१. पहिलो लघुकथा

(संयुक्त लघुकथाकृति)

व्यवहार

ध्रुव मधिकर्मी “साथी”

ध्रुव मधिकर्मी

“यार खाना त गजब छ बा !”

“वाह ! पैसा कति गयो पनि हेर्नु पर्छ नि ?” – एकजना अर्को युवकले अलि खिन्न भई भन्यो ।

“आ …. छोडिदेऊ पैसाको कुरा, पैसा त हातको मैला हो आउँछ, जान्छ के । अझ त्यस्तो होटलमा यसरी खाना खाँदा हाम्रो इज्जत र शान नै कस्तो, होइन ?” तेस्रो युवकले आफ्नो छाती फुलायो ।

केही बेरसम्म तिनीहरूको बीचमा छायो, मौनता तब टुट्यो, जब तिनीहरूको जाँदाजाँदै बाटोको एक मोडमा फलफूल थापेको एक सानो पसल देखे ।

“कति यो, सुन्तलाको ?”

“रुप्याँ, एउटा हजुर ।

“मोहर नै नलिने सुन्तली पनि रूपैयाँ भन्ने, बूढा…,” अर्को एकजना युवकले मुख खोल्यो, “ल भइगो, मोहरको हिसाबले तीनवटा सुन्तला देऊ ।” तेस्रो युवकले पनि मुख थुन्न सकेन ।

” कस्तो कुरा गर्नु हुन्छ तपाईहरू पनि, यस्तो महँगीको जमानामा,” पसलेको जवाफ सुनेर तिनीहरूलाई यस्तो लाग्यो मानौँ आफ्नो आँखामा आफ्नै नाङ्गो रुपमा उभिन पुगेझैँ । आपसमा तिमीहरूले परस्पर मुखामुख गर्न थाले ।

###
(ध्रुव मधिकर्मी “साथी”ले २०३३ सालमा श्याम गोपाल “आशा”सँग मिली “लघु” नामक संयुक्त लघुकथा कृति प्रकाशन गरेका थिए । यो संग्रह नै नेपाली लघुकथाको पहिले संयुक्त संग्रह हो, जसमा मधिकर्मीका आठ र आशाका नौवटा लघुकथाहरू समेटिएका छन् । कथाहरू लघु त छन् तर अधिकांश लघुकथाहरू हालको संरचनागत हिसाबबाट हेर्दा लघुकथा जस्ता चाहिँ छैनन् ।

ध्रुव मधिकर्मी “साथी” आजका ध्रुव मधिकर्मीका रूपमा परिचित छन् । उनका दुई लघुकथाकृति प्रकाशित छन् । चोटिलो र तीखो लघुकथा लेखन उनको विशेषता हो । उनी लघुकथा समाज, नेपालको उपाध्यक्ष पनि हुन् ।)

प्रस्तुत “व्यवहार” लघुकथाले त्यसताकाको समयलाई सङ्केत त गरेको छ तर कथा आफैँमा अल्मलेको पनि छ । यो लघुकथा कथाकार मधिकर्मीले आफ्नो १७ वर्षे कलिलो उमेरमा लेखेको बुझिएको छ ।)

 

२. स्वर्णकालीन लघुकथा

 

मन्त्रीज्यू आउनु भयो

लव गाउँले

लव गाउँले

यतिखेर मन्त्रालय परिसरमा चहलपहल बढ्दो छ । हल्लागुल्ला त्यतिकै छ । कार्यकर्ताहरू हात हातमा मोबाइल बोकेर मन्त्रालयको मूल ढोकातिर आँखा तेर्स्याइरहेछन् । सचिवज्यू निमुखा कर्मचारीहरूलाई ‘निर्देशन’ (नेपाली बोक्रे नेता र नोकर शाहहरूलाई आग्रह, अनुरोध, सल्लाह शब्द पटक्कै मन पर्दैन) दिँदै हुनुहुन्छ । स्कर्टिङसहित झण्डा हल्लाउँदै मन्त्रीज्यूको गाडी मन्त्रालयको कार्यालय प्रवेशद्वार नजिकै रोकियो । गार्डले ढोका खोलेपछि मयलपोसमा सजिएका मैला अनुहार गरेका मन्त्री अलिअलि डर, चिन्ता र अलिकति खुसीको मुद्रामा गाडीबाट झर्नु भयो । आज उहाँले बाली, ए बहाली गर्ने दिन । सचिवज्यूले पुष्पगुच्छा टक्र्याउँदै उहाँलाई उहाँको कार्यकक्षतिर लानु भयो । र, पहिले नै तयारी अवस्थामा राखिएको एउटा फाइलमा सही धस्काउन लगाउनु भयो ।

