लालगोपाल सुवेदी स्थापित साहित्यकार हुनुहुन्छ । नेपाल छँदै दर्जनौँ पुस्तक प्रकाशित गर्नुभएको र डेढ दर्जन राष्ट्रिय स्तरका पुरस्कार जित्नुभएको सुवेदी विगत डेढ दशक यता अमेरिकाको बोस्टन रहँदै आउनुभएको छ । अमेरिका प्रवेश गरेको दिनबाटै अनेसासका गतिविधिमा सहभागी बन्दै आउनुभएको उहाँले केन्द्रमा सचिवको जिम्मेवारी पूरा गरिसक्नु भएको छ भने अनेसास दर्पण र ‘अन्तर्दृष्टिको प्रधान सम्पादकको जिम्मेवारी पूरा गर्नुभएको छ । आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।
प्रस्तुत छ, हाम्रा संवाददाताले उनीसँग गरेको कुराकानी:–
नेपाली साहित्यका क्षेत्रमा आफूलाई चिनाउनुपर्दा कसरी चिनाउनुहुन्छ ?
– सानैदेखि साहित्यमा सहभागी भई राष्ट्रिय स्तरमा चिनिन थालेकै चालिस वर्ष पूरा भएछ । बाल साहित्यकारका रूपमा नेपाली साहित्यमा मेरो प्रवेश भएको हो । वि.सं. २०४० सालतिर मेरा बालरचना रेडियो नेपालको बालकार्यक्रममा प्रसारण हुने गर्थे । त्यति बेला हवाई पत्रमा राम्रा अक्षरमा बालकविता लेखेर पठाउने चलन हुन्थ्यो । रेडियोबाट रचना प्रसारित भए पछि स्कुलका साथीभाइ र आफन्त, नातेदार आदिका बीचमा महिनौँसम्म पनि चर्चा भइरहन्थ्यो । २०४० सालमा त बालक पत्रिकामा मेरो कविता नै छापिएको छ ।
क्याम्पसमा प्रवेश गरेपछि वर्षेनी राष्ट्रिय स्तरका पुरस्कार जित्दै गएको इतिहास छ । मैले २० वर्ष नेपाली भाषा र साहित्य नै पढाएँ । कविता, गीत, निबन्ध, समालोचना, नाटक र व्याकरण विधामा मेरा १९ वटा पुस्तक प्रकाशित भइसकेका छन् ।
अनेसासमा यहाँको संलग्नता नि ?
– म अमेरिका आएको डेढ दशक भइसकेछ । म अमेरिका प्रवेश गरेकै दिनबाट मैले आफूलाई अनेसासमा जोडेको हुँ । साहित्यिक कार्यक्रममा सहभागी भएर, अनेसासका लागि रचना दिएर अनेसास बोस्टनको कार्यसमितिमा तीनवटा बेग्लाबेग्लै महत्त्वपूर्ण पदमा जिम्मेवारी ग्रहण गरेर केन्द्रीय स्तरको पदाधिकारी भई कामै गर्ने खालका जिम्मेवारी पूरा गरेर अनेसासमय भएको व्यक्ति हुँ म । कार्यकर्ताको जिम्मेवारी, पदाधिकारीको जिम्मेवारी, व्यवस्थापकको जिम्मेवारी र प्राज्ञिक जिम्मेवारी सबै सबै नै पूरा गरेको छु मैले । मैले स्थानीय स्तरमा अनेसासमा महासचिवको जिम्मेवारी पूरा गरेँ । उपाध्यक्षको जिम्मेवारी पूरा गरेँ । अध्यक्षको जिम्मेवारी पूरा गरेँ । केन्द्रमा सचिवको जिम्मेवारी पूरा गरेँ । अनेसास दर्पणको प्रधान सम्पादकको जिम्मेवारी पूरा गरेँ । अनेसासको मुखपत्र अन्तर्दृष्टिका विभिन्न अंक र स्वर्ण–अंकको प्रधान सम्पादकको जिम्मेवारी पूरा गरेँ कैयन दिन जागिरबाट बिदा लिएर अनेसास केन्द्रले जिम्मा लगाएको करिब २०० (दुई सय) वटा पुस्तक पढेर मुख्य निर्णायकको भूमिका समेत पूरा गरेँ । तन, मन, धन तिनै कुराको लगानी गरेको छु मैले अनेसासका लागि । कहिलेकाहीँ त यस्तो लाग्छ म अनेसासकै लागि जन्मेकै मान्छे हुँ । अब पनि मैले अनेसासका लागि धेरै कामहरू गर्नुपर्छ ।
यहाँले अनेसासको विगतलाई कसरी हेर्नुभएको छ ?
