स्याङ्जा । वालिङमा भेषजराज साहित्य प्रतिष्ठानद्वारा सञ्चालन हुँदै आएको नियमित मासिक रचनावाचन कार्यक्रमको ९६औँ शृङ्खला सम्पन्न भएको छ । २०७५ सालदेखि निरन्तर जारी कार्यक्रम २०८३ वैशाख २६ गते शनिबार वालिङ नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रगतिशील लेखक संघ स्याङ्जाका अध्यक्ष अनन्त अर्यालले वाचन गरिएका रचनाहरू समयसापेक्ष र विविध विषयमा केन्द्रित रहेको उल्लेख गर्दै समीक्षात्मक टिप्पणी गर्नुभयो । विशिष्ट अतिथि कवि तथा पूर्व जनप्रतिनिधि निलकण्ठ लम्सालले प्रतिष्ठानले स्रष्टाहरूलाई साहित्य सिर्जनामा प्रोत्साहन दिइरहेको बताउनुभयो ।

प्रतिष्ठानका सदस्य लेखनाथ काफ्लेले स्वागत मन्तव्यसँगै हास्यव्यङ्ग्य निबन्ध प्रस्तुत गर्नुभएको थियो भने कवि सनतकुमार गैह्रेले लक्ष्मीप्रसाद देवकोटा र लेखनाथ पौड्याललाई स्मरण गर्दै आफ्ना रचना वाचन गर्नुभयो ।

कार्यक्रममा लीलाम्बर ढुङ्गाना, दिलीप तिवारी, बोधराज न्यौपाने, इन्द्रप्रसाद पाठक, विष्णु पंगेनी पाण्डे, नारायण लम्साल, दीपक पोखरेल, ढालबहादुर केसी, पारीश्वर न्यौपाने, नारायणप्रसाद रेग्मी, लोककुमारी पौडेल, दमकुमारी बगाले, ठाकुरप्रसाद सुवेदीलगायत करिब २० जना स्रष्टाहरूले आफ्ना रचनाहरू प्रस्तुत गर्नुभएकाे थियाे ।

९ वर्षदेखि ८६ वर्षसम्मका स्रष्टाहरूको सहभागिताले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव श्यामप्रसाद ढुङ्गानाले गर्नुभएको थियो । सहसचिव कमल बगालेले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

निरन्तर रचनावाचनमार्फत साहित्यिक चेतना फैलाउँदै आएको प्रतिष्ठानको यो शृङ्खलाले स्थानीय साहित्यिक गतिविधिलाई सुदृढ बनाउँदै आएको छ ।