भूगोलको सीमामा देश अट्ला र ? के देश के परदेश, हातमा सीप भए गरी खान जहाँ पनि पाउनुपर्छ । पात्र र अध्यागमन अधिकारी बीचको संवाद नियाल्ने हो भने सन्दर्भ नमिलेको कागजात मागेकाले पात्रलाई बढी केरकार अवश्य भएको देखिन्छ ।
0000
तनहुँमा जन्मेर चितवनमा हुर्किएका कथाकार पंचम अधिकारी हाल बेल्जियममा परिवार सहित बसोबास गर्दछन् । उनको ‘प्रवासीको देश हुन्न’ कथासंग्रह सप्रेम उपहार पाएको थिएँ । एक बसाइँमा पढ्न सकिने कथाहरू रहेको यस संग्रहमा १४ वटा कथा सङ्कलित छन् ।
सबै कथा पढिसकेर हरेक कथालाई छुट्टाछुट्टै समालोचनात्मक टिप्पणी गर्ने मनसाय थियो, विदेशको बसाइँ काम, माम र अनेकौं व्यवहारले समय निकाल्न गाह्रो भयो । अनि यस कथासंग्रहको प्रमुख एक कथा छनौट गरें, समालोचकीय टिप्पणी गर्न मन लाग्यो अनि सोध्न मन लाग्यो के प्रवासीको साँच्चै देश हुँदैन ?
यहाँ कथाकार पुष्टि गर्न चाहन्छन् – प्रवासीको देश नहुने कुरा ।
संग्रहका केही कथाका कथावस्तु विदेशबाट उठान भएका छन् भने बाँकी स्वदेश भित्रकै कथालाई कथावस्तुका रूपमा बुनोट गरिएका छन् । कथाले आफ्नै विशेषता र चरित्र बोकेर हिंडेका छन् । हरेक कथाले वर्तमान-मानिसको आफ्नै कथाव्यथा समस्या जिजीविषालाई अभिव्यक्त गरेको छ । समसामयिक कथाले सामाजिक संरचना, विकृति, विसङ्गतिलाई इङ्गित गर्दै विरोध गर्ने अमानवीय व्यवहार र चरित्रको निराकरण खोज्ने, विश्वजनित सन्दर्भ बौद्धिक चेतनाको अभिव्यक्तिलाई जोड दिने काम गर्दछ ।
पहिलो कथा सानो सेक्रेटमा अमेरिकाबाट सुविन गर्मी छुट्टी मनाउन बाआमासँगै काठमाडौं आएको कथा छ – बालसुलभ पात्र हो ऊ । उसका बाआमा अमेरिकामा रेस्टुरेन्ट मालिक नभई असिस्टेन्ट कूक भएको सानो सेक्रेट चुहिएको कथावस्तु रहेको छ ।

प्रवासीको देश हुन्न
दोस्रो कथा ‘नेहा’ हो । यस कथामा क्याम्पस पढ्दै गरेकी नेहा न्यूयोर्क पुगेर ब्युटी पार्लरमा काम गर्दै पैसा कमाउँदै गरेकी हुन्छे । अचानक आमा बिरामी भएको कारणले काठमाडौं फर्किन बाध्य भएकी छे भने आमाको सेवा गर्दै जागीर खाँदै गरेकी ऊ आमाको मृत्युपछि भु. पु . ब्रिटिश आर्मी मिलनसँग प्रेमसम्बन्धमा रहन्छे । पछि बच्चा जन्माउने धोको अपूरो भएको कथा छ । ‘लोकल हिरो’ तेश्रो कथामा म पात्रको स्कूल र क्याम्पस पढ्दाका लोकल हिरोका कथालाई कथावस्तु बनाइएको छ ।
‘घातक आकर्षण’ चौथो कथामा कोब्राकुमारको घातक आकर्षणमा माला कसरी परी र त्यसले जीवनमा पारेको प्रभावलाई समेटेको छ ।