– अनेसासको विगतलाई हेर्दा कुनै हिमालय वा पूर्णिमाको चन्द्रमा हेरेजस्तै अनुभव गर्छु । टाढाबाट हेर्दा हिमालय कति सुन्दर देखिन्छ । यसको प्रतिफल त्यत्तिकै सुन्दर पनि भएको छ । हिमालय बन्न कति परिमाणको पानीले आफूलाई समर्पण गर्नुपर्छ होला ? के बगेर खेर गएको भए पानी हिमालय बन्न सक्थ्यो होला त ? हो अनेसास भनेको पनि त्यस्तै हिमालय नै हो ।
भनिन्छ नि, हिमालय पवित्रताको घर हो । शिवपार्वतीको क्रीडास्थल पनि भनिन्छ हिमाललाई । शिवको अर्थ कल्याण, पार्वतीको अर्थ सृष्टि र सौन्दर्य । ठ्याक्कै त्यस्तै छैन त अनेसास ? भनाइको तात्पर्य के हो भने नेपाली भाषा साहित्यको उन्नयनका लागि भनेर आदरणीय होमनाथ सुवेदी, नन्दादेवी सुवेदी, पुरु सुवेदी, भीम रेग्मी लगायतले यसको शिलान्यास गर्दै जग हाल्ने काम भयो । यो आफैमा महाअनुष्ठान थियो । त्यसैमा हाम्रो पनि पसिना र भावना थपिँदै गयो । हाम्रै भावना र पसिना जम्दै अग्लो हुँदै, जम्दै अग्लो हुँदै हिमालजस्तै सुन्दर र पवित्र भएर अहिले हाम्रा सामु गर्वोन्नत शिर भएर ठडिएको छ । पसिनाका थोपा थोपा भन्नु २५०० भन्दा बढी आजीवन सदस्यको भावना हिमालयजस्तै भएर चुलिँदै जानु त हो नि । पवित्र उद्देश्य बोकेको अनेसास भनेर संसारभरिका मान्छेले यसलाई चिन्दछन् । एउटै वाक्यमा भन्नुपर्दा अनेसास भन्नु हामी सबैको पवित्र पवित्र विचारहरूको त्याग र योगदानको ठोस परिणाम हो । सकारात्मक मन भएका नेपालीले यसलाई एउटा पवित्र संस्थाको रूपमा चिन्दछन् र बुझ्दछन् पनि । यही बुझाइ हाम्रो आस्था पनि हो र विश्वास पनि हो ।
अनेसासले हामीलाई राम्रा कुराहरू दिएको छ । वरिष्ठदेखि कनिष्ठसम्मका नेपाली स्रष्टा, सर्जक, कलाकारलाई शोभायमान गरेको छ यसले । के पुरस्कार दिनु भनेको ठूलो ब्याजदरमा बैंकले झैँ ऋण दिएर ताकेता गर्नु होइन ? होइन नि । हजारौँदेखि लाखौँ रुपियाँको पुरस्कार