साँझपख उदित कोठाभित्र पस्यो र चुकुल लगायो । हातमा कलमकापी लिएर लेख्न बस्यो ।

कोठाबाहिर एउटा नारीको आवाज गुन्जियो, “ढोका खोल्नुहोस् न ! होइन, यो लेखेर मात्र के हुन्छ ? खुबै साहित्यकार बनेको छ, लेख्न बस्यो दिन रात बितेको चाल नै पाउँदैन । पकाएर खाऊँ घरमा एक दाना अन्न छैन । बजार जाऊँ पैसाको नाममा एक कौडी छैन । होइन ! सुनेको छ कि छैन ? हेर, बालकले के खाला भनेर पनि कस्तो विवेक नभएको ? एक दिन हैन, दुई दिन हैन, यस्तोसँग बसेर अब म जीवन बिताउन सक्दिनँ ।”

उदित लेख्दै थियो । अचानक हातबाट कापी भुईँमा झर्दा ऊ सपनाबाट ब्युँझेँ झैँ गरी कल्पनाबाट ब्युँझियो, उसको आँखा भित्तामा रहेको भित्ते घडीमा पुग्यो । बिहानको ४ बजिसकेको थियो ।

ऊ आत्तिँदै उठ्दै एक्लै बरबरायो, “ओहो ! समय बितेको त पत्तै भएन, मेरो पत्नी र छोराले हिजो साँझ के खाए होलान् ? किनेर ल्याउनु पर्ने थियो, भुसुक्कै बिर्सेछु । अनि मलाई बोलाउन पनि बोलाएन कि ? साँच्ची मैले उनले कराएर लेख्न बाधा पुर्‍याउला भनी कानमा कपास कोचेर लेख्न बसेको थिएँ, कति बोलाए होलान् ।” भन्दै उसले दुवै कानमा कोचेको कपास निकाल्यो ।

हतपत चुकुल खोल्दै भान्छा कोठा पस्यो । चिसो चुल्हो र सुकेको भाँडाकुँडा देख्यो । हतारिएर कोठाभित्र पस्यो । सँगै सुत्ने ओछ्यान खाली थियो ।ओछ्यानमाथि एउटा केही लेखेको कागज थियो । उसले उठायो र पढ्यो,”तिमीले धेरै कथा लेख्यौ, तर म नलेखेको कथा हुँ, तिमीले मलाई न कहिले लेख्न खोज्यौ, न कहिले बुझ्न खोज्यौ ? म अनिश्चित भविष्य बोकेर यो बालकको सुनिश्चित भविष्यको लागि म हिँड्न बाध्य भएको छु ।”