गीतिनाटक नेपाली साहित्यको आकाशमा एक ‘सङ्कटापन्न’ विधा बन्न पुगेको छ । गिरीशबल्लभ जोशीको वि.सं. १९६९ मा प्रकाशित गीतिनाटक ‘पशुपतिसभा’ बाट सुरु भएको मौलिक गीतिनाटक परम्पराले समयकै क्रममा एक शताब्दी नाघिसकेको छ, र बिचमा यस विधाले धेरै स्मरणीय र कालजयी कृतिहरू जन्माएको पनि हो, तर पछिल्ला दशकहरूमा सर्जकहरू गीतिनाटकतिर खासै लागेको देखिँदैन ।
अध्येता तथा समालोचक डा. विन्दु सुवेदीको अध्ययनलाई आधार मानेर भन्दा नेपाली गीतिनाट्य धारामा आएका स्मरणयोग्य गीतिनाटकमा शम्भुप्रसाद ढुङ्ग्यालको ‘अशोक सुन्दरी नाटिका’, मोहनबहादुर मल्लको ‘पागल दुनियाँ’, देवकोटाको ‘कृषिबाला’, जनार्दन समका ‘क्रान्ति र शान्ति’ तथा ‘हिमकन्या’, बालकृष्ण समको ‘नालापानीमा’, नारायणदत्त शास्त्रीको ‘रामवनवास’, गणेशप्रसाद श्रेष्ठको ‘विसन्तर’ र ‘शकुन्तला’, टीकाराम शर्माको ‘चेली’ र ‘टुहुरी’, श्यामदास वैष्णवको ‘केही गीतिनाट्य’ सङ्ग्रहभित्र अटाएका नौओटा गीतिनाटक, माधव घिमिरेको ‘शकुन्तला’, ‘मालती मङ्गले’, ‘विषकन्या’, ‘अश्वत्थामा’, ‘हिमालपारि हिमालवारि’, ‘देउकी’ र ‘बालकुमारी’, रायनको ‘सिम्मा’ र ‘कहाली’, ईश्वरी अधिकारीको ‘वीरे’, उदय शर्मा (मुकुन्द न्यौपाने) को ‘आमा’, ‘सिन्धुलीको व्यथा’, ‘फूलबारीको कथा हवाइको व्यथा’ र ‘देशभक्त सिपाही’, गणेशप्रसाद चौँलागाईको ‘परदेशी’, अग्निशिखाको ‘शहीदकी आमा’, मुक्तिबन्धुको ‘युद्ध जारी छ’, जीवन शर्माको ‘ठूली’, भद्रकुमारी घलेको ‘केही गीति-नृत्य-नाटिका’भित्र सङ्ग्रहित पाँच गीतिनाटक, शरद पौडेलका ‘बुहारी’ र ‘गुमा’, मनबहादुर गुरुङको ‘पहाडदेखि मधेससम्म’ भित्र समेटिएका आठ गीतिनाटक, भोला रिजालको ‘गौँथली’, मोदनाथ प्रश्रितका ‘बुद्ध र चण्डाल युवती’ तथा ‘आम्रपाली’, शङ्करप्रसाद देवकोटाको ‘आशा’, कालीप्रसाद रिजालको ‘यशोधरा’, बूँद रानाको ‘तीलमा लेङ्गम’, इन्द्रमणि दर्नालको ‘अक्षि-भू’ भित्र रहेका पाँच गीतिनाटक, मोहनविक्रम सिंहको ‘युग बोल्छ’, कञ्चन पुडासैनीको ‘प्रेमी प्रेमिकाको भागाभाग’ र ‘नेताको भाषणः थानेदारको शासन’, लक्ष्मण कुँवरको ‘छाउपडी’, भूषण भोमि श्रेष्ठको ‘रक्तवीजको आभा’, सुरेन्द्र महर्जन अमरको ‘भाग्य’ सामेल छन् ।
हाम्रो यत्रो समृद्ध वाङ्मयका अघिल्तिर यी कृतिको सङ्ख्या राखेर हेर्दा, र तिनलाई अन्य विधाको चाङसँग तुलना गरेर हेर्दा यो सङ्ख्या न्यून हो । हुन त विश्वभरि नै यो विधा कम लेखिन्छ । त्यसो हुँदाहुँदै पनि यस विधाको संरक्षण गरिनुपर्छ, यसको अस्तित्वले समकालमा पनि निरन्तरता पाउनुपर्छ र यसमा पनि प्रतिभाको परख गरिनुपर्छ भन्ने अभीष्ट जो कवि लालगोपाल सुवेदीले पालेका छन्, त्यो निकै नै वन्दनीय छ ।
