रङहीन

प्रेरकको मुहारमा चिन्ताहरू मडारिरहेको थियो । उसलाई कैयौं पटक आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्रहरूमा आगो लगाइदेऊँ कि जस्तो पनि लागेको थियो । तर परिवार पाल्नुपर्ने दायित्व  काँधमाथि भएकोले उनले यसो पनि गर्न सकेन । आज पनि ऊ आशावादी हुँदै अन्तरवार्ताको लागि कार्यालय बाहिर उभिरहेको थियो ।

भित्रबाट बन्द ढोका खोल्दै एक महिला बोलिन्, “प्रेरक सर को हुनुहुन्छ ? भित्र आउनु होला !”

प्रेरक उठ्यो र भित्र पस्यो ।

भित्र तीनजना अन्तरवार्ताकारहरू सोफामा थिए । अगाडि आकर्षक सीसाको टेबुल थियो । टेबुलको पछाडि एउटा खाली कुर्सी थियो । प्रेरकले तीनैजना अन्तरवार्ताकारहरूलाई शिष्टतापूर्वक हात जोड्दै भन्यो, “नमस्ते !”

एक अन्तरवार्ताकारले प्रेरकलाई हेर्दै भन्यो, “कुर्सीमा बस्नुहोस् !”

अनुमति पाएर प्रेरक कुर्सीमा गम्भीर भएर बस्यो ।

दोस्रो अन्तरवार्ताकारले प्रेरकलाई हेर्दै सोध्यो, “यो तपाईंको पहिलो अन्तरवार्ता हो ?”

प्रेरकले कुर्सीमा जीउलाई अझ सोझ्याउँदै जवाफ दियो, “हैन, सर यो मेरो पाँचौं पटक हो ।”

प्रश्नकर्ताले अचम्मित हुँदै भन्यो, “ओहो ,पाँचौ पटक ! यसको मतलब तपाईं पाँच पटक लिखित परीक्षामा सफल भै सक्नुभयो, हैन ?”

“हो सर !”

तेस्रो अन्तरवार्ताकारले प्रेरकलाई  म तपाईंलाई केही प्रश्न सोध्छु भनी प्रश्नहरू सोधे ।

प्रेरकले सबै प्रश्नहरूको जवाफ सजिलोसँग दिए ।

पहिलो प्रश्नकर्ताले प्रेरकलाई हेर्दै भन्यो, “तपाईंको अन्तरवार्ता सकियो, अब तपाईं बाहिर जानुहोस् !”

प्रेरक मुहारभरी आशा पोत्दै  दुई हात जोड्दै बाध्यता पोख्यो, “सर ! के म सफल हुन्छु होला ?”

“तपाईं सबै किसिमले योग्य हुनुहुन्छ, तर तपाई रङहीन हुनुहुँदो रहेछ, त्यही एउटा मात्र कमजोरी हो तपाईंको !”

प्रेरकले जिज्ञासु हुँदै भन्यो, “मतलब !”

“तपाईं भागबन्डामा पर्नु भएन !”

====

सुन्दरी

“मित्रले भनेको भवन यही हुनुपर्दछ भन्ने सोची म भित्र पसें । भित्र थुप्रै युवायुवतीहरू थिए । मित्रले भने बमोजिम मेरा नयनले चारैतिर नियाल्दै थिए । अचानक मेरो मित्रले दिएको हुलिया अनुसार मेरा आँखा सुन्दरीमाथि परे । अनायास मुटुमा ढुकढुकी बढेको महसूस भयो । बिस्तारै आफूलाई सम्हालेर नजीकै गएर शिष्टतापूर्वक सोधेँ, “तपाईंको परिचय ?”

म आफू यति धेरै किंकर्तव्यविमूढ भएको थिएँ कि मेरो कानमा सुमधुर स्वर गुन्जिएको जस्तो लाग्यो, “मेरो नाम सुन्दरी !”

मेरो मुखबाट अनायास फुत्कियो, “वाह, नाम जस्तै तिम्रो रूप !”

“यो धरतीमा प्रारूपण भएको कति भो ?”

“१८ वर्ष ।”

“तिम्रो जनक को हुनुहुन्छ ?”

“ म २ वर्षको हुँदा वहाँ बित्नु भयो ।”

“अनि यहाँ कोसँग बस्नुभएको छ ?”

“अभिभावकसँग..”

“के तिमी मसँग जान तयार छौ ?”

“के तपाईं मलाई  घर भित्राउनु हुन्छ ?”

“तिमीलाई म घर लगेर सजाएर राख्न चाहन्छु । के तिम्रो अभिभावकले स्वीकृति दिनुहुन्छ ?”

“जानुहोस् न  अगाडि काउन्टरमा मेरो अभिभावकसँग वार्तालाप गर्नुहोला ।”

उनले भने अनुसार म काउन्टरमा गएँ र भनें, “म सुन्दरी लिएर जान चाहन्छु !”

उसले मलाई तलदेखि माथिसम्म नियाल्यो र मुहारमा अलि मुस्कान पोत्दै भन्यो, “सुन्दरीको मूल्य १ हजार रुपियाँ हो ।

“भरपूर रमाइलो गर्नुहोला । अनि सुन्नुहोस् त यसको नाम मात्र सुन्दरी हैन, यसको भित्र पनि सुन्दर नै छ ।” भन्दै उसले र्‍याकमा रहेको पुस्तक निकालेर मलाई दियो ।