कथाकार ध्रुव मधिकर्मीद्वारा सम्पादित ‘अभियान’ नामक लघुकथासङ्ग्रह भक्तपुरमा सार्वजनिक गरिएको ।
सिर्जना अभियान समाजको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार मोहनबहादुर कायस्थ, समाजका अध्यक्ष धनमान श्रेष्ठ र लघुकथा केन्द्रका अध्यक्ष लता केसीले संयुक्त रुपमा सो कृति सार्वजनिक गर्नुभयो ।
कृति सार्वजनिकीपछि प्रमुख अतिथि कायस्थले भित्रैदेखि छोएर लेखिने रचनाले विशेष प्रभाव पार्छ भन्दै तर आफूले लेखेको रचनालाई आफैले पनि फर्केर हेर्नुपर्ने बताउनुभयो ।
कृतिका सम्पादक ध्रुव मधिकर्मीले लघुकथा लेखनमा तीव्रता र स्रष्टाहरूको संख्यात्मक वृद्धिलाई सकारात्मक रुपमा लिंदै लघुकथाको स्तरीयताका लागि समयको आयाम र दृष्टिकोणतर्फ विशेष सचेतता अपनाउनुपर्ने बताउनुभयो ।
लघुकथा केन्द्रका अध्यक्ष लता केसीले शुभकामना व्यक्त गर्दै यस प्रकारको कार्यले नयाँ स्रष्टाहरूलाई प्रोत्साहन मिल्नेछ भन्नुभयो ।
समाजका अध्यक्ष धनमान श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा स्रष्टाहरु सुरेन्द्रलाल भुजू, निर्मला बराल, राजेन्द्र चित्रकार, सुनीता निरौला, हिमलाल श्रेष्ठ, यमुना प्रधानाङ्ग, विनोद नेपाल र मिमला शर्माले लघुकथा वाचन गर्नुभएको थियो ।
कार्यक्रममा स्रष्टाहरू दिव्य गिरी, रत्न प्रजापति, दुर्गाप्रसाद ग्वालटारे, सुभाषचन्द्र पौडेल, हरिकृष्ण बखुन्छें, ललिता दोषी, इन्दिरा चापागाइँ, मन्दिरा चापागाइँ, मनीषकुमार शर्मा, कुमुदप्रसाद शर्मा, हरिगोविन्द भोमी, विवेक शर्मा, केशव रुपाखेती, सानुराजा अन्जान, रमेश ठकुरी, शान्ता तिम्सिना, रमेश सुवेदी, राम के.ए.सी., लक्ष्मी वैद्य, विनोद ढुंगेल, सूर्य भोमी लगायतका स्रष्टाहरूको उपस्थिति थियो ।
सिर्जना अभियना समाजले प्रकाशित गरेको सो कृतिमा ६२ जना लघुकथाकारहरुका लघुकथा संग्रहित छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।