विकृति-विसङ्गति विरुद्धको सशक्त शब्दचित्र

इलामको नामसालिङमा जन्मिएर हाल अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आउनुभएकी बालकुमारी घिमिरे गजलिकाको गजलसंग्रह ‘निभेको लालटिन’ले समकालीन नेपाली समाजमा जरा गाडेका विकृति र विसङ्गतिलाई सुन्दर गजलका सेरहरू मार्फत उजागर गरेको छ । १ सय ५ वटा गजल संग्रह गरिएको यस संग्रहमा विषयगत विविधता पाइन्छ ।

केही दशक नेपालमा राजनीतिक र सामाजिक परिवर्तन भयो । त्यो परिवर्तनले गजलिका घिमिरेको पुस्ताको जीवनलाई ठूलो प्रभाव पारेको देखिन्छ । घिमिरेको ‘निभेको लालटिन’ले सजग, जुझारु, चेतनशील नागरिकमा परेको त्यही प्रभावको चित्र कोरेको छ । त्यसैले घिमिरेको यस गजलसंग्रहलाई त्यही प्रभावको गतिशील दस्तावेजको रूपमा हेर्न सकिन्छ ।

विषयवस्तुका हिसाबले गजलहरू समकालीन नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक र पारिवारिक परिघटनाको वरिपरि घुमेका छन् । नेपाली गजलका महारथी डा. धनश्याम न्यौपाने ‘परिश्रमी’बाट प्रशिक्षित गजलिकाका गजलहरू संरचनात्मक रूपमा जति मजबूत छन्, त्यति नै विषयवस्तुको प्रस्तुतिको मामलामा पनि प्रखर छन् ।

पचासको दशकयता लेखिएका गीत, कविता र गजलहरूले समकालीन नेपाली समाजमा मौलाएका विकृति र विसङ्गतिहरूलाई उदाङ्गो पार्ने प्रयत्न गरेको पाइन्छ । चाहे त्यो प्रेमको प्रसङ्गमा होस् या राजनीतिको प्रसङ्ग, सर्जकहरूको ध्यान तत्तत् क्षेत्रमा मौलाएका विरोधाभासपूर्ण प्रवृत्तिले खिच्ने गरेको पाइन्छ, जुन स्वाभाविक हो किनकि हामीले लेख्ने भनेकै हामी बाँचेको समय र यसले हाम्रो सामाजिक जीवनमा परेको प्रभावको बारेमा नै हो । विकृति र विसङ्गतिविरुद्ध आवाज मुखरित गर्ने समकालीन नेपाली साहित्यको प्रवृत्तिको रूपमा विकसित भइरहेको छ। गजलिका बालकुमारीका गजलहरूमा पनि ती प्रवृत्तिहरू छताछुल्ल भएर पोखिएको पाइन्छ ।

यस गजल संग्रहको शीर्षकले नै हाम्रो समाजमा मौलाएको विकृति र विसङ्गतितर्फ सङ्केत गरेको छ । उज्यालोको प्रतीक लालटिन निभेको छ भन्नुको मतलब अन्धकार व्याप्त छ भन्नु पनि हो । जे पनि अमानवीय कामहरू गरिन्छन् ती प्रायः अँध्यारामै गरिन्छन् । अँध्यारामा कर्तुत छोप्न सजिलो हुन्छ । अँध्याराले विकृति र विसङ्गतिलाई मौलिने अवसर प्रदान गर्दछ । अचेतनको अँध्याराले मानिसलाई सत्य देख्न नसक्ने बनाउँछ । त्यसैले ‘निभेको लालटिन’ शीर्षकले धमिलो पानीमा माछा मारेर आफ्नो अभीष्ट पूरा गर्ने मानवीय प्रवृत्तितर्फ पनि सङ्केत गरेको छ, जुन हाम्रो समय र समाजको एउटा प्रमुख रोग हो ।

समकालीन समयमा मौलाएको स्वार्थी प्रवृत्तिप्रति गजलिका आफ्ना सुरिला सेरहरू मार्फत खरो रूपमा प्रस्तुत भएकी छन् । स्वार्थीले आफ्नो फाइदा मात्र हेर्छ ।

