अमेरिका, बोस्टन । कथाकार श्यामप्रसाद श्रेष्ठको कथासङ्ग्रह कठै ! अमेरिकी साहित्यिक मञ्चमा चर्चा भएको छ। टेक्सास राज्यको ड्यालसमा भानु जयन्तीको अवसर पारेर श्रेष्ठको चौथो कृति कठै ! सार्वजनिक गर्दै यसमाथि विमर्श गरिएको हो।
ड्यालसस्थित श्रीकृष्ण प्रणामी हिन्दू समाजको आयोजनामा भएको कार्यक्रममा कथाकार श्रेष्ठले आफ्नो नयाँ कथासङ्ग्रहका बारेमा जानकारी गराउँदै कृतिमा समेटिएका विषयवस्तु र सिर्जनात्मक दृष्टिकोण प्रस्तुत गर्नुभएकाे थियाे ।
कार्यक्रममा नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, लघुकथा केन्द्र नेपालकी अध्यक्ष लता केसी, श्रीकृष्ण प्रणामी हिन्दू समाजका निवर्तमान अध्यक्ष नुरनाथ सुवेदीलगायतले मन्तव्य राख्दै कठै ! कथासङ्ग्रहका साहित्यिक विशेषता र समाजिक सन्दर्भमाथि विचार व्यक्त गर्नुभएकाे थियाे ।
वक्ताहरूले सभ्य समाज निर्माणमा साहित्यको भूमिका अपरिहार्य रहेको बताउँदै अमेरिका आएर आफ्ना कृति सार्वजनिक गरेकोमा कथाकार श्रेष्ठलाई धन्यवाद दिए। उनीहरूले कठै ! कथासङ्ग्रहले नेपाली साहित्यको विकासमा योगदान पुर्याउने र नेपाल-अमेरिका बीचका प्रवासी नेपालीहरूलाई साहित्यिक र सांस्कृतिक रूपमा जोड्ने विश्वास व्यक्त गर्नुभयाे ।
कार्यक्रममा लघुकथा केन्द्र नेपालकी अध्यक्ष लता केसी र लघुकथाकार विवेक शर्मा गौतमले आ-आफ्ना लघुकथा वाचन गर्नुभएकाे थियाे । त्यस्तै, डा. सुनिल खनालले गजल सुनाउनुभयाे भने सुवास दंगाल र सागर खतिवडाले कविता वाचन गर्नुभएकाे थियाे ।
सुवास दंगालले सञ्चालन गरेको सो कार्यक्रम श्रीकृष्ण प्रणामी हिन्दू समाज, ड्यालसका अध्यक्ष दीपक ढकालको अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।
कार्यक्रममा एनसिआइसिका कोषाध्यक्ष दिनेश न्यौपाने, सल्लाहकार भुवन आचार्य, एभरेष्ट क्रेडिट युनियनका निर्देशक डा. मिलन पौडेल, सामाजिक व्यक्तित्व विष्णु सापकोटा, विशाल रिजाललगायत समाजसेवी तथा साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कठै ! कथासङ्ग्रहमा श्रेष्ठले विभिन्न विषयमा आधारित १३ कथा समावेश गर्नुभएकाे छ — त्यो रात, विलीन जीवन, बिदा, आत्मबल, आत्मा निवास, झरेको कोपिला, वेदनाको अन्त्य, राजनेता, म बाँच्न चाहन्छु, शुभकामना, दह्रो खाम, सपना र मुक्तिको सपना।
श्रेष्ठको पहिलो साहित्यिक कृति होसियार र अभियान नाटक हुन्। उहाँले नेपाल आमा र एकादेशको कथा शीर्षकका नाटक पनि सार्वजनिक गरिसक्नुभएकाे छ । साहित्यको अर्को विधा लघुकथामा समेत सक्रिय श्रेष्ठले चेतनामूलक र कसिलो व्यङ्ग्ययुक्त लघुकथाहरू समेटेर तेस्रो कृति व्यथाभित्रको कथा यसअघि नै प्रकाशन गरीसक्नुभएकाे छन्।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










