आन्थ्रोपेन, बेल्जियम । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियमको १०औँ अधिवेशन सम्पन्न भएको छ। मार्च २९, २०२६ मा सम्पन्न अधिवेशनले लोकनाथ शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा गोपाल दाहाल र जमुना बास्तोला गैह्रे, महासचिवमा सन्तोष न्यौपाने, सचिवमा विष्णु सापकोटा तथा कोषाध्यक्षमा अच्युत ढकाल चयन हुनुभएकाे  छ । सदस्यहरूमा मुना राई, मुना ताम्राकार, रिता पाण्डे, लिलाधर पन्त र दिनेश पोखरेल रहनुभएकाे छ । अधिवेशनले थप दुई सदस्य मनोनयन गर्ने अधिकार समितिलाई दिएको छ । यसैगरी परमानन्द सापकोटा, विमल गिरी, ब्रह्मदत्त वाग्ले, मोहन खत्री र दीपेन्द्र केसीलाई सल्लाहकार चयन गरिएको छ ।

वि.सं. २०६३ मा स्थापना भएको अनेसास बेल्जियमले प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै आएको छ । कार्यक्रममा अनेसास केन्द्रका अध्यक्ष सर्वज्ञ वाग्ले र वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीको शुभकामना सन्देश प्रस्तुत गरिएको थियो।

निवर्तमान अध्यक्ष सौरभ कारंजितको अध्यक्षता तथा बेनेलक्सका लागि नेपाली राजदूत सेवा लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दुई कृतिको संयुक्त विमोचन गरिएको थियो । पत्रकार तथा लेखक वसन्त पराजुलीको उपन्यास ‘बखान’ र नवनिर्वाचित अध्यक्ष शर्मा कृत ‘परदेशमा गुमनाम’ लोकार्पण गरिएको हो ।

सो अवसरमा राजदूत लम्सालले अनेसासका गतिविधिमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मानसमेत गर्नुभएको थियो। कार्यक्रममा कमल पन्थी, तेजेन्द्र कंडेल, ललित पोखरेल, कृष्ण न्यौपाने र श्रीओम सापकोटालगायतको उपस्थिति रहेको थियो । वक्ताहरूले प्रवासमा रहेर पनि साहित्यमार्फत नेपाली पहिचान जोगाउने प्रयास प्रशंसनीय रहेको धारणा राख्नुभएकाे थियाे ।