अर्को कथा हो – प्रवासीको देश हुन्न । पाँचौं यस कथालाई बिस्तारमा कुरा गर्ने नै छु ।
बिक्रम जस्तो चालू प्रेमीको कथा हो – ‘चालू प्रेमी’ । छैटौं यस कथामा बिक्रम कहिले रश्मीसँग त कहिले सुशान्ती अनि कहिले दीपा हुँदै नर्तकीसम्म पुगेको हुन्छ । यसरी उसले अरूलाई पनि चालू नै देखेको पाइन्छ ।
सातौं कथा ‘तिम्रो लोग्ने खै ?’ रहेको छ । यसमा काठमाडौंको एउटा अन्तर्राष्ट्रिय संस्थामा काम गर्ने दम्पतीले त्यहाँबाट सुनिता नामकी केटीलाई बेबीसिटरको रूपमा काम गर्न ल्याउँछन् । सुनिता तीजको कार्यक्रममा जानु , अजयसँग भेट हुनु, हिमचिम बढ्नु, हप्ता दिनको छुट्टी लिनु, अजय र सुनिताले शारीरिक इन्जोय गर्नु, पेटमा बच्चा बस्नु, कारितासको भवनमा आश्रय लिनु, इलिगल हुनु, कुमारी आमा भएर बच्चा जन्माउनु जस्ता कथावस्तु रहेको छ ।
‘अनि ऊ भागी’ शीर्षको आठौं कथामा सरलालाई केन्द्रमा राखिएको छ । कथानुसार धादिङबाट नर्सिङ पढ्न काठमाडौं आएकी सरलालाई अपरिचित महिला पुरुषले आफ्नो जीपमा राखेर निश्चित स्थानमा पुर्याउने, विज्ञापन गर्ने-गराउने, फिल्म बनाउने नाममा ब्ल्याकमेल गर्न खोजेको देखिन्छ र कुनै पनि हालतमा उसलाई समाएर लैजान लागेपछि ऊ भागेको कथा छ ।
प्रवलकी भाडेदार सोनियाको कथा रहेको नवौं कथा ‘पिकासो केटी’मा व्यापारीको छोरो प्रवल आफ्ना अपार्टमेन्ट भाडा लगाएर मासिक भाडा उठाउने काम गर्छ । सोनिया सामाखुसीको सुविधा सम्पन्न अपार्टमेन्टमा भाडामा बस्छे । प्रवल घरमा श्रीमती श्रेया भए पनि सोनियासँग शारीरिक सम्पर्क राख्दछ । पिकासोको अर्को प्रेमीका भए जस्तै प्रवलको अर्को पिकासो केटी हो सोनिया । प्रहरीको खोज अनुसन्धानले उसको पुरानो नाम सीता भएको र १० कक्षामा पढ्दा पढ्दै नातेदारबाट शारीरिक शोषणमा परेकी पात्रको रूपमा भेटिन्छे । जसरी पिकासोको चित्रमा उसको रखेल भए जस्तै प्रवलको जीवनमा पनि सोनिया उर्फ सीता सहेको कथावस्तु छ ।
दशौंमा रहेको छ – ‘फिरन्ते अनुराग’ । यहाँ म पात्र एउटा टुरिस्ट गाइड हो र अमेरिकाबाट आएकी गोरी सोफीलाई टुरिस्ट गाइडिङ गर्नुपर्ने काम रहेको छ । पोखरा, अन्नपूर्ण ट्रेकिङ, चितवन जंगल सफारी, लुम्बिनी घुम्ने घुमाउने काम गरेको छ म पात्रले । विवाहपछि गर्नुपर्ने कृत्य अगाडि नै गरिसकेका छन् कथाका पात्रहरूले । सोफी आफ्नो इमेल दिएर अमेरिका फर्किन्छे अनि सम्पर्क पातलिंदै जान्छ । म पात्रले पनि अर्कीसगँ विवाह गर्छ, सोफीलाई म पात्रले इमेल गर्छ अनि अटो रिप्लाईमा ब्लग आउँछ, त्यहाँ केन्या, इजिप्ट, भियतनाम, नेपाल भ्रमणको लिंक राखिनु अनि अहिले कोलम्बियामा हुनुले फिरन्ते अनुराग कथाको शीर्षक सार्थक हुन्छ ।
