खुसीको पाठशालामा म अध्यापक बन्न पाऊँ
सन्तानझैँ लाग्ने साना नानीबाबुका हृदयमा सधैँ छाउन पाऊँ
सपना मरेकाहरुको पनि सपना जगाउन सकूँ
प्रत्येक दिन विद्यायबाट उनीहरू सपना फुलाउँदै घर जाऊन्
विद्यालय आउँदा सधैँ खुसी फुलाउँदै फुलाउँदै आऊन्
गालीमा पनि सधैँ माया घोल्न सकूँ,
हृदयभरि सबैमा समभाव उराल्न सकूँ
गाली क्षणिक होस् बालुवामा हालेको पानी जस्तो
माया जिवन्त होस्
जिन्दगी बदल्ने शिक्षा जस्तो
अनुशासनका लागि यी हात उठाउनु कहिल्यै नपरोस्
कर्तव्यका पाठ घोकाउन कहिल्यै नपरोस्
पढ्दा पढ्दै जानुन्
जान्दाजान्दै सिकुन्
उनीहरूको खुसीमा चुपचाप रमाउन सकूँ
समयसँगै उनीहरू माथी पुग्लान्
प्रगतिको सुवास फैल्याउलान्
ती सुवास म बसेको ठाउँसम्म पनि आईपुगोस्
उनीहरूको प्रगतिमा यो थाकेको शरीर,
समयले बुढो बनाएको मन फेरि एकफेर उमङले नाच्न थालोस् ।
आफू धन्य भएको महसुस गर्न सकूँ
मेरो जीवनभरिको कमाइ यहि हुनेछ
ठूलो महल यहि हुनेछ
म सधैं असल अध्यापक बन्न सकूँ
म सधै यसैमा यहि कर्ममा रमाउन सकूँ
म सधैं मेरा शिष्यको हृदयमा फुल्न सकूँ
मार्गदर्शक भएर उनीहरूकै वरिपरि डुल्न सकूँ
खुसिको पाठशालामा म सधै यसैगरी भुल्न सकूँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 







