स्याङ्जा । प्रगतिशील लेखक सङ्घ स्याङ्जाद्वारा आयोजित “कार्यपत्र प्रस्तुति, अन्तरक्रिया तथा सिर्जना वाचन” कार्यक्रम वालिङ् बहुमुखी क्याम्पस, वालिङ् स्याङ्जाको सभाहलमा सम्पन्न भएको छ ।

अनन्त अर्यालको अध्यक्षता तथा यदुनन्दन उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि उपाध्यायले “नेपाली प्रगतिशील साहित्य लेखन” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । उक्त कार्यपत्रमाथि यादवराज उपाध्यायले टिप्पणी राख्नुभएको थियो ।

यसैगरी, त्रिलोचन ढकालले “स्याङ्जा जिल्लामा प्रगतिवादी साहित्यको उद्भव र विकास” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने त्यसमा बाबुराम सुवेदीले टिप्पणी गर्नुभयो । प्रस्तुत कार्यपत्रमाथि उठेका जिज्ञासा तथा प्रश्नहरूमा कार्यपत्र प्रस्तुतकर्ताद्वयले थप प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा चक्रबहादुर पराजुली, मिलन समीर, ध्रुवप्रसाद शर्मा पंगेनी, सुर्यप्रसाद खनाल तथा सुर्यबहादुर पौडेललगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

कार्यपत्र प्रस्तुति पश्चात् सम्पन्न सिर्जना वाचन कार्यक्रममा लिलाम्बर ढुङ्गाना, सुलव खनाल, दमकला बगाले, सनत कुमार गैह्रे, हिमालयजङ्ग बानियाँलगायत स्रष्टाहरूले आफ्ना सिर्जना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न साहित्यप्रेमी तथा स्रष्टाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । प्रगतिशील लेखक सङ्घ स्याङ्जाका उपाध्यक्ष शम्भु अर्यालको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन श्यामप्रसाद ढुङ्गानाले गर्नुभएको थियो ।