“गिरेर हरदम बनेर स्वार्थी यथार्थ कुल्चिन्छ आज मान्छे

बनाई एक्लो कठिन प्रहरमा तरक्क तर्किन्छ आज मान्छे”

आफ्नो निहित स्वार्थ पूर्ति गर्न जस्तोसुकै हरकत गर्न पनि तयार हुने मानवीय प्रवृत्तिप्रति व्यंग्य गर्दै गजलिका लेख्छिन्, “स्वार्थी मान्छेले सत्यलाई सजिलै लत्त्याउन सक्छ । स्वार्थी मान्छेले लाज पचाएको हुन्छ । स्वार्थी मान्छेले आफ्नो मात्र भलाइ हेर्छ र अभर परेको बेलामा एक्लै छोडेर हिंड्न पनि पछि पर्दैन ।”

परोक्ष रूपमा माथि उल्लेखित सेरहरूमार्फत गजलिकाले स्वार्थी मानिसहरूसँग सचेत रहन सबैलाई आग्रह गरेकी छन् ।

जब राज्यसत्ता नै स्वार्थीहरूको चङ्गुलमा फस्छ, त्यहाँ विवेकशील र विद्वान् मानिसको कुनै हैसियत हुँदैन । वर्तमान नेपालको कानुनी राज्यको परिकल्पनालाई अराजक स्वार्थी राजनीतिज्ञहरूले कसरी पत्रु बनाएका छन् भन्ने कुरालाई गजलिकाले यसरी प्रस्तुत गरेकी छन्—

“बनाएर जत्था अराजकहरूको

टिकेको छ सत्ता निरर्थकहरूको

बनेको छ कानुन यहाँ खोस्टोजस्तै

रह्यो काम के खै विचारकहरूको”

देशमा भएको राजनीतिक विकृतिले निम्त्याएको नातावाद र कृपावादको मारबाट कोही पनि नेपाली अछुत छैनन् । देशको विडम्बना नै मान्नुपर्छ, हाम्रो देशमा राजनीति गर्ने मान्छेहरू सत्तामा पुगेपछि जनताको सेवामा नभएर आफ्ना र आफन्तहरूका स्वार्थपूर्तिमा तल्लीन हुन्छन् ।

“हाम्रो मतले जित्छन् आखिर

पोस्छन् आफ्नै साला साली”

गजलिकाले भने जस्तै साला साली पोस्ने परिपाटीले नै हाम्रो देशले प्रजातन्त्र आएको ४० औं दशक पार गरिसक्दा पनि विकासको फड्को मार्न सकेको छैन । राजनीति निजी स्वार्थमा केन्द्रित हुँदा सर्वसाधारण नेपालीले सामान्य रोजगारीको लागि पनि विदेशिनु पर्ने बाध्यता बनेको छ । युवाहरू विदेशिएपछि गाउँ शून्य भएको छ । देशै शून्य भएको छ । चाड पर्व शून्य भएका छन् ।

‘सारा युवा हिंडेछन् खाडीमा भाग्य खोज्दै छन् चाडपर्व सामु छन् शून्य गाउँ टोल’

हो, वैदेशिक रोजगारीले देशमा पैसा त भित्र्याएको छ तर त्यसका साथसाथै कयौं विकृति र विसङ्गति पनि छिरेका छन् । खुशी खोज्न विदेशिएका कयौं युवा बाकसमा फिरेका तीता यथार्थसँग कोही पनि अनविज्ञ छैन ।

“जाँदा विदेश धेरै हर्षित मुहार आज

निश्चल बनी कफनमा आयो रे लास उनको”

केवल एक सेरले वैदेशिक रोजगारीले दिएको खुशी भित्रको विरोधाभासलाई छर्लङ्ग पारेको छ । पैसा कमाएर जीवन परिवर्तन गर्ने सपना पूरा गर्न ऋणको भारी बोकेर विदेशिएका नेपाली युवाहरू कफनमा पोको परेर फर्किएका घटनाहरू हाम्रा लागि नौला रहेनन् ।

