भक्तपुर । कथाकार श्यामप्रसाद श्रेष्ठको नवीनतम कृति ‘कठै !’ को लोकार्पण भक्तपुरको रिडर्स हबमा सम्पन्न भएको छ । तेह्र वटा कथाले सजिएको यस कथासङ्ग्रहको स्रष्टाहरुले कृतिको बहुआयामिक विश्लेषण प्रस्तुत गर्दै श्रेष्ठको साहित्यिक क्षमताको प्रशंसा गर्नुभएको छ।
कथाकार ध्रुव मधिकर्मीले श्रेष्ठले कथामा परम्परागत र समसामयिक विषयवस्तुलाई रोचक शैलीमा उतारेको बताउँदै भविष्यमा उहाँबाट नयाँ संरचना र दृष्टिकोणको अपेक्षा राख्नुभएको छ । उहाँले भन्नुभयो, “श्यामप्रसादले आफ्नो लेखनमा नयाँ प्रयोग गरेका छन्, तर पाठकको मन जित्न अझै नयाँपनको आवश्यकता छ ।” डा. हिमलाल श्रेष्ठले ‘कठै !’ शब्दको चयन र त्यसले कथामा पारेको प्रभावको विश्लेषण प्रस्तुत गर्दै यसले कथासङ्ग्रहको भावनालाई कति प्रभावकारी रूपमा प्रतिबिम्बित गरेको छ भन्ने कुरा उजागर गर्नुभयो ।
लघुकथाकार मनीषकुमार शर्माले ‘त्यो रात’ र ‘विदा’ जस्ता कथाको प्रशंसा गर्दै ती कथामा पात्र र परिवेशलाई न्याय मिलेको धारणा राख्नुभयो । स्रष्टा रासाले समसामयिक पाठकको रुचि र अपेक्षालाई ध्यानमा राख्दै आफूले श्रेष्ठका कथा पढेको अनुभव सुनाउनुभयो । स्रष्टा किशन पौडेलले श्रेष्ठसँगको लामो साहित्यिक सम्बन्धको स्मरण गर्दै कृति प्रकाशन भएकोमा खुशी व्यक्त गर्नुभयो ।
यद्यपि, स्रष्टा इन्दिरा चापागाईंले ‘कठै’ सङ्ग्रहका कथाले वास्तवमा ‘कठै’ भन्नुपर्ने अवस्थाको चित्रण गर्न नसकेको धारणा राख्नुभयो । यसले कथासङ्ग्रहको शीर्षक र कथाको भावनाबीचको सम्बन्धलाई लिएर बहसको विषय उठान गरेको छ । लघुकथाकार ध्रुवराज थापा र निर्मला बरालले श्रेष्ठलाई शुभकामना व्यक्त गर्दै उहाँको भावी लेखनको शुभकामना दिनुभयो । कृतिकार श्रेष्ठले परिचर्चामा व्यक्त विचारहरुलाई आफ्नो लेखन यात्रामा प्रेरणाको स्रोतको रुपमा लिने बताउनुभयो।
सिर्जना अभियान समाजबाट प्रकाशित यस सङ्ग्रहले नेपाली कथा साहित्यमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । परिचर्चामा उठेका बिभिन्न पक्षहरुले श्रेष्ठको साहित्यिक क्षमता र भावी कृतिप्रति पाठकको अपेक्षालाई स्पष्ट पारेको छ । ‘कठै !’ ले प्रेम, राजनीतिक विसङ्गति, कोभिड–१९ महामारीको प्रभाव, मानवीय संवेदनहीनता र रहस्यमय आयामहरुलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










