रिलायन्स फाइनान्स लिमिटेडले पठन संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्ना सम्पूर्ण कर्मचारीलाई मोबाइलमै पढ्न र सुन्न मिल्ने गरी एक हजार पुस्तक उपलब्ध गराउने अभियान सुरु गरेको छ ।
साहित्यपोस्ट (इ) दैनिकले आफ्नो एपमार्फत सार्वजनिक गरेको अनलाइन लाइब्रेरीमार्फत रिलायन्स फाइनान्सका कर्मचारीहरूले यी पुस्तकहरू सहज रूपमा अध्ययन गर्न सक्नेछन् ।
यस सम्बन्धमा शुक्रबार भएको सम्झौतामा साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइराला र रिलायन्स फाइनान्सका कार्यकारी निर्देशक डा. बुद्धि मल्लले हस्ताक्षर गर्दै यो अभियानले लेखक र पाठक दुवैलाई लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
छ वर्षदेखि नेपाली भाषा, साहित्य, संस्कृति र कलाको पत्रकारितामा सक्रिय साहित्यपोस्टले गत वर्ष मात्र आफ्नो एपमार्फत अनलाइन लाइब्रेरी सेवा सुरु गरेको थियो । उक्त एपमा साहित्य, संस्कृति, अर्थशास्त्र, कूटनीति, व्यवसाय, जीवनी, विश्वसाहित्य र समाजशास्त्रका विविध कृतिहरू समेटिएका छन् ।
कार्यक्रमपछि डा. मल्लले सामाजिक सञ्जालमा समय बिताउनुभन्दा फुर्सदको समयमा मोबाइलमै पुस्तक पढ्नु र सुन्नु उपयोगी हुने भन्दै यस्तो अभियानमा संस्थाको सहभागिता अर्थपूर्ण रहेको बताउनुभयो ।
प्रधान सम्पादक कोइरालाले रिलायन्स फाइनान्सका कर्मचारीहरूलाई पठन अभियानमा जोडिएकोमा धन्यवाद व्यक्त गर्दै डा. मल्ल स्वयं पनि प्रेरणादायी लेखक भएको उल्लेख गर्नुभयो । राष्ट्र बैंकबाट ‘सी’ वर्गको इजाजत प्राप्त रिलायन्स फाइनान्सका देशभर २१ भन्दा बढी शाखा र १ सय ७० भन्दा बढी कर्मचारी रहेका छन् । यस सहकार्यले पठन संस्कृतिको विस्तारसँगै साहित्यिक क्षेत्र र वित्तीय संस्थाबीचको सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरिएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 










