चितवन । कविडाँडाले नेपाली गजलका सन्दर्भमा १२ बुँदे निष्कर्षपत्र जारी गरेको छ । ‘कविडाँडा राष्ट्रिय गजल उत्सव २०८१’ मा सर्जकहरूका बीच बृहत् छलफल र विमर्श गरी निष्कर्षपत्र जारी गरिएकाे हो ।

“नेपाली गजल लेखनका शैलीगत विविधताका सन्दर्भमा विभिन्न धारणा र मत सतहमा आएको तथा एक पक्षले अर्को पक्षको अस्तित्वलाई प्रश्न र सन्देहको घेरामा राखेको अनुभव गरिएको छ ।”, निष्कर्षपत्रको दोस्रो बुँदामा भनिएकाे छ, “शास्त्रीय एवम् मौलिक अभ्यासको परिधि, विषयवस्तुको गहनता र वजनलाई ध्यानमा राख्दै प्रस्तुत गरिने सबैखाले विचार, तर्कलाई सर्जकको स्वतन्त्रता तथा विकासको स्वाभाविक प्रक्रिया मान्दछौं तर, विवाद र विभाजनको मनाशय राखी गरिने वक्तव्यवाजी अनि चालिने कुनै पनि कदमको समर्थन नगर्ने प्रतिबद्धता जाहेर गर्दछौँ ।”

गजलकारहरूबीच बेला–बेलामा प्रकट हुने फरक मत तथा असमझदारी भेटघाट, संवाद, विमर्श र सह–अभ्यासको कमीका कारण सिर्जना भएको  निष्कर्ष कविडाँडाको रहेको छ ।

निष्कर्षपत्रमार्फत कविडाँडाले सर्जक, समीक्षक, प्रकाशक, पाठक, स्रोता एवम् शुभेच्छुकहरू मिलेर नेपाली गजलको श्रीवृद्धिमा योगदान पुर्याउन आह्वान समेत गरेको छ ।

कविडाँडा राष्ट्रिय गजल उत्सव – २०८१
नेपाली गजलका सन्दर्भमा चितवन निष्कर्षपत्र

आदिगजलकार मोतिराम भट्टबाट शुरु भई पुनर्जागरण हुँदै हालसम्म विकसित नेपाली गजल लेखन परम्पराको गौरवमय विरासतलाई सम्मान एवम् स्वीकार गर्दै कविडाँडा साहित्य समाज चितवनले २७ पौष, २०८१ मा भरतपुरमा आयोजना गरेको ‘कविडाँडा राष्ट्रिय गजल उत्सव’मा सहभागी हामी सर्जकहरूले बृहत् छलफल र विमर्शपछि नेपाली गजलको हितमा निम्न बुँदासहित यो निष्कर्षपत्र सर्वसम्मतिले जारी गरेका छौँ ।

१. त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रमदेखि नेपाल प्रज्ञा प्रतिष्ठानको प्रकाशन तथा साहित्य उत्सवमा वैविद्ययपूर्ण नेपाली गजलले पाएको स्थान र मान्यताले तथा नेपाली गजलको विशेषतामा भइरहेका शोधहरूले नेपाली गजल साहित्यको क्रिया मात्र नभएर प्राज्ञिक अध्ययन सामग्रीको रूपमा समेत स्थापित भएको छ । नेपाली गजलको थप संस्थागत विकासका लागि नेपाल सरकारका शिक्षा मन्त्रालय, संस्कृति मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, पाठ्यक्रम विकास केन्द्र, स्वदेश र विदेशमा पनि नेपाली भाषा–साहित्यको अध्ययन र अनुसन्धान गर्ने/गराउने विश्वविद्यालय तथा प्राज्ञिक क्षेत्रसहित सम्पूर्ण साहित्यिक संघ संस्थाहरूलाई आवश्यक पहल गरिदिन हार्दिक अपिल गर्दछौँ ।

२. नेपाली गजल लेखनका शैलीगत विविधताका सन्दर्भमा विभिन्न धारणा र मत सतहमा आएको तथा एक पक्षले अर्को पक्षको अस्तित्वलाई प्रश्न र सन्देहको घेरामा राखेको अनुभव गरिएको छ । शास्त्रीय एवम् मौलिक अभ्यासको परिधि, विषयवस्तुको गहनता र वजनलाई ध्यानमा राख्दै प्रस्तुत गरिने सबैखाले विचार, तर्कलाई सर्जकको स्वतन्त्रता तथा विकासको स्वाभाविक प्रक्रिया मान्दछौं तर, विवाद र विभाजनको मनाशय राखी गरिने वक्तव्यवाजी अनि चालिने कुनै पनि कदमको समर्थन नगर्ने प्रतिबद्धता जाहेर गर्दछौँ ।