अर्को हो ‘यो बर्बादी’ । एघारौं यस कथामा म पात्रको रूपमा महिला पात्र आएकी छे, देवेन अर्को पात्र हो । ती दुई क्याम्पसका मिल्ने साथी पनि हुन्, पढाइभन्दा बाहिर अतिरिक्त क्रियाकलापमा उत्कृष्ट पात्र पनि हुन् । कलेजको तेस्रो वर्षको अन्ततिर सांस्कृतिक मेलामा राती बिजुली गएर अँध्यारो भएको बेला म पात्रलाई शारीरिक अभद्र व्यवहार गरिएको, देवेनलाई कुटेर अस्पताल भर्ना गरिएको, कलेज समाप्तिपछि म पात्र टेलिभिजन च्यानलमा काम गर्न थाल्नु, कामकै सिलसिलामा चितवन जानु त्यहाँ अस्मितासँग भेट हुनु, देवेनका बारेमा जानकारी प्राप्त गर्नु, देवेनसँग भेट हुनु, ऊ विवाहित भइसकेको थाहा पाउनु जस्ता घटनाहरू छन् । यसरी सानो घटनाले उनीहरूको जीवनमा ठूलो बर्बादी ल्याएको कथा छ ।
बाह्रौं कथा ‘इपिसेन्टर पालुङ्टार’ रहेको छ । यो मनुको कथा हो । यसमा आशाले मनुलाई दिएको धोकाको बदलामा भाडाको कोठा छोड्नु, अनि देश छोडेर कतार उड्नु, चार वर्षपछि फर्किनु, आशा र मनुको भेट शहिद चौकमा हुनु, एकापसमा कुराकानी हुनु, पुराना कुराकानी हुनु, फेरि कतार जानु, भुकम्पका कारणले नेपाल फर्किनु, सानिआमालाई सहयोग गर्न गोरखाको पालुङटार जानु, पसलनी र आशा उस्तै देख्नु जस्ता कुरा समेटिएका छन् ।
कथाकारकै आफ्नै कथा जस्तो लाग्ने कथा हो ‘इडियट’ ! यस तेह्रौं कथामा म पात्र चालीसको जन्मोत्सव मनाउने क्रममा आफ्नो भावना व्यक्त गरेको विषय छ । गाँस बास र कपासको राम्रो व्यवस्था नेपालमा राम्रो हुँदाहुँदै विदेशिएको म पात्र पन्ध्र वर्षदेखि बेल्जियममा बसेको छ । सुपर मार्केट र क्याफेको साहुजी विभिन्न बिरामी पालेर बसेको अनि जिन टोनिकको सौखिन पात्र हो । अर्को पात्र समीरा छे । समीरा यस देशमा जीवन बनाउन आउने धेरै विद्यार्थी मध्येकी एक हो । म पात्रको सुपरमार्केटमा काम गर्ने क्रममा नजिकिएर लहसिएकी पात्र पनि हो समीरा । बेल्जियमको पेपर बनाउन विवाह गर्न चाहन्छे म पात्रसँग ऊ, जीवन जिउने क्रममा म पात्र मानसिक रोगी जस्तो हुन्छ ।
संग्रहको अन्तिम कथा हो ‘तिम्री स्वास्नी’ । यसमा पात्रहरू सुनिल, सपना, बिनोद हुन् । सपनाकै केन्द्र बिन्दुमा कथा अगाडि बढेको छ । सपना सुनिलकी विवाहित श्रीमती हो, बिनोद जस्ता पात्र विदेशमा कमाएको पैसा रक्सी, मासु र सपनामा खर्चेर पाँच-छ महिनामै लाहुरेबाट चाउरे भएको, कपडा व्यापारी पनि सुनिललाई आफ्नो पसलमा काम लगाएर उसैको घर सपनाकामा जानु, म पात्र पनि टि.भी. बनाउने नाममा सपनाको घरमा जानु जस्ता कथावस्तु समेटिएका छन् । असाध्य राम्री श्रीमती अर्काको नजर लाग्ने कुरा यसमा प्रष्टै पाइन्छ ।
