लेखक तथा पत्रकार लक्ष्मण वियोगी कविडाँडा साहित्य समाज, चितवनले गरेको निबन्ध प्रतियोगितामा प्रथम भएका छन् । प्रस्तुत छ, पुरस्कार तथा निबन्धका विषयमा रहेर वियोगीसँग साहित्यपोस्टले गरेको छोटो कुराकानीको सम्पादित अंश

लक्ष्मण वियोगी

१. तपाईँको पुरस्कृत निबन्ध “कोरोना कर्खा”को विषयवस्तु के थियो ?

कोरोना कर्खा संस्मरणात्मक निबन्ध हो । मैले यस निबन्धको मुख्य विषय विश्वलाई नै आक्रान्त बनाएको भाइरस कोरोना रहेको छ । कोरोनाले जनजीवनमा पारेको प्रभाव तथा यसका असरहरुलाई संस्मरणात्मक शैलीमा केलाउने कोसिस गरेको छु ।

विशेष गरी, सल्यानबाट सिन्धुपाल्चोकमा काम गर्न आएका श्रमिकहरु कोरोनाका कारण लकडाउन भएपछि काठमाडौँ हुँदै पैदल हिँडेर सल्यान फर्किन हिँडेका थिए । कीर्तिपुरमा उनीहरुसँग मेरो भेट हुन पुग्यो । त्यहाँबाट कलङ्की चोकसम्म म उनीहरु सँगसँगै हिँडे । त्यही कीर्तिपुरदेखि कलङ्कीसम्मको सहयात्राको परिवेश तथा संवेदनाहरुको रुप कोरोना कर्खा हो । कलङ्की पुगेर ट्राफिकहरुलाई भनेर मैले उनीहरुले ट्रकहरुमा राखेर पठाउने काम गरेँ ।

२. प्रथम हुन्छु भन्ने अग्रिम आसा थियो ?

मैले निबन्ध प्रतियोगिता हुँदैछ भन्ने थाहा पाएँ, र माथि उल्लेखित परिवेशमा लेखेर पठाएँ । मलाई प्रथम हुन्छु हैन, उत्कृष्टमा छनोट हुन्छु भन्ने महसुस पनि थिएन । हुँदा खुसी लाग्यो । खासमा, पैदल घर फर्किनेहरुको समूहमा बाबुआमासँगसँगै हिँड्ने एक ७-८ वर्षको बच्चा पनि थियो । उसकै प्रभाव र स्मृतिले मैले यो निबन्ध लेख्न पुगेको थिएँ ।

३. उत्कृट पाँचमै परिसकेपछि चाहिँ आसा बढेको हो ?

त्यस्तो पनि होइन । सबै जनाको निबन्ध उत्कृष्ट भएकै कारण उत्कृष्ट पाँचमा छनोट भएका थियौँ । प्रथम हुने सम्भावना पाँचै जनाको बराबर थियो । त्यसमध्येबाट पनि निर्णायकहरुले मेरो निबन्धलाई प्रथम ठहर्याइदिनु भयो ।

४. प्रथम हुँदैहुनुन्छ भन्ने अग्रिम सूचना पाउनु भएको थियो कि ?

त्यस्तो पनि थिएन । हिजो यहीँ (चितवन) आइपुगेपछि भने केही साथीहरुले “तिम्रो राम्रो छ, सम्भावना राम्रो छ, बधाई” भन्नु भएको थियो । र, मैले पुरस्कृत हुनेबारे पाएको जानकारी पनि त्यति नै हो ।

५. प्रथम हुँदाको महसुस कस्तो हुँदो रहेछ ?

कस्तो भने, प्रतियोगिता भएपछि एक किसिम डरचाहिँ हुँदोरहेछ । प्रतीक सर पाँच जनामा पाँचौँबाट विजेताको नाम घोषणा गर्न सुरु गर्नुभयो । एक किसिमले मुटुको चाल बढ्यो । मेरो आस दोस्रोमा गएर अडिएको थियो । तृतीय निरज दाहाल हुनुभएको घोषणापश्चात् डर स्वाटै घट्यो । दोस्रो आदरणीय भवानी खतिवडा भएको घोषणा भइसक्दा त बेग्लै खुसी महसुस भइहाल्यो । खासमा, जति लुकाउन खोजे पनि जितको खुसी विशेष हुँदो रहेछ ।