कवि लालगोपाल सुवेदीद्वारा लिखित ‘ चेतन प्रवाहमा सारेगमप (लामो कविता ) कृति अमेरिकाको बोस्टन सहरस्थित पशुपति बुद्ध फाउन्डेशनको सभाहलमा विमोचन भएकाे छ  ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक तथा  साहित्यकार होमनाथ सुवेदीले बोस्टनका साहित्यकार तथा साहित्यानुरागीका माझमा उक्त कृतिको विमोचन गर्नुभएकाे हाे ।  विश्व प्रेम कविता अभियान तथा अनेसास संस्थापक होमनाथ सुवेदी, साहित्यकार मोहन सिटौला तथा प्रेम कविता अभियानकर्ता कवीन्द्र् सिटौलालाई सम्मान गरिएको उक्त कार्यक्रममा नेपाल प्रेम र शान्तिको उद्गम भूमि हो भन्ने धारणा सबै वक्ताहरूले प्रकट गर्नुभएकाे थियाे  । कवि लालगोपाल सुवेदीले ‘प्रेम र शान्ति’ शीर्षकको कविता वाचन गर्दा सम्पूर्ण श्रोतागण मन्त्रमुग्ध बनेको थियो । प्रमुख अतिथि होमनाथ सुवेदीले कवि लालगोपालका कविता विशिष्ट कोटिका हुने धारणा राख्नुभएकाे थियाे । साहित्यकार मोहन सिटौलाले कवि लालगोपालका सबैजसो कविता उच्च गुणस्तरीय हुने तथ्य औंल्याउनुभयाे  ।

अनेसासका सल्लाहका गोबर्धन पूजाले बोस्टन अमेरिकाकै साहित्यिक राजधानी हो भन्ने विचार व्यक्त गर्नुभएकाे थियाे  । अभियन्ता कवीन्द्र सिटौलाले प्रेमको महत्त्व दर्शाउनुभएकाे थियाे  । हाम्रो संवाददाताले कृतिबारे कवि लालगोपाल सुवेदीसंग जिज्ञासा राख्दा उहाँले ‘चेतन प्रवाहमा सारेगमप ‘बारे थप जानकारी दिनुभएकाे थियाे  । सुवेदीका अनुसार यो एक सय ६० पृष्ठमा फैलिएको लामो कविता हो ।पाश्चात्य जगतका साहित्यकार जेम्स ज्वायस, भर्जिनिया उल्फ आदिले प्रतिपादन विकसित गरेको चेतन प्रवाह शैलीको प्रयोग यसमा गरिएको छ । नेपाली साहित्यमा शंकर लामिछाने, मोहन कोइराला, इन्द्रबहादुर राई, जगदीश शमशेर राणा आदिले यस शैलीको प्रयोग आफ्ना कृतिमा गर्नुभएकाे  छ  ।

सुवेदी भन्नुभयो – “यस कृतिमा मैले समय र भूगोलको लामों र फराकिलो फेरो उधिनेको छु । यसमा  तीन सय वर्षभन्दा बढी समयको नेपाल निर्माण क्रममा मगर, गुरुङ, किराँत, नेवार , शेर्पा आदि जात जातिको वलिदानी र पुस्तान्तरण हुन नसकेको आत्मसम्मान भावको पीडा अभिव्यक्त छ । यसमा हिमाल, पहाड, तराईका नेपाली जातिका साँस्कृतिक योगदान र प्रथम तथा दोस्रो विश्वयुद्धमा लडेका नेपाली सिपाहीका सङ्घर्षगाथादेखि वर्तमान नेपालको, प्रतिभा पलायन, गुम्दै गएको  आत्मसम्मान, ह्रासोन्मुख सद्भाव र मानवता, व्यक्तिवादिता, पारिवारिक विखण्डन, वातावरणीय ह्रास लगायतका बहुविषयलाई चेतन- प्रवाह शैली, क्रमभङ्ग स्वप्न लेखन पद्धतिद्वारा प्रकट गर्ने प्रयास मैले गरेको छु ।”