दिने अवस्थामा पुग्नु भनेको संस्थाको प्रसिद्धि हिमालयजस्तै अग्लो हुनु त हो नि । अनि यो सार्वजनिक अचल सम्पत्तिहरू चुलिएको हिमाल पनि हो । होमनाथ सुवेदी, मोहन सिटौला, रोहिणी शर्मा, पुरु सुवेदी, कुमार बस्नेत, ज्ञानेन्द्र गदाल, गीता खत्री, पदम विश्वकर्मा, राधेश्याम लेकाली, प्रकाश पौडेल माइला, गोवर्द्धन पूजा लगायत १६ जना अध्यक्षहरूले पिताको जस्तै भूमिका ग्रहण गरेका पद र तिनका समूहले पूरा गरेका जिम्मेवारीहरूको एकमुष्ट परिणाम पनि हो अनेसास ।
अनेसासले अँध्यारो होइन उज्यालो नै बाँडेको छ । को भन्न सक्छ यसले बल्दै गरेको बत्ती निभायो भनेर ? कसले भन्न सक्छ यसले दिउँसै रात पार्यो भनेर ? यसले त सफा कञ्चन आकाशबाट बुद्ध पूर्णिमाको चन्द्रमाले जस्तै उज्यालो बाँडेको छ हामीलाई । झ्यालको पर्दा लगाएर बत्ती नबाली बस्ने हो भने आफ्नै घरको कोठा पनि अँध्यारोको डेरा बन्छ । टर्च बालेर यात्रा गर्ने हो भने घना जंगलबीचको बाटो पहिल्याउँदै मध्यरातमा पनि यात्राका पाइलाहरू अगाडि बढ्छन् । देख्नेले त चन्द्रमामा पनि दाग देख्छ नि हजुर ! दोष मात्रै देख्ने र खोट लगाउनेको यो कुरा नगरम् । यदि दोषकै मात्र खोजी गर्ने हो भने आफ्नै आँखामा चिप्रा र कचेरा भेरिन्छ । आँखाको चिप्रा र कचेरा हत्केलामा राखेर हेर्ने कि ? आँखा र मनलाई सुन्दर फूलबारीमा विचरण गराउने ? म त भन्छु शिव अर्थात् कल्याणको अनुभूति दिने हिमालय हो अनेसास । विश्वभरका नेपालीको चेतनालाई प्रज्वलित बनाउने सोह्रै कलाले सिँगारिएको चन्द्रमा हो अनेसास, भविष्यमा हजारौं प्रतिभाका फूल फुलाउने सुन्दर बगैँचा पनि हो अनेसास । मैले त अनेसासलाई यसरी नै बुझेको छु । अनेसासका उद्देश्य र कार्य राम्रा छन् । म यसरी नै बुझ्छु अनेसासको विगतलाई पनि र स्वर्णिम भविष्यलाई पनि ।
आसन्न निर्वाचनले कस्ता पदाधिकारी ल्याओस् भन्ने चाहनुहुन्छ ?
