वर्तमान नेपाली साहित्यको काव्यमा लोकप्रियताको शिखरमा छ मुक्तक । छोटो, सु–स्वादु र मीठासपूर्ण अनि चोटिलो भावद्वारा प्रहार गर्नसक्ने खुबीको कारण पनि मुक्तक प्रतिको आकर्षण बढेको छ । भनौं चलेको छ साहित्यमा ।

मायाप्रीति, प्रणय भावमा मात्र नभएर अहिलेको समाजमा भएका विभिन्न विकृति र विसंगतिप्रति कडा शब्दवाण प्रहार गरेर मुक्तक लेख्ने प्रचलन आएको छ । चतुष्पदीय संरचनामा लेखिने मुक्तकले चार हरफमा सबै कुरा निष्कर्षमा पुर्‍याउने खुबी राख्छ । समय कम लाग्ने, रोचक हुने र मज्जाले लक्ष्य भेदन सहित टुङ्ग्याउने भएकोले मुक्तक वर्तमानमा लोकप्रिय हुनसकेको हो भन्ने मेरो ठम्याइ छ । अनि चोटिलो, भावमा गहनता भएको, थोरै शब्दमा धेरै कुरा अभिव्यक्त गर्ने भएका मुक्तकहरू सबैले मन पराउँछन् । मुक्तकमा अनुप्रासको महत्त्व हुन्छ । अझ अनुप्रासमा नयाँ नयाँ शब्द, बोलीचालीमा कम सुनिएका शब्दहरू प्रयुक्त भए भने सुनमा सुगन्ध हुन्छ जस्तो लाग्छ ।

यसै क्रममा मैले चिनेकी दिदी सुभद्रा अधिकारीको ‘शुभारम्भ’ नामक मुक्तकसंग्रह हात परेको छ । यो आद्योपान्त पढेपछि केही शब्दहरू लेख्न मन लागेर बसेको छु । पुस्तक पल्टाउँदा केही थान मुक्तक सरसरती पढ्दै म ढुक्क बनें । नेपालमा भीमदर्शन रोका, कृष्णप्रसाद पराजुली, रत्न शमसेर थापा, चेतन कार्की, यादव खरेल आदि अघिल्ला र अग्रज पुस्ताकै लाइनमा लामबद्ध छिन् मुक्तककार अधिकारी । उनीहरूकै शिल्पशैलीमा मुक्तकको दौडमा सामेल देखें मैले । अग्रजहरूले खनेको मुक्तकको मार्गमा अगाडि बढ्न यत्न गरिरहेको पाएँ ।

सुभद्रा अधिकारीको शुभारम्भभित्र विषयका दृष्टिले विभिन्नता बोकेका २७० थान मुक्तकहरू समावेश छन् । उनको अध्यापनको पेशाले मुक्तक लेख्न धेरै सघाउ पुर्‍याए जस्तो देखिन्छ । शब्दहरूको चयन गर्दा अनुप्रासमा कम प्रयोगमा आउने शब्दहरूको पनि प्रचुर प्रयोग देख्दा मेरो शंकाले सुविधा पाएको जस्तो लाग्छ ।

गाउँले छोएका, शहरको बाध्यता, प्रकृतिको सुन्दरताको चिहाइ, सर्वसाधारणका पीडा, भोगाइ, सत्कर्म गर्ने प्रेरणा, अभिभावकको सन्ततिप्रतिको चाह, आमाको माया, मायाप्रेम, आशक्ति, सकारात्मक सोचका ऊर्जाशील भावना, देशप्रेम, विकृत राजनीतिप्रतिको व्यंग्य, पशुवध प्रतिको विमति, महँगीको मारमा परेका आममान्छेका पीडा, हत्या, बलात्कार जस्ता आपराधिक कृयाकलाप गर्नेहरू प्रतिको कटाक्ष सबै सबै विषयवस्तुहरूले मुक्तकहरू सजिएका फूल जस्ता देखिन्छन् । मुक्तकमा विषयगत विविधता बहुफूल रूपी बगैंचा जस्तो लाग्छ । धर्मका सत्कामहरूको वर्णन, असल भावनाको उच्छ्वास, मिहेनत र श्रमप्रतिको विश्वास र सम्मान गर्न सिकाउने लाग्छन् मुक्तकहरू । यसमा उनका भोगाइका भावहरू मज्जैले अभिव्यक्त भए झैं लाग्छ । पुरातन कुसंस्कारलाई घृणाले उजिल्याएका मुक्तक पढ्न पाइन्छ । यसरी हर क्षेत्र, हर विषयमा रचिएका मुक्तक छन् यस संग्रहभित्र ।

सरल भावमा बगेका छन्, सरसरती बग्छन् नदी जस्तै । बोल्छन् मज्जाले । पाठकले रोचकतासाथ पढ्न पाउँछ । व्यापक विषयवस्तुका दृष्टिगोचर सहित मुक्तकहरू आएका छन् । आफ्नोपनमा अडिएका छन् मुक्तकहरू । पाठकले आफ्नै समस्या पढ्न पाउँछ । आफ्नै भोगाइको अनुभूति गर्छ । आफू र आफ्नै वरिपरि अल्झिएको महसूस गर्छ । यो नै सुभद्राका मुक्तकको विशेषता हो । शक्ति हो । हरेक विषयमा मुक्तककारको अनुभूतिलाई पाउन सकिन्छ मुक्तकहरूमा ।

