जब डा. नवराज केसीकृत शून्यको मूल्य पढेँ तब मभित्र प्रश्नहरू एकाएक दौडिन थाले । शायद अरू पाठकलाई पनि हुँदो हो त्यस्तै म जस्तै ।

प्रश्नको सूचीमा देखा पर्छ – लेखनका लागि कसरी एउटा डाक्टरले समय व्यवस्थापन गरे होलान् ? यति सुन्दर कथावस्तु बुन्ने कला कहाँबाट बनेको  होला ? साँच्चिकै पात्र वास्तविक नै होलान् त ? कति सरल भाषाशैली ? कति मिठा बिम्ब र प्रतीकहरूको  प्रयोग ?

यसमा तपाईंले पनि आफ्ना अरू प्रश्नहरू थप्न सक्नुहुने छ । हरेक मान्छे विचारबाटै फरक हुन्छ । जुन कुरा किताबले बोल्छ नै ।

पुस्तकमा हिक्मतबहादुरले डाक्टरप्रति देखाएको प्रीत मानवीय स्वभाव हो । एउटा पाठकले जब किताब पढ्छ, उसलाई कहीँ कतै किताबले छुँदा उसमा पनि लेखकसँगको  प्रीत बढ्ने रहेछ ।

दैलेखी, कालिकोटे, कर्णालीका ती जनताले डाक्टरसँग बाँडेको प्रीत, ठिक त्यस्तै यो   किताबले पाठकलाई पनि लेखकसँग प्रीत गाँस्ने चाहाना बढाउँदो  रहेछ ।

त्यही तीव्र प्रेमको आशक्तिले इमेल लेखेर प्रीत साट्दो रहेछ । १०० औँ विद्यार्थीहरूलाई सयौँ किताब पठाएर प्रीत बाँड्दो रहेछ ।

सुरुमै मेरा जिज्ञासासँगै मेरा विद्यार्थीहरूका पनि पक्कै जिज्ञासा होलान् । नहुने कुरा हुँदैन ।

संसारमा सबैभन्दा बढी साहित्यमा आमाकै बारेमा लेखिएको  होला ।

हुन त मैले पनि त्यति धेरै किताब त कहाँ पढेको छु र !

‘सुप्लाको  हवाईजहाज’ कविता सङ्ग्रहमा कवि भूपिनले आमाका बारेमा पाँचवटा कविता लेखेथे ।

राजेन्द्र सलभले ‘कविताको  रङ्ग’ कविता सङ्ग्रहमा पनि त्यस्तै चारवटा कविता नै लेखे ।

अर्का चर्चित कवि तीर्थ श्रेष्ठले ‘धर्सैधर्साको  चक्रव्यूह’ कविता सङ्ग्रहमा पाँचवाट आमा शीर्षकमा कविता लेखे ।

रसियन लेखक मेक्सिम गोर्कीले त विश्व चर्चित आमा उपन्यास नै लेखेथे ।

शून्यको  मूल्य पनि ती आवाजविहीन कर्णालीका आमाहरूको  कथा हो, जहाँ न कुनै छलकपट छ, न कुनै तँछाडमछाड छ, न कुनै सुनियोजित षडयन्त्र नै छ ।

म कर्णालीको  दुःख, पीडा बारे त्यति बोल्ने पक्षमा छैन किनकि त्यो खल्लो हुन्छ । कर्णालीबारे धेरै लेखिए, बोलिए, भनिए…

नेपोलियन बोनापार्टले भनेका थिए,  “तिमी मलाई एउटी असल आमा देऊ, म तिमीलाई एउटा राष्ट्र दिने छु ।”

बोनापार्टले कति गहिरो कुरा गरेका रहेछन् । म अहिले त्यसको  अन्तर्य बुझ्दै छु ।

हामीले भनिएका विकसित देशहरूमा मातृत्व स्याहारका विषयमा उनीहरूले चालेका कदम यदाकदा पढेको  र अनुभवीका कुराहरू सुनेकै हो । म तिनको  मर्म अहिले अनुभूत  गर्दै छु । अनि भन्दै छु । र त सभ्य र विकसित छन् ।

बेलायतका पूर्व प्रधानमन्त्री डेविट क्यामरुनले हजुरआमाहरूका बारेमा भनेका विचार पढिसकेपछि म एकछिन किताब पढ्न छाडेर साेच्न बाध्य भएको  थिएँ ।

अनि मेरी स्वर्गीय हजुरआमालाई सम्झिएँ ।

‘सावाको  भन्दा व्याजको  माया’ भनेको  कुरा म अहिले झलझली सम्झिरहेछु ।

भौतिक रूपमा टाढा भए तापनि सञ्चारले हामीलाई नजिक तुल्याएको छ । गाउँबाट आमाबुबासँग कुरा हुँदा पहिले नातिनातिना कै सञ्चोबिसञ्जो हुने गर्दछ । म त्यसको  मर्मबोध गरिरहेछु ।

