बैङ्कर डा. बुद्धि मल्लको पुस्तक ‘सफलता सम्भव छ’ को पोखरामा शनिबार विमोचन गरिएको छ । सो पुस्तक पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनमा गृहविमोचन गरिएको हो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठ, पूर्व सदस्य सचिव, वरिष्ठ साहित्कार तीर्थ श्रेष्ठ, पोखरेली युवा सांस्कृतिक परिवारका सल्लाहाकार ईश्वरमणि अधिकारी, पोखरेली युवा सांस्कृतिक परिवारका अध्क्षय उपेन्द्र पौडेल र सहित्यकार सरस्वती प्रतीक्षाले एकसाथ पुस्तकको विमोचन गरेका हुन् ।

कार्यक्रममा पुस्तक माथि चर्चा गर्दै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठले ‘सफलता’ शब्दमाथि चर्चा गरे । उनले मानिसको जीवनलाई सफलतापूर्वक बिताउन पुस्तक उपयोगी हुने बताए ।

वरिष्ठ साहित्यकार तथा कवि तीर्थ श्रेष्ठले सफलता प्राप्तिका उदाहरणहरू दिँदै पुस्तक सबैका लागि पठनीय भएको बताए । विफलताहरू सफलताका सपनाहरू भएको उनको भनाइ थियो ।

पोखरेली यूवा सांस्कृतिक परिवारका सल्लाहाकार ईश्वरमणि अधिकारीले पुस्तकमाथि परिचर्चा एवं समीक्षा गर्दै पुस्तकमा पढेका, सुनेका, भोगेका, नैतिक शिक्षा दिने ४१ वटा लेखहरू समावेश रहेको बताए । पुस्तक मौलिक कलात्मक भएकोे उनको भनाइ थियो ।

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले पोखरेली माझ पनि पुस्तक विमोचन आवश्यक ठानेर कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा लेखकको परिचय पत्रकार सञ्जयकुमार मल्ले गराएका थिए । ‘इच्छाभित्र उपाय लुकेको हुन्छ भनेझैं, जीवनमा असम्भव केही छैन भन्ने चरितार्थ उहाँले पढाइमा कमब्याक गर्नु भएपछि आफ्नै जीवनमा प्रमाणित गरेर देखाउनुभएको छ,’ सञ्जयले भने ।

पुस्तकको गएको असार २ गते काठमाडौंमा समेत विमोचन गरिएको थियो । पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव डा.चैतन्य अधिकारीले गरेका थिए ।

पुस्तकलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो ।