काठमाडौं । वानीरा फाउन्डेसनले शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १०७औँ जयन्तीका अवसरमा राजधानीमा विशेष समारोह आयोजना गर्दै ‘सांस्कृतिक योद्धा पूर्णप्रसाद ब्राह्मण’ कृतिको लोकार्पण गरेको छ ।

नरेन्द्रराज प्रसाईद्वारा लिखित उक्त कृति समालोचक प्रा.डा. वासुदेव त्रिपाठीले सार्वजनिक गर्नुभएको हो । ४२ वर्षअघि प्रसाईले पूर्णप्रसाद ब्राह्मणसँग लिएको अन्तर्वार्तामा आधारित यो कृति नइ एकेडेमीको १९३औँ प्रकाशन हो ।

कार्यक्रममा कृतिमाथि प्रा.डा. वासुदेव त्रिपाठी र प्रा. केशव सुवेदीले विस्तृत समीक्षा प्रस्तुत गर्दै ब्राह्मणको सांस्कृतिक योगदान र व्यक्तित्वलाई उजागर गर्नुभएको थियो ।

सोही अवसरमा पूर्णप्रसाद ब्राह्मण विषयमा विद्यावारिधि गर्नुभएकाे प्रा.डा. नुरापति पोखरेललाई सम्मान गरिएको थियो ।वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा कवेरी जोशी, दिनेश शर्मा, सदस्यसचिव नरेन्द्रराज प्रसाई तथा कार्यक्रम संयोजक भगवती बस्नेतले डा. सत्यमोहन जोशीको व्यक्तित्व र योगदानबारे चर्चा गर्नुभएको थियो ।