अनन्त अर्याल

धर्ती उही हो
तिमी र म उभिएको
उभिदा कहाँ / कसरी उभियौँ ?
त्यसले नै हाम्रो उचाइ निर्धारण गर्छ ।
तल बेसीमा उभिन्छौँ
साँगुरो लाग्छ आफ्नो भूगोल
आकाश पनि हाम्रो हिस्सामा थोरै हुनेछ ।
जब हामी अलि माथि
पहाडको थुम्कामा पुग्छौँ
आफ्नै उचाइ बढेको देख्छौँ
फराकिलो पाउछौँ आफ्नो परिवेश ।
अनि त थप हौसला मिल्नेछ
अझै चढ्छौँ माथि डाँडामा
पाउछौँ आफैँलाई स्वप्नमा जस्तै विशाल
त्यतिबेला
हाम्राअगाडि
तरेली परेका थुम्का र पहाड हुनेछन्
अलि तल घुर्म्याइलो फाँट नजरभरि सुत्नेछ
नागजस्तै देखिने नदीहरु
समुुद्र पच्छ्याइरहेका हुनेछन्,
क्षितिज पनि त अँगालोभरि हुनेछ,
आकाशको विशाल हिस्सा हाम्रो हुनेछ,
ताराहरू पनि भागमा धेरै पर्नेछन्
 गनेर साध्य नहुने गरी ।
सफलता हौसलाको जननी हो,
हामीलाई अझै चुलिन मन लाग्छ
चुलिँदै गर्दा हाम्रो शीर हिमाल बन्छ,
छाती गर्विलो पहाड बनेर उभिन्छ
अनि विशाल ती
उर्वर पठार र फाँट हुनेछन्
हाम्रै काख,
नदीहरू पनि समुद्रमा हराइसकेका हुनेछन्
ब्रह्मज्ञानमा लीन भएजस्तै,
समुद्र आँखाको नीलो तालजस्तै लाग्छ,
आकाश खामी नसक्नु चौडा हुनेछ
निर्वाध विचरण गर्ने,
ताराहरू आफ्नै बनेर प्रदीप्त हुनेछन्
पारदर्शी नजरहरू
सुदुर क्षितिजमा विचरण गर्नेछन्
अनि त मन ब्रह्माण्ड भएर फैलिनेछ
तिम्रो / हाम्रो उचाइ बेग्लै हुनेछ ।

 

वालिङ १४, स्याङ्जा