स्याङ्जाली कवि अनन्त अर्यालको अनन्तयात्रा कविताकृतिको लोकार्पण तथा विमर्श एवं वृहत काव्यवाचन समारोह २०७७ चैत ७ गते शनिबार वालिङ नगरपालिका-६, मिर्दीस्थित नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टमा सम्पन्न भयो ।
‘अनन्तयात्रा’माथि समीक्षक लक्ष्मी रेग्मीले कृति समीक्षा गर्दै पुस्तकमा समावेश अधिकांश कविता आशावादी, जिजीविषा, महिलावादी, मार्क्सवादी र गरिबहरूको पक्षमा लेखिएको छ । कवितामा समाजवादी दृष्टिकोण स्पष्ट रूपले आएको र कवितामा आलोचना कम र विचारले शक्तिशाली लागिरहेको छ भन्दै भाव, कला, विचार र अलङ्कारले कविता शक्तिशाली बनेको अभिव्यक्ति दिनुभएको थियो । कवितामा निराशा छैन । कविता लेखनको क्रममा कविले लयमा पनि ध्यान दिएकाले वाचनमा पनि कविता सुमधुर बनेको कुरा समीक्षक रेग्मीले बताउनुभयो ।
गुप्ततारा साहित्य प्रतिष्ठानको संयोजकत्वमा गरिएको कार्यक्रममा सभापतित्व अनन्तयात्राका सर्जक तथा गुप्ततारा साहित्य प्रतिष्ठानका अध्यक्ष अनन्त अर्यालले गर्नुभएको थियो भने सञ्चालन स्याङ्जाली युवा कवि मिलन समीरले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य वालिङ प्रज्ञा प्रतिष्ठानका सचिव शम्भु अर्यालले र शुभकामना मन्तव्य वालिङ प्रज्ञा प्रतिष्ठानका सदस्य वसन्त खनालले गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि साहित्यिक व्यक्तित्व त्रिलोचन ढकालले गर्नुभएको थियो।
कार्यक्रममा नम्रता थापा, सुदिप सुवेदी, राज भट्टराई, लेखनाथ काफ्ले, सुर्यप्रसाद डुम्रे,कमल बगाले, आदित्य अधिकारी, दमकमा बगाले, सन्ध्या अधिकारी, त्रिलोचन ढकाल लगायतका तीन दर्जन कविहरूले आँफुले लेखेका कविता वाचन गर्नुभएको थियो भने शम्भु अर्याल, वसन्त खनाल र मिलन समिरले विमोचित कृति अनन्तयात्राबाट १,१ वटा गरी तीनववटा कविता वाचन गरिएको थियो । कार्यक्रममा ११५ जना साहित्य अनुरागी हरूको उपस्थिति थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा देवीप्रसाद वनवासीले नेपाली साहित्यमा युवा पुस्ताको महत्त्वपूर्ण भूमिका रहने विचार व्यक्त गर्नुभएको थियो । साहित्यमा वर्तमान समाज प्रतिविम्बित हुने र वर्तमान समयको प्रविधि र सामाजिक परिवेशसँग जति युवापुस्ता परिचित हुन्छ, तुलनात्मक रूपमा अघिल्लो पुस्ताको सामाजिक दृष्टि नहुन पनि सक्छ भन्दै युवापुस्तामाथि लेखकीय उत्तरदायित्वको विषयमा आफ्नो मन्तव्य दिनुभएको थियो ।
कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति विमोचित कृतिका सर्जक अनन्त अर्यालले भने, ‘आजसम्म यो सङ्ग्रहमा समावेश कविता मैले लेखिरहेको थिएँ । अब यो कविता संग्रह तपाइँहरूको भयो । पढेर दुरूस्तै आलोचनात्मक टिप्पणी गरिदिनुभयो भने आगामी कृतिमा आफ्ना कमजोरीहरूलाई सुझावको रूपमा ग्रहण गर्दै लेखनमा थप परिस्कार आउने विश्वास व्यक्त गर्नुभयो । लेखकले दोस्रो कृति निकाल्दै गर्दा पहिलो कृतिको तुलनामा दोस्रो कृति आउन सकेको छ कि छैन त्यो लेखकको लागि चुनौतीको विषय हो र संभवतः सबै लेखकको लागि खड्किइरहेको समस्या पनि यही हुनुपर्छ ।’
कवि अनन्त अर्यालको पहिलो कृति २०६० सालमा ‘म आलोच्य छु’ कविता सङ्ग्रह प्रकाशित भएको थियो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।