
`शिखा बुक्स´ले प्रकाशन गरेको प्रिय गजलकार तथा कवि `दीप मिलन´को गजल सङ्ग्रह `सलेदाे´को सम्पादक आदरणीय गजलकार दाजु `आवाज शर्मा´ रहनुभएको छ । यसको व्यवस्थापकमा `बहर बहार´ रहेको छ । साथै यो पुस्तकको आवरण चित्र पनि दाजु `आवाज शर्मा´ कै हो । `सलेदो´ गजल सङ्ग्रह मेरो हात परेको निक्कै लामो समय नै भैसक्यो । अझ भनौँ मैले यो सङ्ग्रहको पाण्डुलिपि नै पढेको हुँ ।
सङ्ग्रहकै रूपमा आइसकेपछि पनि २/३ चोटि पढेको छु । साथै यो पाठकीय प्रतिक्रिया लेखेर राखेको पनि लामै समय भएछ । सर्वप्रथम त म माफी चाहन्छु यो सामाग्री ढिलो पोस्ट गरेकोमा । गजलकार दीप मिलनसँगको मेरो सङ्गत लामै समयदेखि छ । मलाई लाग्छ हामी एकर्काका असल मित्र तथा शुभचिन्तक पनि हौँ । हामी कतारमा एकै साहित्यिक संस्थामा रहेर लामो समयदेखि साहित्य साधना र नेपाली साहित्यको जगेर्ना गर्न भनेर आफूले सकेको मन, वचन र कर्मले गर्दै पनि आइरहेका छौँ । उनै प्रिय मित्र ‘दीप’ को गजल सङ्ग्रह ‘सलेदो’ माथि पाठक बनेर केही चिरफार गर्ने प्रयास गरेको छु ।
गजलकार `दीप´ले आफूले भौतिक रूपमा देख्न नपाएका आफ्ना गुरु तथा दिवङ्गत स्रष्टा `रमेश हरिलट्ठक´ प्रति यो गजल सङ्ग्रह समर्पण गर्नुभएको छ । आफ्ना गुरु रमेशलाई सम्झिँदै `दीप मिलन´ शेर मार्फत यस्तो लेख्नुहुन्छ ।
चढाऊँ लाग्छ यौटा फूल श्रद्धाको
कहाँ फुल्दै छ होला फूल श्रद्धाको
६६ वटा गजलहरू समावेश गरिएको यो `सलेदो´ गजल सङ्ग्रहका सम्पूर्ण गजलहरू शास्त्रीय बहरको परिधिभित्र रहेर रचना गरिएका कारण यो सङ्ग्रह भर्खर गजल लेख्न सिक्दै गरेका नवसर्जकहरूको लागि अति नै उपयोगी हुने मेरो विश्वास छ । यी गजलहरू तरन्नुम गर्न एकदमै उपयुक्त र वाचन गर्दा सहज, सलल नदी झैँ बग्ने बनेका छन् । यस सङ्ग्रहमा रहेका गजलहरू कोमल शब्दहरूको प्रयोग गरेर रचना गरिएको छ जसले गजलहरूलाई सभ्य , शालीन र उच्च कोटीका बनाएका छन् ।
`सलेदो´ भित्रका गजलहरूमा आफ्नो देश, माटो प्रति प्रेम र चिन्ता अत्यधिक भेटिन्छ, जुन शेरहरूले हरेक जनमानसमा आफ्नो देश, माटो प्रति माया र चिन्तन गर्नुपर्छ भन्ने सन्देश पुर्याउने छन् ।
नजाऊ युवा हो बिरानो मुलुकमा
भनी मातृभूमि सधैँ बर्बरायो ।
*
ए प्रवासी आऊ गरौँ देश मर्मत
यो मुलुकको गाह्रो पुरानो भएछ ।
*
भरेर प्यारको घडा हिमालको पहाडको
बजाउँदै म बाँसुरी मधेस काखमा सरूँ ।
*
बढ्यो अशान्ति बेस्सरी अचेल बुद्ध भूमिमा
जलाइ दीप प्रेमको स्वदेशमा खुसी छरूँ ।
*
छैन मुगलानको विश्वास के भन्छौ ?
