुसार आख्यान, समालोचना र निबन्ध प्रतियोगिताहरु र ती विधाका विमर्शहरुको कार्यक्रम पनि गरिरहेको छ ।

कविडाँडा समाजमा प्रतियोगी वर्षका उत्कृष्ट निबन्धकारहरुलाई साहित्यपोस्ट हार्दिक बधाइ ज्ञापन गर्दछ ।