अब लागौं अघि छाडेको ‘प्रवासीको देश हुन्न’ तर्फ । कथाको प्रमुख पात्र फुर्केरामको काठमाडौं आगमनसँगै अध्यागमनबाट कथा अगाडि बढ्छ । अर्को देशबाट नेपाल आउने धेरै यात्रुहरू मध्येको एक हो ऊ । कथा वस्तुको रूपमा बोर्डर कन्ट्रोलमा उसले झेल्नुपरेको सास्ती अनि त्यहाँबाट बाहिरिएपछि शौचालयमा नित्यकर्म सकेर ब्यागेज कन्भेयर बेल्ट्बाट त्यहींको कर्मचारीले सहयोग गर्नु, उसले चिया खाने पैसा माग्नु, बुढीआमै उनको वैदेशिक रोजगारीमा गएको छोराको शवको प्रतीक्षामा बस्नु, त्यसै दिन २६ जना नेपालीको शव आउँदै गरेको जानकारी आउनु, फुर्केराम कर्मचारीलाई चिया खर्च दिएर एयरपोर्टबाट बाहिर निक्लने क्रममा झोला च्यात्तिएको सामान खजमजिएको एस. एल. आर. क्यामेरा चोरी हुनु, उजुरी गर्ने नगर्ने द्विविधामा पर्नु जस्ता रहेका छन् ।
फुर्केराम भारतको जन्म, नेपाली नागरिकता, अमेरिकी ग्रीन कार्ड, क्यानडाको टोरन्टोबाट हवाई यात्रा गर्दै काठमाडौं आगमन गर्दा नागरिकता मागिनु र साथमा नहुनु समस्या भएको देखाइएको छ ।
कथालाई अगाडि बढाउन पात्रको सामाजिक, बौद्धिक व्यक्तित्वलाई निखार्न त्यसै क्षमता अनुसारको भाषा प्रयोग भएको संवाद हुनु आवश्यक हुन्छ । कहिलेकाहीं उच्च सामाजिक वा बौद्धिक व्यक्तित्व देखाउन प्रयोग भएको संवादनै समस्या भएर आइदिन्छ । यसै क्रममा प्रमुख पात्र आफूलाई अब्बल देखाउन अंग्रेजी, नेपाली, हिन्दी भाषामा गरेको संवादले पनि समस्या निम्त्याएको देखिन्छ ।
कथाकार अधिकारी आफ्नो कथालाई लक्षित बिन्दुमा पुर्याउन बाह्य दृष्टिविन्दु तृतीय पुरुष कथनशैलीमा कथाको बुनोट गर्दछन् । १५ मिनेटको बसाइँमा यो कथा पढ्न सकिन्छ । यहाँ वर्णनात्मक र दृश्यात्मक अभिव्यक्ति पाइन्छ ।
काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थल भित्रको परिवेश कथामा आएको छ । बुटिक एयरपोर्ट, बुद्ध अनि गैंडाको मूर्ती राखिएको, विमानस्थल भीडभाड भएको कुरा कथामा देखाइएको छ अनि त्यहाँको गाग्री ताउलामा भएका फूलहरू कुहिएर लेदो पानी दुरगन्धित भएको परिस्थिति र परिवेश देखिन्छ ।
