काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी, फ्रान्स र पोल्यान्ड च्याप्टरको संयुक्त आयोजनामा अनेसास दिवसको उपलक्ष्यमा सम्पन्न युरोपस्तरीय कविता प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ ।

युरोपका विभिन्न देशबाट प्राप्त कवितामध्येबाट प्रारम्भिक चरणमा ३० जना कविहरूका रचनाहरू दोस्रो चरणका लागि छनोट गरिएको थियो। प्रतियोगितामा बेलायत, पोल्यान्ड, फ्रान्स, जर्मनी, अस्ट्रिया, पोर्चुगल, रोमानिया, बेल्जियम र फिनल्यान्ड गरी ९ देशका सर्जकहरूले सहभागिता जनाउनुभएकाे थियाे । सहभागीहरूले आफ्ना मौलिक कविता इमेलमार्फत आयोजकसमक्ष पेश गर्नुभएकाे थियाे भने दुई सय शब्दभित्रका कवितालाई मात्र प्रतिस्पर्धामा समावेश गरिएको थियो ।

प्रतियोगिताको निर्णायकका रूपमा साहित्यकार तथा गीतकार लालगोपाल सुवेदी रहनुभएको थियो । अनेसास पोल्यान्डका अध्यक्ष सुसन बर्देवा ले प्रतियोगिताको प्रक्रियाबारे जानकारी दिनुभएको हो ।

नतिजाअनुसार प्रथम स्थान पोर्चुगल निवासी हरिशरण परियार को “समयको फेरो” र कवि हिमोढ पहाडी को “निमन्त्रणा” शीर्षकका कविताले संयुक्त रूपमा प्राप्त गरेका छन् ।

द्वितीय स्थान जर्मनी निवासी सुमन राई को “बाजे”, सरिता पोखरेल को “दुई अनुहारको छाया” र बेलायत निवासी माया गुरुङ को “स्रष्टाहरूमा नमन” शीर्षकका कविताले प्राप्त गरेका छन् ।

त्यसैगरी तृतीय स्थान बेल्जियम निवासी गोपाल दाहाल को “धरा : एक पालियाटिभ जोर्ग”, जर्मनी निवासी सुमन सिंखडा को “प्रेम”, अस्ट्रिया निवासी श्रेया ढुंगाना को “परदेशको जुनुन” तथा जर्मनी निवासी सुदर्शन पौडेल को “ओदानका चिसा पैताला” शीर्षकका कविताले हासिल गरेका छन् ।

अनेसास जर्मनीकी अध्यक्ष सुजाता घिमिरे राउत ले विजेता स्रष्टाहरूलाई बधाई ज्ञापन गर्दै सम्पूर्ण सहभागीलाई धन्यवाद व्यक्त गर्नुभएको छ । साथै, विजेता कविहरूका लागि छिट्टै अनलाइन कविता वाचन तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने जानकारी दिइएको छ ।

आयोजक समितिका अनुसार विजेता कविहरूलाई प्रमाणपत्र तथा पुरस्कार उनीहरूको ठेगानामै पठाइनेछ । युरोपमा नेपाली भाषा, साहित्य र लेखन–पठन संस्कृतिको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।