सभाहलमा मान्छे टनाटन भैसकेका थिए । मन्त्रीज्यू जानेबित्तिकै सबै उठेर पररर्र ताली बजाए । मन्त्रीज्यूले निर्देशन दिनु भयो— “मलाई आफ्नो दायित्व पूरा गर्न तपाईंहरूको सहयोग चाहिन्छ । तपाईंहरू बिना म अपाङ्ग जत्तिकै हुन्छु । ल अब काम गरूँ !”

यति भनेर मन्त्रीज्यू हिँड्नु भयो । सबैजना अलमलिए ।

साना कार्यकर्ता, गृहयुद्धको बेला मोर्चामा छातीको पर्खाल बनाउने जवान, कर्मचारी, लेखक कवि, प्रोफेसरहरूले मन्त्रीज्यूलाई भेट्ने सम्भावना नै थिएन । मन्त्रीज्यूको कार्यकक्षमा ठूला राजनेता, व्यापारी, दलाल र विदेशी डलर सोहर्न आईएनजीओ चलाउने एकल महिलाहरूको भीड लाग्थ्यो । एक दिन एक एकल महिला आउनु भयो । उहाँ मन्त्रीज्यू रहेको ठीक अपोजिट रहेको सोफामा बस्नु भयो ।

मिनिस्कर्ट मात्र लाउनु भएकोले होला कोठामा बलिरहेको फ्लुरोसेन्ट लाइट भन्दा बढी उहाँको तिघ्रा टल्किरहेको थियो । कुरा शुरु भयो कि मन्त्रीज्यूको आँखा त्यही दुई तिघ्राको खोल्सोमा पुग्ने । उनले थाह पाएर दाहिने तिघ्रालाई देब्रेमा चढाउँदै भनिन्— “के गर्ने मन्त्रीज्यू नारी हक हितको लागि भनेर जीवन समर्पण गरियो । मैले (उठेर चिट दिँदै) यो एम्वेसीमा एउटा प्रपोजल सबमिट गरेको छु हजुरले फोन गर्दिनु पर्यो।”

मन्त्रीज्यू— “कति नारीको मात्र हक हित गर्ने यसो पुरूषको पनि त गर्नुपर्यो नि !”

एकल महिला उठ्दै— “हो मन्त्रीज्यू ! म हजुरलाई बेलुकी कल गर्छु । आउनुस् त खाना पनि म कहाँ नै खाउँला ।”

देशमा कोरोना आयो । कोरोना भन्दा बढी आतङ्क आयो । मन्त्री हुनेहरूको जिम्मेवारी ह्वात्तै बढ्यो । मन्त्रीज्यूले जनधनको सुरक्षा र औषधिमुलोको व्यवस्थापन गर्नुपर्ने भयो । यस्को लागि तेस्रो मुलुकको भरपर्नु बाहेक अरू उपाय रहेन । उहाँले सुरक्षा सामग्री लगायतका स्वास्थ्य औजार मगाउनु भयो लकडाउनको मौका छोपेर एउटा टेण्डरको भरमा । डलरमा भुक्तानि गर्दा डलरमै कमिशन खाइदिनु भो जे पर्ला पर्ला भनेर । यो कुरा छापामा, सामाजिक सञ्जालमा आयो । सरकार प्रमुखले क्याविनेट मिटिङमा यो कुरा उठाउनु भयो । ‘मन्त्रीज्यू जानु भयो’ भनेर लेख्ने बेला आइसकेको छैन । अहिलेलाई यति ।

###
(नेपाली लघुकथाको स्वर्णकालीन ०३० को दशकमा लघुकथालाई हाँक्नेहरू मध्येको एक लघुकथाकार हुन्, लव गाउँले । उनको परिकल्पना र सम्पादनमा “नागबेली” साहित्यिक पत्रिकाले २०३४ सालमा लघुकथाहरूको पहिलो विशेषाङ्क प्रकाशन गरेको थियो । उनको २०३७ सालमा नै “गाउँलेका मसिना कथाहरू” नामक लघुकथा संग्रह प्रकाशित भएको पाइन्छ ।

लव गाउँलेको प्राय: लेखनले सामाजमा घटेका कुराहरूलाई यथार्थ पारामा केही शील/केही अश्लील तरिकाबाट पस्किएको हुन्छ । उनले नेपाली साहित्यको लगभग सबै विधाहरूमा कलम चलाएको पाइन्छ । स्रष्टा गाउँले सडक कविता क्रान्तिका नायकहरू मध्येका एक नायक पनि हुन् ।
प्रस्तुत “मन्त्रीज्यू आउनु भयो” लघुकथाले चरित्रलाई पद र समयले धुन र पखाल्न सक्दैन । ठाउँ/कुठाउँ चरित्र देखापरिहाल्छ भन्ने कुरो छर्लङ्ग पारेको छ ।)

 

३. मलाई मन परेको लघुकथा

तातो आलु

राजेन्द्र शर्मा

राजेन्द्र शर्मा

सबैका अगाडि एउटा कुर्सी थियो । कुर्सीमा प्रधानमन्त्रीको सिंहासन लेखिएको थियो । सबै जना उक्त कुर्सीमा बस्न लालायित थिए । लालायित पनि किन नहुन्, देशको बागडोर त्यसै कुर्सीमा निहित थियो !

एक जनालाई सर्वसम्मतिले निर्वाचित गरेर सिंहासनमा बसाइयो तर उनले आफ्नो कार्यकाल समाप्त हुनुअघि नै राजीनामा दिए ।

त्यसपछि लगत्तै अर्कोलाई निर्वाचित गरेर सिंहासनमा बसाइयो । तर उनीले पनि आफ्नो कार्यकाल पूरा नहुँदै राजीनामा दिए ।

यो क्रम निरन्तर चलिरह्यो । मुलुकले पाँच वर्षको समयावधिमा दश प्रधानमन्त्री पायो ।

यी सबै नियालिरहेको भावी प्रधानमन्त्री पिके कमरेडले अचम्म मान्दै सभालाई सम्बोधन गर्दै भने, “यस सभाले अबको कार्यकालको लागि मलाई छनौट गर्दैछ । तर पूर्व प्रधानमन्त्रीहरूले जसरी मैले आफ्नो कार्यकाल सकिनुअगावै कदापि राजीनामा दिने छैन । म यस देशको कायापलट गरेरै छोड्नेछु । यहाँहरूको साथ सहयोगको अपेक्षा राखेको छु ।”

पिके कमरेडलाई प्रधानमन्त्रीको सिंहासनमा बसाइयो । कमरेड पिकेले बागडोर सम्हाले । एक महिना व्यतीत भयो । उनलाई त्यो कुर्सी पोल्न थालेको महसुस भयो । दुई महिना व्यतीत भयो । अब त उनलाई उक्त कुर्सीमा बस्न असह्य भयो । उनी जुरुक्क उठेर कुर्सीलाई हेरिरहे । उनलाई आफ्नो बाल्यकालमा तातो आलु खेल खेलेको सम्झना आयो । उनी कल्पनामा आफैँ फतफताइरहेको सुनियो, “आच्छु छु! तातो आलुले पोल्यो ! अब त म एक सेकेन्ड पनि समाउन सक्दैन । फेरि आलुलाई घुमाउन पनि सक्दैन । ढुङ्गा ल्याऊ, यसलाई बजारिदिन्छु ।”

###
(कञ्चनपुरका राजेन्द्र शर्मा साहित्यको काव्य, आख्यान र निबन्धको क्षेत्रमा कलम चलाउँछन् । साहित्य कोपिला युटुब च्यानलबाट नेपाली साहित्यको अडियो विकासको लागि पनि उनी समर्पित छन् । त्यसो त शर्मा आधुनिक नेपाली लघुकथा फेसबुक समूहको एक एड्मिन सदस्य रही नेपाली लघुकथालाई अगाडि बढाउने अभियानमा पनि सक्रिय छन् ।

प्रस्तुत लघुकथा “तालो आलु”ले नेपालको सत्ता र राजनीतिक खिचातानीलाई बडो भावपूर्वक विश्लेषण गरेको छ ।)