देशभित्रै म आमा त्रास देख्दै छु ।
म झोला बोकेर हिँडेको छु दलको
के मतलब मलाई गलत को असल को ?
दीपले बा ,आमा प्रतिको प्रेम सम्मान तथा उहाँहरूप्रति आफूले पूरा गर्नुपर्ने कर्तव्यलाई पनि आफ्ना शेरहरूमा अँटाउनु भएको छ ।
जाँदै छ जिन्दगानी बा´को हलो जुवामा
पूरा बित्यो जवानी बा´को हलो जुवामा
भो भन्न छोडिदेऊ पाखे किसानलाई,
निर्भर छ राजधानी बा´को हलो जुवामा
जोतेर खेत बाँझो रोपिन्छ स्वप्न लाखौँ,
ओढेर घामपानी बा’को हलो जुवामा
मेटेर मेटिँदैनन् धोएर अर्थ के भो ?
छन् हातका निशानी बा´को हलो जुवामा
माटो धुलो हिलोमा हाँसो उमार्न खोज्ने
लेख्नेछु यो कहानी बा´को हलो जुवामा
…
कुन जल होला आमाको खून सरहको
जसको महिमा लेख्ने अक्षर अहँ छैन ।
आमा केले तिरिन्छ र दूधको मूल्य ?
पर्दैन आँसु मेरो लागि नबगाउनू ।
बा´को बैसाखी बन्छु भनेको छु अझै
नभन्नुहोस् बा, अब तेरो भर अहँ छैन ।
मान्छेको जिन्दगीमा सुख , दुख, हाँसो, खुसी , आँसु , नैराश्यता , आशा सबैको हुन्छ त्यसबाट गजलकार ‘दीप मिलन’ कसरी अछुतो रहन सक्नुहुन्थ्यो र ? मान्छेको जिन्दगी भन्नु नै यी सम्पूर्णको मिलन बिन्दु हो । जुन उहाँका शेरहरूबाट पनि प्रस्ट हुन्छ ।
दिल दुख्छ दुख्न कारण चाहिन्न रै´छ केही
यो पीर जन्मँदाको मौज्दात भन्नुपर्छ ।
…
बेदह घृणा मिल्यो यसमै खुसी मिल्यो
अब बाँच्न जिन्दगी सजिलो हुँदैन र ?
…
हरपल भिजेको भेट्छु आँखा के भयो ?
भेटिन्न पीडाको किनारा के भयो ?
…
यो हल्लाहरूको सहर लाग्न थाल्यो
न आशा कसैको न भर लाग्न थाल्यो
…
अँध्यारो नै अँध्यारो भो कहिल्यै जून आएन
बल्यो विश्वासको बत्ती निराशाले निभाएन
…
यो खुसी अन्त्यको सम्भावना देख्छु
दु:खको शृङ्खलामा थप कमा देख्छु
गजलकार ‘दीप मिल’न जीवन र जगत राम्रो सँगले बुझ्नु भएका सायर हुनुहुन्छ भन्ने उहाँका शेरहरूले प्रमाणित गर्दछन् ।
जगतले के भन्न बाँच्यो ? मैले म भन्न बाँचेँ
जीवन र मृत्यु बिचको पथ एक खन्न बाँचेँ
…
जीवन बारे निष्कर्ष यस्तै छ सायद
चितासम्म पुग्ने सफर लाग्न थाल्यो
…
ऊ पुनः आउने आशा भुली देऊ
कुन नदी पो बगे´सि फर्किएको छ?
‘सलेदो’ गजल सङ्ग्रह भित्र –
विचार, चिन्तन युक्त शेरहरू पनि प्रशस्त मात्रामा पढ्न पाइन्छ । जसले सभ्य समाज र मान्छेहरूमा सकारात्मक चेतनाको विकास गर्न अत्यन्तै सहयोग गर्नेछन् ।
ओ काग , भो फिर्ता गरिदे मान्छेका कान
तेरो पछि नकुदेको त सहर अहँ छैन ।
…
म ठुलो हुँ भन्ने सबैमा छ दम्भ
कुनै अर्थ होला र सानो बिनाको ?