३. सबै साहित्यिक विधाहरूमा पाठक र भावकको कोणलाई पनि उत्तिकै ग्राह्यता दिने समयमा हामी उभिएका छौँ । कुनै पनि विधाको रुढ स्वभावमा आएका परिवर्तनहरूमा पाठकीय वा भावकीय अनुमोदन भयो र उक्त प्रयोग लोकप्रिय भयो भने विधाहरूले स्वतः परिवर्तनको बाटो समाउँछन् । यद्यपि तिनका धेरैजसो आधारभूत परिचायक उपकरण भने कायमै रहन्छन् । यसरी, शास्त्रद्वारा परिभाषित उपकरण र समयद्वारा निर्देशित उचित परिवर्तनको सम्यक मिश्रणबाट सिर्जनाले अद्यावधिक हुने बाटो पाउँछ । यो कुरा नेपाली गजलको हकमा पनि लागू हुन्छ । यसबाट गजल लेखनमा उब्जिएका विभिन्न धारणा र बहसले पनि मध्यमार्गी निकास पाउँछ भन्ने हाम्रो विश्वास छ ।

४. गेय र मौखिक प्रस्तुतिको विधा भएका कारण गजल कुनै पनि भाषाको उच्चार्य स्वभावमा आधारित रहने सिर्जना हो । उच्चार्य स्वभाव, भाषा र क्षेत्रअनुसार पनि भिन्नभिन्न हुने हुनाले, विश्वका सबैतिर लेखिएका गजलको भाषिक स्वभाव उस्तै हुन्छ भन्ने छैन । त्यसैले भाषाका प्रयोगकर्ताअनुसार गजलमा प्रयुक्त भाषा, उच्चारण र शब्दावलीमा भिन्नता आउनु स्वभाविक हो । यस्तो स्वभाविकतालाई स्वीकार गर्दै नेपाली गजल लेखन नेपाली भाषाको उच्चार्य स्वभावको निकट आउनुलाई मौलिकतातिरको यात्रा मानेर सम्मान गर्दछौं ।

५. शास्त्रीय मान्यताअनुसार गजलका मूल परिचायक उपकरण भनेका रदिफ, काफिया र बहर हुन् । त्यसैले, अन्य शास्त्रीय उपकरणको अनिवार्यतासहित बहरबद्ध गजललाई ‘शास्त्रीयतामा आधारित’ उपलब्धि मान्नुपर्ने हुन्छ । तर, नेपाली मूल काव्य–परम्परामा बहर समाहित नभएको, नेपाली गजलको पुनर्जागरणकालका अधिकांश वर्षहरूमा सर्जकहरूले स्वनिर्मित, मौलिक लय, छन्द र उदार मौखिक प्रस्तुतिलाई पनि गजल लेखन र शिक्षणको आधार बनाएको र गजल लेखनको यो शैली गजलका अधिकाशं साधक, भावक एवम् पाठकहरूद्वारा अनुमोदित पनि भइसकेकाले गजल बन्नको लागि आवश्यक गुणवत्ता र अपरिहार्य उपकरणलाई अक्षुण्ण राख्नुपर्ने सर्तसहित यस्ता नेपाली गजललाई अनुकूलनको स्तुत्य प्रयास मान्दै उत्तिकै सम्मान र स्वीकार गर्दछौँ ।

यद्दपि, शास्त्रीय मान्यताअनुसार बहर र छन्द गजलको आवश्यक तत्त्व रहेको सन्दर्भमा गजलको सौन्दर्यलाई अझै निखार्नमा यसको सन्तुलित प्रयोगको पनि महत्त्व हुन्छ भन्ने स्वीकार्दै आ–आफ्नै शैलीमा गजल लेखनको अभ्यास गर्नेहरूले पनि गजलका अन्य तत्त्वहरूको जस्तै छन्द र बहरको अध्ययनलाई छुटाउनु हुँदैन भन्ने धारणा व्यक्त गर्दर्छौं । साथै बहर र गैह्र–बहर गजललाई अमूल्य सम्पत्तिको रूपमा स्वीकार गर्दछौँ ।

