काठमाडौँ  । वानीरा फाउन्डेसनद्वारा आयोजित एक विशेष समारोहमा  साहित्यकार माधव खनाल ‘भावुक’लाई ‘वानीरा प्रज्ञा पुरस्कार–२०८२’ समर्पण गरिएको छ । वानीरा सभागृहमा आयोजित कार्यक्रममा फाउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरिले खनाललाई पुरस्कार प्रदान गर्नुभएकाे हाे ।

नेपाली भाषासाहित्यमा साढे सात दशकदेखि निरन्तर साधनारत रहँदै भाषा–साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको मूल्यांकनका आधारमा उहाँलाई उक्त पुरस्कार प्रदान गरिएको जनाइएको छ ।
उक्त समारोहमा कम्प्युटर वैज्ञानिक मुनि शाक्यलाई ‘वानीरा शङ्कर पुरस्कार’ प्रदान गरिएको छ । नेपाली लिपिको कम्प्युटरमा विकास र कृत्रिम बौद्धिकतामा आधारित यन्त्रमानवको आविष्कारमार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान उकासेको योगदानका लागि उहाँलाई सम्मान गरिएको हो ।

यसैगरी, आख्यान, कविता तथा हास्यव्यङ्ग्य लेखनमार्फत साहित्य क्षेत्रमा योगदान पुर्‍याउनुभएकाे चितवनका धनराज गिरिलाई ‘वानीरा पुरस्कार’ प्रदान गरिएको छ । त्यस्तै, समाजसेवामा सक्रिय रहँदै विशेषगरी काठमाडौँ महानगरपालिकाको विकासमा योगदान दिएका सरोज ढकाललाई ‘वानीरा सेवा सम्मान’ प्रदान गरिएको छ।

पुरस्कारहरूको राशि ‘वानीरा प्रज्ञा पुरस्कार’ र ‘वानीरा शङ्कर पुरस्कार’का लागि जनही एक लाख रुपैयाँ तथा ‘वानीरा पुरस्कार’का लागि ५० हजार रुपैयाँ रहेको छ ।
कार्यक्रमअघि वानीरा सङ्ग्रहालयमा संस्थापक शङ्कर गिरीको पूर्णकद सालिकमा फाउन्डेसनकाे अध्यक्ष इन्दिरा प्रसाईले माल्यार्पण गर्नुभएकाे थियाे ।

२०७९ साल वैशाख २० गते स्थापना भएको वानीरा फाउन्डेसनले भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । कार्यक्रम अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सम्पन्न भएको थियो भने उपाध्यक्ष प्रा.डा. ऋषिराम शर्मा, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईलगायतले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।