गीतिनाटकको लेखन ती स्रष्टाहरूको व्यक्तित्व अनुकूल हुन्छ जसले आफूलाई कविता र गीतमा निपुण बनाइसकेको छन् र नाटकको प्रवाधिक जानकारी राख्छन् । यी सबै कसीबाट हेर्दा कवि लालगोपाल सुवेदी गीतिनाटक लेखनका लागि प्रतिभासम्पन्न र उपयुक्त सर्जक हुन् । सात कवितासङ्ग्रह, दुई गीत सङ्ग्रह र दर्जनौँ फुटकर गीतका सर्जक, राष्ट्रिय कविता महोत्सवका विजेता, रेडियो नेपालबाट उत्कृष्ट गीतकारको पुरस्कारका विजेता तथा काव्यको समालोचकीय पक्षका पनि जानकार कवि सुवेदीको सिर्जनव्योम गीतिकाव्यका लागि अनुकूल छ भन्ने कुरा स्वतःसिद्ध छ । गीतले माग्ने कोमल, मुलायम, श्रुतिमधुर र थोरै शब्द र जनबोलीमा निर्मित शब्दहरूको संयोजनकला, कविताले माग्ने सर्व-रसयुक्त चिन्तन, चित्रण र उचाइ, तथा नाटकले माग्ने आमभाष्य र प्राविधिक ज्ञान सबै सबै छ उनीसँग । त्यसैले पनि उनको हातमा गीतिनाटकको सिर्जना एक स्वभाविकता बनेर उदाएको छ ।
आवरण प्रकाशन, काठमाडौँबाट प्रकाशित ‘राहुल-यशोधरा संवाद’ नामक कृतिभित्र तीनवटा गीतिनाटक छन्- ‘राहुल-यशोधरा संवाद’, ‘अङ्गुलिमाल’ तथा ‘योगमाया र धर्मसभा’ । पहिलो नाटक अन्यभन्दा अलि लामो छ, तर पछिल्ला दुई भने निकै छोटा आकारका छन् र सबैमा विषय, समय र स्थानको ऐक्यलाई बढो ध्यान दिइएको छ, जुन रङ्गमञ्चीय चिन्तनका हिसाबले पनि अत्यावश्यक ठानिन्छ । सबै नाटक विचारप्रधान छन् । पहिला दुई सुखान्त नाटक हुन् भने अन्तिम नाटक विद्रोहको नाटक हो ।
कवि सुवेदीले यी तिनैवटा नाटकलाई जनमानसमा पहिल्यैदेखि उपस्थित इतिहासका वास्तविक घटना-परिघटनाको जगमा मौलिकताको लेपनका साथ उभ्याएका छन् । सोफोक्लिजले गीतिनाटक ‘इडिपस’ को शृङ्खला तयार पार्दा उनले आफैँ सिर्जेका कथानक लिएका होइनन् । जनमानसमा किंवदन्ती, इतिहास वा शास्त्रीय प्रसङ्गका रूपमा व्याप्त कथालाई नै टिपेका हुन् । यद्यपि, तिनमा उनको मौलिकताको लेपन यति बुलन्द र प्रभावशाली थियो कि आज, करिब २५०० वर्ष पुगिसक्दा पनि उनका ती नाटकहरूको चर्चा घटेको छैन । शेक्सपियरले पनि उनका अधिकांश नाटकका विषय जनमानसकै स्मृति अथवा इतिहासका पुस्तकबाट लिएका हुन् । तर तिनमा उनले देखाएको मौलिकताको लेप आज पनि धेरै नाटककार र अध्येताहरूका लागि अद्भुत अनुभूतिको विषय हो । सुवेदीले यस्तै मिथक वा इतिहासको अध्यावधिक र मौलिक पुनरप्रयोगको बाटोलाई अपनाएका छन् ।