– सुन्नुहोस्, यस्तो व्यक्ति उस्तो व्यक्ति भनेर म कसैको विभेदीकरण पनि गर्न चाहन्न र अपमान पनि गर्न चाहन्न । निर्वाचनमा जानै नपरेको भए कति राम्रो हुन्थ्यो ? यसमा पनि अत्यन्त सुन्दर कुरा म देख्छु ।
अनेसासको पदाधिकारी हुन चाहनु सांसद हुन चाहनु, टन्न गोजी भर्ने र सुखसयलपूर्वक कुर्चीमा बसेर खुट्टा हल्लाउन चाहनु भनेजस्तो पक्कै होइन । तन दिन चाहन्छु, मन दिन चाहन्छु, धन दिन चाहन्छु, समय दिन चाहन्छु, सेवा गर्न चाहन्छु भन्नु त राम्रो कुरा नि ! यस्तो त्याग र योगदान दिन चाहनेको संख्या बढी हुनु त राम्रो कुरा । जिम्मेवारी लिन्छु भन्नु त्यति सजिलो कुरा पनि होइन । सबैभन्दा गाह्रो त आजीवन सदस्यज्यूहरूलाई पो हुने भयो । उहाँहरूको बहुमतबाट जसलाई सदर गरिन्छ उसले अगाडि सरेर काम गर्छ । पदाधिकारी हुनु भनेको गाग्री बोकेर पँधेरामा पानी लिन जानुजस्तै हो । हत्त न पत्त चौरासी व्यञ्जनयुक्त सुनको थाल समाउनुजस्तो पक्कै होइन । जसले पँधेरीबाट पानी बोकेर पानी ल्याउनेजस्तो जिम्मा सुरुमा पाउन्न उसले नाम्लो वा कुटो कोदालो अवश्य पाइहाल्छ । सेवा नै त गर्ने हो जुनसुकै भूमिकामा रहेर पनि सेवा गर्न सकिन्छ ।
मानौँ कुनै भव्य अन्तर्राष्ट्रिय सम्मेलन हुँदै छ रे, के त्यसो भए १७ जना पदाधिकारी चुनिनु भनेको मञ्चको अगाडिपट्टि लहरै कुर्चीमा बसेर तमासा हेर्नु हो त ? यो त पक्कै होइन । कार्यक्रमको लागि मञ्च चाहिएला, माइक चाहिएला, श्रोताहरूका लागि सय वटा कुर्ची चाहिएला, सहभागीका लागि पानीको व्यवस्था गर्नुपर्ला, कार्यक्रम चलिरहँदा श्रोताहरूको रेखदेख गर्नुपर्ला ? कार्यक्रम सकिएपछि कुर्ची ब्यानर आदिको थान्कोमान्को लगाउनुपर्ला ? यी कामहरू क–कसले गर्ने ? पक्कै पनि पदाधिकारीहरूले गर्ने ? पदाधिकारी चुनिनु भनेको लाइन लागेर पैसाको मुठो हात हातले समाउनु पनि होइन । म त चुनावलाई यही अर्थमा बुझ्छु ।
निर्वाचित हुनु भनेको प्याराग्लाइडिङमा जस्तो आकाशमा माथि माथि उड्नु पनि होइन । पदाधिकारी नचुनिनु भनेको अपराध गरेर समाजबाट धपाइएको पनि होइन । संस्था भनेको सहकार्य हो । कुनै नाटकको अभिनय गर्नुजस्तै पनि हो । मानौँ कुनै नाटकमा कसैले राजाको भूमिका पाउला रे । के त्यसो भए ऊ यथार्थ संसारमा पनि जीवनभरिकै राजा हो त ? लौ कसैलाई नाटकमा राजा बन्ने भूमिका दिइयो रे । त्यति बेला बत्तिस वटा दाँत देखाउन पाइन्छ ? के बोल्ने, के नबोल्ने, कसरी हिँड्ने कसरी बोल्ने भन्ने कुरा महिनौँसम्म रिहर्सल गरेर मात्रै उसले राजा पात्रको भूमिका पाउँछ । यदि भूमिका पूरा गर्न सकेन भने कस्तो हालत होला ? निर्वाचित भएर अबिर लाउँदाको दृश्य आँखामा नल्याऔँ । दर्शकका लागि कुर्ची बोकेको, कुर्सी मिलाएको, कार्यक्रम सकिएपछि हल सफा गरेको दृश्य सम्झौँ । कुर्ची बोक्ने, पानी खुवाउने, हल सफा गर्ने, आजीवन सदस्यको भावनालाई सम्मान गर्ने पदाधिकारी चुनिउन् भन्ने लाग्छ । अर्थात् समय दिने र काम गर्ने पदाधिकारी चुनिऊन् भन्ने लाग्छ ।
आगामी कार्यसमितिले के कस्ता कामहरू गर्नुपर्छ होला ?