फुर्केराम हिन्दी, नेपाली, अंग्रेजी भाषामा राम्रो दखल भएको पात्र हो । त्यसैले ती शब्दहरूको प्रयोग भएको छ । कथामा प्रयोग भएका शब्द पदावली र वाक्यका ढाँचाले विषयवस्तुलाई कलात्मक बनाएको छ, सबै पात्रले आफ्नो स्तर अनुसारकै भाषाशैलीको प्रयोग गरेका हुनाले काव्यात्मकताको छनक भेटिन्छ ।
अधिकारी यस कथाका माध्यम्बाट प्रवासीको देश हुन्न भन्ने मुख्य उद्देश्यलाई उजागर गर्न चाहन्छन् । नेपालको अन्तर्राष्ट्रिय विमानस्थलभित्र पाइने दु:ख सास्ती समस्या एकातिर छन् भने अर्कातिर हेल्पर कर्मचारी पाहुनाबाट कसरी रकम असुल्ने भन्ने ध्याउन्नमा रहने समस्या कोट्याएका छन । त्यसमध्ये वैदेशिक रोजगारीका निम्ति गएका २६ व्यक्तिको लाश आउँदै गरेको र बुढीआमैको पर्खाइको अवस्थाले पनि देशको अवस्थालाई चित्रण गरेको छ । यसरी चित्रात्मक रूपमा वर्णन गरेको छ आजको नेपाली समाजलाई । गाँस, बास, र कपासको निम्ति काम खोज्दै विदेशिनु पर्ने बाध्यतालाई स्पष्ट्याएको छ कथाले ।
प्रवासमा स्थायी बसोबासको अनुमति पाएर नेपाल आउँदा पाउने सास्तीको कथा हो ‘प्रवासीको देश हुन्न’ । यसबाट लेखकले प्रवासीको देश हुन्न भन्ने कुरा पुष्टि गर्न चाहन्छन् । त्यसै भएर पात्रको भोगाइबाट बुझाउँछन् प्रवासीको देश हुन्न भनेर ।
निष्कर्षमा हेर्दा यहाँ कथाकार स्वयम् प्रमुख पात्र फुर्केरामका माध्यमबाट जोगीको घर नहुने अनि प्रवासीको देश नहुने तथ्य बताउन चाहन्छन् नत्र बाआमा म्याग्दीका, भारतमा जागीरे, फुर्केरामको भारतमा जन्म, नेपाली पासपोर्ट, अमेरिका बसाइँ अनि क्यानडा जागीर भएको देखाउन खोज्नु नै आजका मानिसको देशनै पृथ्वी हो भन्ने तर्क होला शायद ।
भूगोलको सीमामा देश अट्ला र ? के देश के परदेश, हातमा सीप भए गरी खान जहाँ पनि पाउनु पर्छ । पात्र र अध्यागमन अधिकारी बीचको संवाद नियाल्ने हो भने अध्यागमन अधिकारी आफ्नो कामको दायित्व पूरा गरिरहेको भान हुन्छ । पासपोर्टसँगै चाहिने अरू सन्दर्भका कागजपत्र मागिरहेको देखिन्छ । सन्दर्भ नमिल्दा अलि बढी केरकार अवश्य भएको देखिन्छ ।
यति हुँदाहुँदै पनि प्रमुख पात्रको ‘प्रवासीको देश हुन्न’ भन्ने भनाइ कथाकारले आफ्नो बोली अभिव्यक्त गर्नु हो भन्ने ठान्दछु ।
समग्रमा कथाहरू पढ्दै जाँदा कतै रोमाञ्चित भइन्छ भने कतै आँखाहरू बिझ्छन् । पात्रहरू सँगसँगै रमाउने र रुवाउने लेखाइ कथाकारको विशेषता मान्नुपर्छ । संग्रह पठनीय छ । केही न केही नयाँ अनुभव पाठकलाई अवश्य दिन्छ ।
बेल्जियम



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
९ माघ २०८२, शुक्रबार 