० ० ०
सुवेदीको शीर्ष गीतिनाटक ‘राहुल-यशोधरा संवाद’ले सिद्धार्थको जीवनका केही महत्त्वपूर्ण मोडहरूलाई समेटेको छ । उनको लालनपालन, दरबारको सुखसयल, बाहिरी संसारसँगको पर्दा, यशोधरासँगको विवाह, राहुलको जन्म, रोग, व्याध, जरा र मृत्युजस्ता सांसारिक यथार्थसँगको साक्षात्कार, वैराग, बुवा शुद्धोधनसँगको विवाद, महाभिनिष्क्रमण, ज्ञानप्राप्ति र घर वापसी — नाटकमा समेटिएका मोडहरू हुन् । मोडहरू रैखिक छन् । तर यिनले समेटेको विचारप्रवाह, रसहरूको योग र कौतूहलताको संयोजन —रैखिक छैन । बहसका लागि नाटकले धेरै मुद्दालाई पाठकसामु ल्याएको छ । करिब करिब सम्पूर्ण बौद्ध इतिहासलाई सिद्धार्थ उर्फ बुद्धको कोणबाट हेरिएको छ ।
यस्तोमा, यस नाटकले यशोधरालाई केन्द्रीय पात्रता प्रदान गरेको छ । शास्त्रले वा ज्ञात इतिहासले यशोधरालाई करिब करिब ‘मूक’ पात्र बनाएको भए पनि कवि सुवेदीले उनलाई वाचाल र निर्भीक, तर कतिपय द्विविधाबाट ग्रसित एक सांसारिक महिला बनाएर उभ्याएका छन् । प्रसङ्गहरूमा उनी आफ्ना अतृप्त यौन चाहना र अधुरो प्रेमले दिएको कुण्ठालाई पनि प्रकट गर्छिन्, र प्रकृतिमा देखिने प्रेमलीलालाई आफ्नो अवस्थितिको विलोमका रूपमा चित्रित गर्छिन् । उनी आफ्नै जन्मदाताले उनलाई जोगीकी जोई हुनुपरेकोमा गरेको गालीको प्रति प्रतिवाद गर्छिन्, र ससुरा शुद्धोधनलाई सिद्धार्थको बहिर्गमनको कारक आफूलाई मान्नुभन्दा त्यसलाई कार्य-कारणको सिद्धान्तमा उभिएर हेर्न अभिप्रेरित गर्छिन् । आफू कर्तव्यपथबाट किञ्चित पनि विचलित नहुने बताउँछिन् । एकातिर आफू सिद्धार्थको ज्ञानोदयको बाटोमा कुनै पनि दृष्टिले पथबाधा बन्न नचाहेको र आफ्नो आँसुले उनको बाटो नछेकोस् भनेर उनको विदाईका बखत सिरकले अनुहार छोपेर निदाएको नाटक गरेको कुरा बताउँछिन् भने अर्कोतिर, बुद्ध गाउँ फर्केका बखत आँसुको आचमनी दिएर आफू रित्तिन चाहेको बताउँछिन् ।
नाटकले शिशु राहुलको कोणलाई पनि मज्जाले पाठकसामु उतारेको छ । हुर्कंदै जाँदा राहुललाई बोध भएको छ- उनी दरबारभित्रै कुण्ठित भएर बस्नुपर्दा उनले संसार हेर्ने स्वतन्त्रता गुमाएका छन् । बाँधिएका कारण गाईले चाहेर पनि बाछोलाई दूध खुवाउन नसक्नु, र बाछोले पनि आमाको दूध खान नसक्नु, उनकै अवस्थासँग मिल्दोजुल्दो छ । अर्कोतिर, उनले बाबाको माया नपाएको, बाबाको पिठ्युँमा चढेर हट् घोडा हट् खेल्न नपाएको आदि पनि उनको बालअधिकार हननका विषय हुन् । हजुरबा शुद्धोधनले उनी राजा नै