
वरिष्ठ कथाकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानको आख्यान विभाग प्रमुख माया ठकुरीले एक कार्यक्रमका बीच कथाकार ध्रुव मधिकर्मीको लघुकथासंग्रह ओरालोको सिलसिला विमोचन गरेकी छन् ।
सो अवसरमा बोल्दै प्राज्ञ ठकुरीले मधिकर्मीका लघुकथाहरु जीवनका ससाना सन्दर्भहरुलाई मानवीय प्रवृत्तिसँग जोडेर प्रभावकारी रुपमा लेखिएको बताइन् ।
लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले नेपाली लघुकथालाई स्थापित गर्न योगदान पु¥याउने स्रष्टाहरुमा मधिकर्मी पनि एक हुन् भन्दै यस कृतिका लघुकथाहरु उनको लेखनको नमूना भएको बताए ।
कथाकार किशोर पहाडीले नेपाली लघुकथा गम्भीर हुन थालेको बताउँदै मधिकर्मीका लघुकथाले त्यसको छनक दिएका छन् भने ।
साहित्यकार मोहनबहादुर कायस्थले ढिलो भए पनि स्थापित लघुकथाकारको कृति प्रकाशित हुनु खुशीको कुरा हो भने ।
कृतिका स्रष्टा धु्रव मधिकर्मीले लघुकथा आकारमा सानो हुने भएपनि यसको संरचनामा निकै सचेत हुनुपर्ने बताए ।
सिर्जना अभियान प्रकाशक रहेको ओरालोको सिलसिलामा समसामयिक जीवनसँग सम्बन्धित राजनीतिक विसंगति, मानवीय संवेदनाको अवमूल्यन तथा भ्रष्टाचारबाट क्षयोन्मुख समाजका विविध विषयमाथि लेखिएका ४० वटा लघुकथाहरु छन् ।
००



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