स्वार्थ जोडिनु मित्रता होइन भन्दै मित्रताको बन्धन त सुख र दुखमा उत्तिकै साथ सहयोग दिनु मित्रता हो भन्दै यस्तो मित्रतामा उनी जोड दिन्छिन् र भन्छिन् :

मित्र त यस्तो होस् मनले जतिखेर सोचिरहने

प्रत्येक खुशीमा उसको समीपता खोजिरहने

दुनियाँले बखान गरुन् हाम्रो मित्रताको सधैं

नहोस् कहिल्यै काँडा बनी आफूतिर सोझिरहने ।

(पृ.८)

असल छिमेकी हुनका सहजता र लोभी, लालची गिद्धे दृष्टि राख्ने छिमेकीको कुरा मुक्तकमा मुखरित भएको छ । यस्तै भाव अभिव्यक्त गरेकी छिन् । छिमेकी मुलुकले नेपाललाई दिएका दुःख र व्यवहारले आजित हुँदा नि नचेत्ने नेपाली स्वभावको प्रकटीकरण देख्न सकिन्छ यहाँ :

पश्चिमका छिमेकी कहिल्यै हामीसँग खुशी भएन

अन्य छिमेकीसँग त हाम्रो कहिल्यै रुचि भएन

अनेकपल्ट लात र मार खाँदा पनि नचेत्ने हामी

ऊसँग नटाँसिई स्वतन्त्र भएर बाँच्ने हुती भएन ।

(पृष्ठ १३)

अहिलेको समय जहाँ पनि, जुन क्षेत्रमा पनि ठग्ने प्रवृत्ति छ । कामचोर बन्ने, औपचारिक मात्र हुने प्रवृत्ति छ । सरकारी सेवामा पनि झनै यस्तो पक्ष विकराल बनिरहेको अवस्थामा त्यस्ता कामचोर प्रवृत्ति बोकेका कर्मचारीप्रति मुक्तक मार्फत दर्बिलो शब्दमा झापड दिएकी छिन् । यो मुक्तक अत्यन्तै बलशाली देखिन्छ । हेरौं :

आहा टेबलमा खुट्टा, गालामा हात क्या मज्जा छ

वल्लो कोठा र पल्लो कोठा गर्दै बात क्या मज्जा छ

बेला बेलामा चिया कफी टेवुल मै आउँछ त्यहाँ

च्याट सङ्गीका साथ फाइलको खात क्या मज्जा छ ।

मुक्तकहरू इन्द्रेणी मुहारमा आएका जस्ता लाग्छन् । जीवनका सप्तरङ्गी आयामले भरिएका छन् । इमानदारीको रङ खुइलिंदै गरेको वर्तमान बेथिति र अराजकता हाबी भएको समयका यथार्थ तस्वीर बनेर मुक्तकहरू कोरिएका छन् । नहुनुपर्ने कुरा भैदिएपछि, आशा र अपेक्षाहरू गुम्ने अवस्था देखिएपछि, स्वार्थका चास्नीमा सबै क्षेत्र डुब्ने भैसकेपछि कुन कविमन द्रवित नहोला । कुन कविको हृदय नपोल्ला अनि किन अक्षर मार्फत आक्रोश नपोखिएला र ! यस्तै छ सुभद्राको मन पनि । जे जे कुराले उनलाई पोल्छ त्यसका विरुद्ध विद्रोह बोल्छिन् ।

अधिकारीका दार्शनिक भावहरू पनि मुक्तकमा मुखरित बनेर आएका छन् । भावनाका झुल्काहरू उत्ति नै धेरै पोखिएका छन् । मनका चाहहरूको खात उस्तै अग्लो छ । आशा र अपेक्षा अनि जीवनप्रतिको आशावादीता भनिसाध्य छैन । मनका गुम्फनहरू निस्किएका छन् धेरै । प्रेममा धोका नहोस् पवित्र चाह छ । भावी पुस्ताले अग्रजबाट सिक्दै जाने हुँदा अग्रज पुस्तामा भएका असल कुराहरू पुस्तान्तरण होस् भन्ने सकारात्मक अभिलाषा छ । अध्यात्मकताको पर्याय लाग्छ कतिपय मुक्तक । अरूको दुःखमा दुखित र सुखमा खुशी हुन सिकाउने कवि सुभद्रामा आफ्नाबाट कटुवचन र दुर्व्यवहार हुँदा कति मन दुख्छ उनको भोगाइ छ । यसैले भन्न सकिन्छ मुक्तक विविध विषय, भाव र उद्देश्यले आएका छन् ।

शब्द चयनका हिसाबले सरल, सुबोध्य छन् । भाषाशैली त्यस्तै सरल छ । क्लिष्टता सुभद्रालाई स्वीकार्य छैन । चतुष्पदमा सबै मुक्तक संरचित छन् । सूक्तिमयताले निपूर्ण छन् । विषयगत विविधताले भरिएका छन् मुक्तक । निराशाबाट कोशौं दूर रहेर पाठकलाई आशावादीता र सकारात्मकताको भाव दर्शाउने शुभारम्भ भित्रका मुक्तकहरू पठनीय छन् । ‘शुभारम्भ’ पहिलो हो अन्तिम होइन हार्दिक शुभकामना ।