यसलाई म यसरी बुझ्छु:
(क) विगतका राम्रा अभियानको निरन्तरता, गतिशीलता र परिपुष्टि
(ख) थप नयाँ अभियान र गतिशीलता
भनाइको तात्पर्य के हो भने विगतका कार्यकारी र ट्रस्टी समितिबाट राम्रा काम र अभियानको थालनी भएका छन् । के के राम्रा भएका छन् ? इतिहासमा छिरेर एक, दुई, तीन गर्दै लिस्ट बनाउनुपर्छ र प्राथमिकता क्रम निर्धारण गरेर तिनलाई निरन्तरता दिँदै पूरा गर्दै जानुपर्छ । अनि समयको विकास क्रमले स्वाभाविक रूपमा थप कामको सूची तयार गर्नुपर्छ । यस क्रममा विज्ञ र अग्रजबाट सल्लाह, सुझाव र सहयोग समेत लिई अल्छे नबनी कामहरूलाई पूरा गर्ने ढङ्गले दत्तचित्त हुनुपर्छ । यसै सन्दर्भमा ‘अग्रजको सम्मान’ भन्ने पदावली थप गर्न चाहन्छु । अग्रजको सम्मान भनेको नेपालको पाल्पामा बुनिएको ढाका कपडाको खादा लगाइदिएर फेसबुकमा फोटो राख्नु भनिएको होइन । अग्रजहरूले के के राम्रा काम गरे ती ती कामलाई निरन्तरता दिएर उनीहरूका राम्रा भावना, विचार र योजनालाई पूरा गर्नु नै यथार्थमा अग्रजहरूको सम्मान गर्नु हो । यसो गर्दा अग्रज र अनुज दुवै पक्ष खुसी हुन्छन् । यसरी सर्वजन हितको खुसीका लागि काम गर्नुपर्छ ।
यो त भयो समूह कार्य ! तपाईं आफूले चाहिँ के काम गर्ने सोच बनाउनुभएको छ ?
– यो त यदि म निर्वाचित भए भने गर्ने कुरो हो । तपाईंको प्रश्नको आधाभन्दा बढी उत्तर त अगाडि नै पाइसक्नु भयो । पहिलो कुरो त अनेसास विधानलाई आफ्नो ओछ्यानको तकियामुनि राख्छु । बिहान आँखा खुल्ने बित्तिकै आफूले के कस्ता पदीय जिम्मेवारीहरू पूरा गर्नुपर्छ भनेर हेर्नेछु । महिना महिनामा हुने मिटिङ र फलफलबाट जिम्मेवारीहरूको बाँडफाँड हुन्छ । सर्वप्रथम आफ्नो भागमा परेको जिम्मेवारी पूरा गर्नेतर्फ ध्यान केन्द्रित गर्छु । अनि यो टिमओके (समूह कार्य) पनि हो । आफ्नो क्षमताले भ्याएसम्म कार्य समितिका साथीहरूलाई सघाउँछु । अनेसासका आजीवन सदस्यहरूका आग्रह र गुनासाहरू, राम्ररी सुन्छु र आफ्नो वर्गतले भ्याएसम्मका कार्यहरू गर्दै आफूलाई हरदम गतिशील बनाइरहन्छु । यसै सिलसिलामा म तपाईंलाई मैले हालसालै ई–नेप्लिज पत्रिकामा छपाएको लेख पढिदिनका लागि समेत अनुरोध गर्छु । त्यसबाट पनि मेरो सोचबारे थाहा पाउनु हुनेछ ।
यो अन्तरवार्ताका लागि यहाँलाई धेरै धेरै धन्यवाद । अरू पनि थप कुरा भन्न बाँकी छन् कि ?
– यसरी व्यापक जनसमूहबीच आफ्नो दृष्टिकोण राख्न पाउनु नै मेरा लागि राम्रो अवसर हो । यसका लागि तपाईं र साहित्यपोस्ट परिवारलाई धन्यवाद । अरू धेरै त के भनूँ यदि म निर्वाचित हुन सकेँ भने आफ्नो जिम्मेवारी राम्ररी पूरा गर्छु । स्थिर होइन गतिशील भइरहनेछु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।