उत्प्रेरणा असाध्यै ठुलो कुरा रहेछ । कसैलाई उत्प्रेरित बनाउनु चानेचुने कुरा होइन । थोरै उत्प्रेरणाले पनि जीवनको  बाटोलाई सहज, सरल बनाउने कुरामा कुनै दुई मत नहोला । पुस्तकमा डाक्टरले जुम्ल्याहा छोराछोरीका बाबुआमालाई दिएको  उत्प्रेरणा यसैको  एक नमुना थियो ।

ओहो  ! मस्तिष्कको  बनावट, खासमा प्राणीको  विकास र वृद्धिका कुराहरू दस महिना आमाको  पेटमा सेट भएर आउँदा रहेछन् ।

रिसाउने, खुशी हुने, लेख्न-पढ्न मन लाग्ने वा नलाग्ने, भावनात्मक बन्ने, हिंसात्मक बन्ने, खेल्न मात्रै मन लाग्ने, साहित्य सिर्जना गर्न मन पराउने, प्रेममा पर्ने, आफ्ना संवेगहरूलाई नियन्त्रणमा राख्न नसक्ने, खाली बाहाना मात्रै गर्ने, छल्ने, झुक्याउनेजस्ता संवेगात्मक कुराहरूको  बीजारोपण कसरी हुँदो रहेछ भन्ने कुरा फेहरिस्त लेखकले अति सजिलो भाषामा लेखेका छन् ।

‘खरायो’ कथा, पाकिस्तानमा हजुरआमाले पालेका नाति-नातिनीहरूमाथि गरिएको  अनुसन्धान, ‘रोमानियाका सम्राट्को’ कथा, क्यानडाका वैज्ञानिकले गरेको खोज अनुसन्धान, ‘चिम्पान्जीको’  कथा यस्ता उपकथाले किताबबाट कसैलाई पनि छाडेर अन्यत्र जान दिँदैन । लेखकले गजबसँग यी सन्दर्भहरू जोडेका छन् ।

सरलता शक्ति भनेझैँ । पुस्तकको  अर्को बलियो पक्ष भनेको  भाषा हो  ।

हिजोआज कनेर कसले पढ्ने ।

हाम्रा संविधान, नीति नियम किन यसरी नै सरल भाषामा लेखिँदैनन्, सबैले बुझ्ने गरी ।

किन कुरा घुमाएर, बटारेर, बङ्ग्याएर लेखिन्छन् ।  कि त्यस्ता दस्ताबेज त्यसरी नै लेख्ने हो  वा लेख्न नमिल्ने हो  कि । म सोच मग्न छु ।

० ० ० ०

केही सुन्दर वाक्यहरू:

  • कर्णाली नदीको  बीच छिप्पिएको  पत्थर जस्तो । न टुक्रिएर बग्न सक्छ न त्यहीँ बसिरहन मन लाग्छ ।  प्रथम संस्करण (पृष्ठ ४३)
  • … … कपालको  चुल्ठो झैँ ! माकुराको  जालो झैँ ! दुबोको  झ्याङ झैँ !   (पृष्ठ ४९)
  • पूरै जीवनचक्र ढुङ्गा बोक्नु र फुटाउनु थियो अनि जीवन चाहिँ ढुङ्गा जस्तै ।  (पृष्ठ ७१)
  • सगरमाथाको  देशमा सगरमाथाभन्दा अग्ला धेरै  कुराहरू छन् । तीमध्ये जातीय विभेद पनि एउटा हो  । …जातीय विभेदको  सगरमाथा चाहिँ हामीले खै  कहिले पगालौँला । (पृष्ठ ७३)
  • देश भनेको  नागरिकता र जमिनको  हिस्सेदारी मात्रै होइन रहेछ । केही नपाएर पनि माटोलाई मनमा सजाएकालाई देशले भने कहिले सजाउला, कसले भन्न सक्दो हो  खै ! (पृष्ठ ७५)
  • जब जीवन आफै चिनी हुन्छ, गुलियोको  खोजको  के अर्थ रहन्छ र ! (पृष्ठ ७८)
  • फुल्नै लागेका, फुलेका, फुलिसकेका फूलभन्दा झरेका फूल बढी बास्नादार हुने रहेछन् । … (पृष्ठ ८१)
  • …  मरेर कहाँ स्वर्ग गइन्छ र ? मरेर त माटोमै जाने हो  । (पृष्ठ ९७)
  • …  दुर्गमका डाक्टरहरूको  सबैभन्दा ठुलो प्रेरणा दुर्गमता नै त हो  नि ! (पृष्ठ १२७)
  • विभेदबिनाको  समाज संसारको  सबैभन्दा बलियो समाज हो  । (पृष्ठ १८६)
  • उसलाई कसैले बुझेन …मान्छेलाई बुझ्नु सानो कुरा कहाँ हो  र ! (पृष्ठ २१७)
  • पैसा सक्किय, सास सक्कियन तेसैले । (पृष्ठ २२३)

पढ्दै जाँदा यस्ता थुप्रै मिठा शुक्तिमय वाक्यहरू भेटिन्छन् पुस्तकमा ।

 