हुनुपर्ने र राज्यको शान-सौगतसँगै बाँच्नुपर्ने भन्ने जिरहमा राहुल, आफूले त्यो निर्णय आफ्ना बाआमाको सुझावमै छोड्छु भन्नु उनको मानसिक परिपक्वता हो । पिँजडामा राखिएको पक्षीलाई स्वतन्त्र छोड्नुपर्छ भन्ने उनको दलिल स्वतन्त्रताको अधिकारको प्रतीकात्मक वकालत हो । यसरी राहुल, आफ्ना र अरूका कर्तव्य र अधिकारप्रति सचेत एक कुशाग्र बालकको रूपमा देखा पर्छन् ।
हरेक दृष्टिबाट शुद्धोधन राजपाटमै लिप्त, राजवैभवबाट उन्मत्त, आफ्नो राजसी ठाँटप्रति सचेत, आफ्ना पितापुर्खाको वैभव र शौर्यप्रति अभिमानी र आफूले सोचेको कुरा छोरा र नातिले पनि गर्नुपर्छ भन्ने हठ पाल्ने, एक प्रतिनिधि शासक हुन् । उता माता गौतमी भने वात्सल्यले सम्पन्न, बाल मनोविज्ञानप्रति संवेदनशील, अन्य नारीप्रति पनि संवेदनशील एक ज्यादै मानवतावादी महिलाको रूपमा देखा पर्छिन् ।
नाटकैभरि कवि सुवेदीले आफ्नो गुह्य सन्देशहरूलाई प्रवाहित गर्नका लागि प्रतीकहरूको भरपुर प्रयोग गरेका छन् । गाई, बाच्छो, सुगा, कमलको फूल र कमण्डलु — यी विभिन्न अर्थ बोकेका प्रतीकहरू हुन् । नाटकको अन्त्यमा, केही क्षणका लागि यशोधराको कुटीमा आएका बुद्धले राहुललाई कमलको फूल र कमण्डलु दिनु भनेको मनको स्वच्छता र जीवनको सादगीको दीक्षा दिनु हो भनेर लिन सकिन्छ । शृङ्गार, शान्त र करुण रसको बाहुल्य भएको यो गीतिनाटक वैराग्य, मानवता, प्रेम, त्याग, तप र विश्व-कल्याणका सन्देशहरूसहित अग्लो कद लिएर उभिएको छ ।
० ० ०
सङ्ग्रको दोस्रो नाटक ‘अङ्गुलिमाल’ मा पनि कवि सुवेदीले आफ्नो विषय बौद्ध साहित्यबाटै उठाएका छन् । कथाको प्रमुख पात्र उही चिरपरिचित अङ्गुलीमाल हो, जो आफ्नो गुरुको आदेशका एक हजार औँलाहरूको माला लगाउन हत्याको अविराम शृङ्खलाको बीचमा उभिएको छ । उसले मान्छे मार्ने र औँला काट्ने गरेकोले ऊ सर्वत्र आतङ्कको प्रतीक बनेको छ ।
९९९ औँला पुर्याएपछि ऊ त्यो अन्तिम औँलाको खोजीमा छ, र यसैबीच उसका अगाडि बुद्ध प्रकट हुन्छन् । आफू अङ्गुलीमाल भएको थाहा पाएरै पनि बुद्ध ‘टस से मस’ नभएको देख्दा उसको अहंमा चोट पुगेको छ । ऊ आफ्नो परिचय दिन्छ पनि, तर बुद्ध विचलित देखिँदैनन् । बरु भन्छन् — रुखका पात तोड्न सकिन्छ जोड्न सकिन्न । जोड्न नसक्नेसँग तोड्ने अधिकार पनि हुँदैन । त्यस्तै, कसैको जीवन चुँड्नेले जीवनलाई पुनर्बहाली गर्न सक्दैन भने उसले जीवन चुँड्ने अधिकार पनि राख्दैन । यति भनेर बुद्ध, अङ्गुलिमालले गरेका भूलहरूका लागि आफैँ क्षमा माग्न थाल्छन् ।
