भक्तपुर। सिर्जना अभियान समाजको आयोजनामा भक्तपुर दरबार स्क्वायरस्थित ख्वपछेँ रेस्टुराँमा स्रष्टा ध्रुव मधिकर्मीको व्यङ्ग्यसङ्ग्रह ‘महान् अभियान’माथि विमर्श कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा समीक्षक कथाकार अभय श्रेष्ठले लामो समयदेखि कथा विधामा सक्रिय मधिकर्मीका व्यङ्ग्यहरू पनि कथाजस्तै प्रभावकारी रहेको बताउनुभयाे । सामान्य विषयमा लेखिएको जस्तो देखिए पनि ‘महान् अभियान’भित्रका व्यङ्ग्यहरूले पाठकलाई गहन सन्तुष्टि दिने उहाँको भनाइ थियो।
अर्का समीक्षक डा. हिमलाल श्रेष्ठले मधिकर्मीका व्यङ्ग्यहरू सामाजिक मर्यादाभित्र शिष्ट ढङ्गले लेखिएको उल्लेख गर्दै ती व्यङ्ग्यहरूमा समसामयिक राजनीतिक विसङ्गति र विकृतिमाथि सशक्त कटाक्ष गरिएको बताउनुभयाे ।
स्रष्टा ध्रुव मधिकर्मीले एक समय पत्रपत्रिकामा व्यङ्ग्य लेखनको लहर चलेको बेला आफू पनि यस विधामा कलम चलाएको स्मरण गर्दै व्यङ्ग्यमार्फत् गहिरा सामाजिक र राजनीतिक सन्देश दिन सकिने धारणा व्यक्त गर्नुभयाे ।
सभापतित्वको आसनबाट बोल्दै सिर्जना अभियान समाजका अध्यक्ष धनमान श्रेष्ठले मधिकर्मीले भक्तपुरमा साहित्यिक गतिविधि सशक्त बनाउन तथा नवोदित स्रष्टाहरूलाई प्रोत्साहन गर्न महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयाे ।
२५ वटा व्यङ्ग्य समेटिएको ‘महान् अभियान’ कृति सिर्जना अभियान समाजद्वारा प्रकाशित गरिएको हो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