पुस्तकभित्रः

पुस्तकमा कथाक्रमलाई अगाडि बढाउने क्रममा पाँचवटा शीर्षक दिएका छन् । पहिलो अध्यायमा ‘बुधेकी फुपूआमा’ – यसभित्र पनि बुधेकी फुपूआमाको  रहस्यमय कथा, छुवाछुतले थिलथिलिएको  समाज, जीवनसँग जोडिएको  सङ्गीत, बौलाहा पात्रमार्फत जीवनबारे दिइएको  जीवन दर्शन  मलाई वाह ! भन्न मन लागेको  विषय । अनि स्वयम् लेखककै आफ्नो वास्तविक कथा पनि उत्तिकै चाखलाग्दो अनि प्रेरणादायी पनि ।

दोस्रो अध्यायमा ‘बुबालाई चिठी’- यसभित्र उपकथाका रूपमा भीमकाजीको  कथा, १६ वर्षे जुम्ल्याहा बच्चाबच्चीकी आमा गोमाको  कथा अनि स्वयम् लेखकको  कथाले कसको  मन पग्लिँदैन र !

पढ्दै जाँदा बाबु  चिठी कहाँनेर लेखिँदो रहेछ भन्रे कौतूहलले तानिरहन्छ पाठकलाई । लेखनले कति सरल भाषामा चिठी लेखिदिए । सबैलाई एकपटक त्यो चिठीले तान्छ तान्छ ।

अध्याय तीनको ‘भेडिनी कान्छी’भित्र भेडिनी कान्छीसँग जोडिएका पात्र हिक्मतबहादुरको  कथा, कर्णालीको  सामाजिक, आर्थिक, शैक्षिक विकासलाई सरल तरिकाले देखाउने प्रयास भएको  छ ।

त्यहाँको  स्वास्थ्य सेवाको  अवस्था, स्वास्थ्य प्रणालीमा विश्वमा भएका अभ्यासका कुरा । स्विट्जरल्याण्डको  प्रजातान्त्रिक पद्धतिको  कुरा । लेखकको  अध्ययनको  गहिराइलाई सलाम गर्न मन लाग्छ ।

तिन खुट्टे भेडिनीको  कथामा कताकता लेखक फेन्टासितिर त कुदेका होइनन् मलाई लागेको  कुरा ।

‘मृत्युपछिको  जीवन’ अध्याय चारमा बाल मनोविज्ञान के हो, त्यसको  बोधका लागि नानी आमाको  कथा पर्याप्त देख्छु म ।

अग्रवालजीको  कथामार्फत् लेखकले थोरै भए पनि कर्णालीको  इतिहास, सामाजिक रहनसहन आदि ठ्याक्क पारेर जोडेका छन् ।

मान्छेहरू आफ्नो दुःख अरूलाई बुझाउन ‘मलाईजस्तो दुःख त काला बादललाई पनि छैन’ भन्छन् । मान्छे हत्तपत्त मर्ने जात चाहिँ होइन भन्ने कुराको  ज्वलन्त उदाहरण कर्किनी बज्यैको  कथा । उनको  जीवन सङ्घर्ष  । मेरो मगजले बुझेको  कुरा ।

कर्किनी बज्यै नेपालको  कर्णाली भन्ने ठाउँकी आमा, नेपाली आमाहरूकी प्रतिमूर्ति । दयामायाकी खानी । स्वयम् आमाकी प्रतिकृति ।

पुतली आमा आफ्नो श्रीमानका लागि देखाएको  अदम्य साहस, आमाहरू कहिल्यै पनि कमजोर अनि  स्वार्थी हुँदैन भन्ने कुरा पुतलीआमाको  सादगीपूर्ण जीवन काफी छ ।

० ० ० ०

र अन्त्यमाः

जीवनको  एउटा मोडमा सबै मानिस बाबुआमा बन्ने नै हो, केही अपवादबाहेक । व्यक्ति र उसको  व्यक्तित्व बन्न आमाको  साथ चाहिन्छ भन्ने कुराको  जानकारी २१ औँ शताब्दीको  मान्छेले नबुझेको  कुरा पक्कै पनि होइन । तर यो कुरालाई हृदयतः अनुभूत गर्नु अनि व्यवहारमा प्रयोग गर्नु । लामो समयसम्म दिमागमा यो भावना राखिरहनु अनि त्यहीअनुरूप व्यवहार गरिरहनु साह्रै गाह्रो कुरा । सायद, यो कुरा अम्मल खाने अम्मलीहरूसँग मात्र ठ्याक्कै मिल्ला  ।

मनन गरिहेरौँ, कुरा र व्यवहार मिलेको भए समाज, राष्ट्र अनि विश्व नै सुन्दर हुने थियो । शासकहरूले देश विकासको गुरुयोजना बनाउँदा आमा र बच्चालाई केन्द्रबिन्दुमा राखे राम्रो हुने थियो । एउटा अभिभावक, प्रशासक, शिक्षक र नागरिकले मानव र मानव मनोविज्ञान बुझ्न सके समाज धेरै सुन्दर बन्थ्यो ।

पुस्तकले यी कुराहरू बोलेको  छ ।