…
नठानोस् कसैले बिरानो मलाई
बनाएर जाओस् न बाटो मलाई
गजलकार दीपले तखल्लुसको रूपमा भनौँ या त शेर निर्माणकै क्रममा आफ्नो नाम `दीप´लाई खुब प्रयोग गर्नुभएको छ ।
हुन त उहाँको नाम पनि त्यस्तै दुई अर्थ लाग्ने भएर पनि यसरी प्रयोग गर्न सजिलो भएको होला । प्रायः अन्तिम शेरमा प्रयोग भएको हुनाले मैले `दीप´लाई तखल्लुसकै रूपमा हेरेँ । उहाँको यो प्रयोग सफल, गजब लाग्यो `दीप´ शेरको भावसँग नि खुब जमेको ,तालमेल भएको देखिन्छ भने गजलकार आफै पनि ती शेरहरूमा मज्जाले सजिनु भएको छ, बाँच्नु भएको छ । हेरौँ , पढौँ तखल्लुस प्रयोग भएका सानदार शेरहरू
म यो दीप झैँ एक्लै रमाएर जल्नेछु
समयले खुसीको एक झिल्का दिएको छ
…
उज्यालो छरूँ चाहनाको म हरपल
जली दीपको म शिखा झैँ दुरुस्तै
…
बढ्यो अशान्ति बेस्सरी अचेल बुद्ध भूमिमा
जलाइ दीप प्रेमको स्वदेशमा खुसी छरूँ
…
`सलेदो´गजल सङ्ग्रह भित्रबाट मलाई सबैभन्दा मन परेको गजल भने यो रह्यो ।
दिल भित्र प्रेमको यो तिर्खा चरम रहेछ
यो तृप्ति प्यासको थप अर्को जनम रहेछ
पीडा यथार्थ हुन्छन् उन्माद भ्रम रहेछ
लाग्दैछ घाउ आफ्नै आफ्नो मलम रहेछ
भोगेर सब जगतमा निष्कर्षमा छु यस्तो
पत्थर समान मन छन् पत्थर नरम रहेछ
मन खोज्छ पुग्नलाई गन्तव्य सम्म उड्दै
मन उड्छ जान्छ सास्ती भोग्ने कदम रहेछ
चुपचाप बस्छ काँडा रक्षा गरेर फूलको
मुस्कान छर्छु भन्ने फूलमा अहम् रहेछ
समग्रमा ‘सलेको ‘ गजल सङ्ग्रह एउटा उत्कृष्ट कृति बनेको छ । यो सङ्ग्रह बारे सम्पूर्ण जान्न त सङ्ग्रह नै पूरा पढ्नुपर्ने हुन्छ । तर पनि मलाई लागेको चैँ गजलकारले प्राय: पुरानै परम्परागत शैलीमा रहेर शेरहरूको रचना गरेको पाइन्छ । जसको कारण दीपलाई आफ्नो छुट्टै अलग र पृथक् शैली मार्फत पहिचान गराउन यो सङ्ग्रह त्यति सफल भइहालेको देखिँदैन ।
अझै शेरहरूलाई चमत्कारिक तरिकाले प्रस्तुत गर्न , शेरहरूलाई अझ चाख लाग्दा, छिट्टै अरूका दिमागमा राज गर्ने बनाउन र आफ्नो फरक पहिचान बनाउन गजलकारले अब रचना गर्ने गजलहरूमा थप मिहिनेत गर्नुपर्ने आभास मलाई भएको छ । अर्को यस सङ्ग्रहमा `म´ पात्रको प्रयोग हदभन्दा धेरै नै गरिएको हो कि ? यसबारे पनि गजलकारले आगामी गजलहरूमा थोरै सोच्ने कि ? भन्ने प्रश्नले मेरो दिमागी संसारमा हङ्गामा मच्चाइ दिएको छ भन्ने गजलकारलाई जानकारी गराएँ ।
अन्त्यमा – गजलकार `दीप मिलन´ जिलाई आगामी दिनहरूमा सुखद गजल यात्राको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