प्रेम र प्रणय गजलिकाका गजलहरूको अर्को मुख्य विषय हो । हुन त गजल लेखनको शुरूवाती चरणमा प्रणय नै यस विधाको मुख्य विषय हुने गरेको कुरा यस कृतिको भूमिकामा गजलकार हरिप्रसाद पौडेल ‘स्वर्णशिखा’ ले उल्लेख गर्नुभएको छ तर ती माया र प्रेम दर्शाउने गजलमा पनि हाम्रो वर्तमान समयमा तत् क्षेत्रमा मौलाएका विकृति र विसङ्गति औंल्याउन गजलिका चुकेकी छैनन् । माया र समर्पणलाई लत्याएर धन दौलतको पछि लाग्ने परिपाटीप्रति गजलिका यसरी टिप्पणी गर्छिन्—

“साथ त तिम्रो पाएँ सहजै जित्न भरोसा खुब गाह्रो भो

मेरो प्यार सधैं झुटो भो दौलत उनलाई प्यारो भो”

प्रेम भनेको समर्पण, विश्वास र भरोसामा मौलाउने कुरा हो । स्वार्थमा प्रेमको कुनै स्थान हुँदैन । दौलतले प्रेम किन्न सक्दैन । गजलिकाका शब्दमा भन्नुपर्दा—

‘दौलतसँग पियारी जोख्दा चोखो माया

पोख्नु छ पर्ने जोवन भुङ्ग्राको दहभित्र’

मायालाई धन र सम्पत्तिमा साट्नु भनेको भुङ्ग्राको दहमा हाम फाल्नु जस्तै हो भन्ने कुरा सम्झाउँदै गजलिकाले मानिसहरूलाई चनाखो भएर सम्बन्ध निर्वाह गर्न सचेत गराएकी छन् ।

प्रवासमा बसेर साहित्य सिर्जनामा तल्लीन गजलिकाको गजलहरूमा प्रवासको अनुभव र अनुभूतिले चाहिं त्यति धेरै ठाउँ पाएको देखिंदैन तर वैदेशिक रोजगारी र त्यसले सिर्जना गरेका घटना र परिघटनाले भने गजलिकाको ध्यान राम्रैसँग खिचेको देखिन्छ । विदेशमा बसेर पनि आफ्नो गाउँ-ठाउँ प्रतिको अगाध प्रेम र अपनत्वलाई भने गजलमा गजलीय अभिव्यक्ति दिन गजलिका चुकेकी छैनन् ।

‘स्वर्गजस्तो गाउँ मेरो जान्न अब छोडी

गर्छु श्रम आमा ! यतै पछि हर्क हुनसक्छ’

माथि प्रस्तुत गजलका सेरमार्फत् गजलिकाले स्वदेशप्रतिको अगाध आस्था मात्र व्यक्त गरेकी छैनन् आफ्नो गाउँठाउँको माया गर्न र आफ्नै देशमा श्रम गर्न प्रेरित पनि गरेकी छन् । तर आफैँ विदेशमा बसेर ‘गर्छु श्रम आमा यतै पछि हर्क हुनसक्छ’ भन्नु आफैँमा एउटा विरोधाभासपूर्ण अभिव्यक्ति हो । तर त्यसमा गजलिका घिमिरे मात्र एक्लै छैनन् । त्यो विरोधाभास धेरैजसो प्रवासमा बसेर आफू जन्मेको देशको बारेमा लेख्ने सर्जकहरूमा लागू भएको देखिन्छ । मन स्वदेशकै लिएर पनि नेपालीहरू प्रवासी हुन बाध्य भएका होलान् सायद ।

अन्त्यमा: ‘निभेको लालटिन’ गजल संग्रहले निभेको वा निभ्न खोजेको प्रेमको, समर्पणको, सहअस्तित्वको, चेतनाको र विधिको शासनको उज्यालोलाई पुनः नयाँ जीवन दिनुपर्ने कुरालाई मुखरित गरेको छ । भावना प्रदान गजलहरूमा प्रयुक्त कतिपय विम्ब र प्रतीकहरूले प्रस्तुतिलाई प्रखर बनाएका छन् । भावमा विविधता र सरलता जगलिकाका जगलका विशिष्ट विशेषता हुन् । आशा गरौँ आगामी सिर्जनाहरूमा देशप्रेम, सामाजिक सम्बन्ध सँगसँगै गजलिका घिमिरेका प्रवासका अनुभवहरूले गजलका सेरहरू बनेर स्थान पाउनेछन् । गजलिकालाई धेरे धेरै शुभकामना !