६. गजलकारहरूबीच बेला–बेलामा प्रकट हुने फरक मत तथा असमझदारी भेटघाट, संवाद, विमर्श र सह–अभ्यासको कमीका कारण सिर्जना भएको हो भन्ने हाम्रो निष्कर्ष छ । त्यसकारण, यसतर्फ सबै सर्जक र पक्षको पहल र अभ्यास हुनु आवश्यक छ ।

७. गजलको संरचनात्मक, भावनात्मक र प्रस्तुतिजन्य उत्कृष्टतालाई कायम राख्न तथा यो विधालाई भावी पुस्तासम्म हस्तान्तरण गर्न अपरिहार्य गुरु–शिष्य परम्परा विगत केही समययता सुस्ताएको जस्तो आभाष भएको छ । गजलकारहरूबीच असमझदारी र नयाँ पुस्तामा निम्तिन सक्ने अन्योलको अन्त्यको लागि यो परम्परालाई सशक्तरुपमा अगाडि बढाउन सबै गजलकेन्द्रित संस्थाहरूलाई अपिल गर्दछौँ ।

८. गजल मूलतः गेय विधा भएको र साङ्गीतिक गजल जनमानससम्म बढी सहजताका साथ पुग्ने अनुभव गरिएको छ । त्यसैले, उल्लेख्य मात्रामा गजलहरूले साङ्गीतिक स्वरुप लिऊन् भन्ने हाम्रो शुभेच्छा छ तर गजल गायन अन्य विधाको गायनभन्दा भिन्न रूपमा अभ्यासमा रहने हुँदा उक्त मर्मलाई आत्मसात् गर्दै गजलकार, सङ्गीतकार, गायक र सङ्गीत संयोजकबीच निरन्तर विमर्श हुनुपर्छ भन्नेमा पनि हाम्रो जोड छ ।

९. गजल नेपाली काव्यको एउटा प्रमुख र प्रभावशाली विधाका रूपमा स्थापित भइसकेको सन्दर्भमा पुस्तक प्रकाशकहरूलाई गजल–कृतिको प्रकाशनलाई पनि प्राथमिकतामा राख्न अनुरोध गर्दछौँ ।

१०. नेपाली साहित्यमा केन्द्रित उत्सव, महोत्सव, तथा अन्य सार्वजनिक कार्यक्रम आदिमा गजलको प्रस्तुतिले अग्रस्थान पाइरहेकाप्रति उच्च सम्मान गर्दै यसको निरन्तरताको कामना गर्दछौं । साथै यस्ता मञ्चमा गजलका विभिन्न आयामबारे तार्किक र प्रभावकारी बहसले पनि स्थान पाओस् भन्ने हाम्रो मत छ ।

११. कथा, निबन्ध, संस्मरण, समालोचना, कवितालगायत विधाले मूलधारका छापा माध्यममा अग्रणी स्थान पाइरहँदा संरचनात्मक रूपमा छोटो तर चोटिलो गजल विधाको बढ्दो लोकप्रियताका बाबजुद सम्मानजनक उपस्थिति नदेखिनुको अन्तर्य बुझ्न सकिएको छैन । यसतर्फ सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछौँ ।

१२. साहित्यका विभिन्न विधा र सर्जकबिचमा सदैव सम्मान र सह–अस्तित्वको पक्षमा हामी छौँ । सबै विधा, तिनका सर्जक, पाठक र श्रोताको सम्मानबाट समग्र नेपाली साहित्यको नै उचाइ बढ्ने हो । तथापि समय–समयमा कतिपय विद्वान् लेखक, साहित्यकारहरूबाट गजल परम्परा र लेखनलाई निरुत्साहित गर्नेगरी हस्तक्षेप गरिरहेकाप्रति हामी दुःखी छौँ । रचनात्मक र सिर्जनशील सुझाव एवम् मार्गदर्शनको भने हामी सदैव अपेक्षा तथा स्वागत गर्दछौँ ।

अन्त्यमा, सम्पूर्ण सर्जक, समीक्षक, प्रकाशक, पाठक, श्रोता एवम् शुभेच्छुकहरू मिलेर नेपाली गजलको श्रीवृद्धिमा योगदान पुर्याउन ‘कविडाँडा राष्ट्रिय गजल उत्सव’ हार्दिक आह्वान गर्दछ ।