यस अभिनयले अङ्गुलिमालको हृदयमा पश्चात्ताप र करुणाको लाभा उठेर आउँछ, र ऊ तत्काल अङ्गुलिमालबाट ‘अहिंस्रक’मा परिणत हुन राजी हुन्छ, र चीबर लगाएर, कमण्डलु बोकेर बुद्धको पछिपछि हिँड्न थाल्छ । मान्छे कसरी निभर्यता, विनम्रता र करुणाले हृदयतः परिवर्तित हुन सक्छ भन्ने उच्च कोटिको सन्देश यस नाटकले बोकेको छ ।
० ० ०
सङ्ग्रहको अन्तिम गीतिनाटक हो ‘योगमायाको धर्मसभा’ । योगमायाको कुटीमा योगमाया योगवाणी गाइरहिकी हुन्छिन् । उनका भक्तजन एकपछि एक भेला भइरहेका हुन्छन् । अधिकांशसँग कुनै न कुनै पीडा छ, अथवा अप्रिय समाचार छ । कुरा आउँछन् — कतै विधवा बनेका कलिला केटीहरू सती गएको, कतै लोग्नेले सौता ल्याएको, कतै छुवाछुतका आधारमा गरिबलाई तिरस्कार गरिएको, कतै भने सम्पूर्ण महिला जातिको अस्तित्वमाथि धावा बोलिएको, महिलाले वेद पढ्नु हुँदैन भनिएको र पढेमा दण्डित गरिएको । पुरानो गति-कुण्ठित, राहु-ग्रसित, ब्राह्मणवादबाट आक्रान्त र राज्यबाट उपेक्षित नेपाली समाजको चित्र यहाँ खडा गरिएको छ ।
यी सबैका विरुद्ध योगमायाको शङ्खनाद छ । विद्रोहको आह्वान छ । र दरबार र सरकारलाई यस्ता विभेदकारी व्यवस्था हटाउने सोझो चुनौती छ । नाटक, मूलतः महिला हिंसा, छुवाछूत र अन्धविश्वासका विरुद्ध जनक्रान्तिको तयारीलाई केन्द्रीय कथ्य बनाएर उभिएको छ ।
० ० ०
यी तिनैवटा नाटकको पठनपछि थाहा हुन्छ— कवि लालगोपाल सुवेदी उदात्त मानवतावादबाट प्रेरित कवि हुन् जो समाजलाई विभाजन गर्ने कुनै पनि व्यवस्थाप्रति सहमति राख्दैनन् । उनलाई विधवाको सुरक्षा र अधिकारको चिन्ता छ । उनलाई बालकहरूले पाउनुपर्ने माया र स्वतन्त्रताको चिन्ता छ । उनी जातभात, लैङ्गिक भेदभाव, अन्धविश्वास, वर्गीय विभेद र शासकीय दमनका हरेक पक्षका विरोधी हुन्, र समानता, प्रेम र करुणले भरिएको सुन्दर संसारका पक्षपाती हुन् । उनको चिन्तनमा हिंसाको कुनै पनि ठाउँ छैन, र उनी नरनारी, राजाप्रजा, धनी-गरिब, बालक-वयस्क — सबै सबैका अधिकार र सुरक्षाको प्रत्याभूति खोजिरहेका भेटिन्छन् ।
लोक लयमा, सामान्य जनमानसको भाषामा, श्रुतिमधुर गीतिबान्कीमा रचिएका यी तिनैवटा नाटक सरल र गम्भीर छन्, र सबै बौद्धिक स्तरका पाठकले सहजै पढ्न सक्छन् । कथानक जनमानसमा पहिल्यैदेखि विद्यमान, साझा अवचेतनमा अवस्थित कथाहरूमा आधारित भएको हुँदा कथानकको श्रोत र प्रेरणा थाहा पाउन पनि गाह्रो छैन । अपितु, कवि सुवेदीको सिर्जनशीलता, उनको करुणा, प्रेम र अहिंसाप्रतिको प्रतिबद्धता, र उनले पुराना कथामा दिएका नवीन नाटकीय मोडहरू उनको उदात्त कवित्वका प्रमाण हुन् । यी नाटकको पठनले मान्छेलाई प्रेम, अहिंसा, करुणभाव, दया, धर्म, अधिकार र कर्तव्यबोध जस्ता गुणहरूतिर उन्मुख हुने यथेष्ट प्रेरणा दिन्छ ।
केही सुझाव दिनु पनि वाञ्छनीय हुन्छ । ज्यादै मर्मस्पर्शी र उदात्त रचनाको सम्पादन पक्ष भने ज्यादै फितलो छ । भाषिक र प्राविधिक त्रुटिहरू धेरै छन्, र कतिपय त अनर्थ नै लाग्ने खाले पनि छन् । सम्पादनको अभिभारा जसले लिएको भए पनि यतातिर ध्यानाकर्षण गर्नु जरुरी छ ।
दोस्रो, कतिपय पात्रहरूमा आन्तरिक विरोधाभास ज्यादै देखिन्छ । उदाहरणका लागि यशोधरा । एकातिर उनी सिद्धार्थको बाटो नछेकियोस् भनेर आँसु रोक्छिन् । अर्कोतिर उनी फर्केपछि ‘दुई आँखाको आच्मनीले अश्रुजल चढाउन चाहन्छु’ र ‘म प्रेमीसामु घुँक्कघुँक्क गरी रुन’ चाहन्छु भनेर आफ्नो कमजोर र द्वैध व्यक्तित्वको परिचय दिन्छिन् । पूर्व वा पश्चिम, आजको कुनै वादहरूले आकारै नलिएको, आजभन्दा करिब २५०० वर्ष पूर्वको समयको कथा हो । तर एक ठाउँ यशोधरा भन्छिन्, ‘देख्दै छु पूर्वको नारीवाद’ । यहाँ, प्रचीनकालीन यशोधराको मस्तिष्कमा आजका लालगोपाल सुवेदीको सैद्धान्तिक घुसपैठ भएको देखिन्छ, जो नभएको भए बेस हुन्थ्यो । अझै ‘पापा’ र ‘चाचा’ नै भन्ने उमेरको बालक राहुल, कतै कतै दार्शनिकका जस्ता कुरा लिएर उभिएको छ । भन्छ— ‘नबुझी झिक्नु बठ्याइँ, म फुच्चेलाई धक हुन्छ / नाबालक छोराछारीमा माताकै पहिलो हक हुन्छ ।’ यो निकै उच्च, गम्भीर, सामाजिक र संवैधानिक विषयको अभिव्यक्ति, फुच्चे राहुलका मुखबाट निस्कँदा उसको उमेर र चेतनामा स्वाभाविक तालमेल छैन कि भन्ने ठाउँ पाठकले भेट्टाउँछन् ।
उता कवि सुवेदीको जुबानमा अङ्गुलीमालको कथामा नयाँ सन्देश नभेटिएको गुनासो पनि पाठकले गर्न सक्छन् भने योगमायाको धर्मसभामा, नाटकले माग्ने विषयको ऐक्यका विपरीत अति नै धेरै विषयलाई गुजुमुजु पारिएको, र कुनै पनि विषयले केन्द्रीयता ग्रहण गर्न नसकेको भनेर गुनासो गर्ने ठाउँ पनि पाउँछन् । यद्यपि, यी ससाना आत्मगत टिप्पणीलाई एकातिर मिल्क्याउने हो भने नेपाली गीतिनाट्य परम्परामा लामो समयको अन्तरालपछि, त्यस अन्तरालको क्षतिपूर्ति गर्न सक्षम मधुर, उदात्त र सुन्दर गीतिनाटकहरूको उदय भएको छ ।
राहुल-यशोधरा संवादमार्फत् कवि सुवेदीले आफ्नो कवित्वको एउटा उत्कर्ष विन्दु जनमानसका सामु प्रस्तुत गरेको भने पक्का हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 










