पोखरा। साहित्यकार सुरज उपाध्यायको परिवारले पिता शङ्कर उपाध्यायको निधनपछि सङ्कलित भेटी रकमबाट बालगृहमा अक्षयकोष स्थापना गरेको छ।
स्याङ्जाको फेदीखोला गाउँपालिका–२ आरुखर्क, चनौटेमा १३ दिनको शुद्धाशुद्धिकै दिन पिताप्रति श्रद्धास्वरूप प्राप्त रकममध्ये १ लाख १ सय १ रुपैयाँ अक्षयकोष स्थापनार्थ फेदीखोला–१ मा सञ्चालित अमोर सेवा नेपाल नामक बालगृहलाई प्रदान गरिएको हो।
साहित्यकार उपाध्यायसहित आमा रमादेवी सुवेदी, भाइहरू रेशम र सन्तोष उपाध्याय तथा बहिनी सङ्गीताले संयुक्त रूपमा बालगृहकी संस्थापक तथा प्रबन्धक कमला पराजुलीलाई उक्त रकम हस्तान्तरण गर्नुभएकाे हाे ।
उपाध्यायका अनुसार बुबाको सम्मानस्वरूप प्राप्त रकमलाई पुण्यकर्ममै प्रयोग गर्ने उद्देश्यले बालबालिकाको हितमा सहयोग गरिएको हो। साथै, बुबाकै स्मृतिमा गाउँमा किरियापुत्रीलाई सहयोग पुग्ने गरी सार्वजनिक धारा निर्माण गर्ने योजना पनि रहेको उहाँले जानकारी दिनुभयो।
२०६८ सालदेखि सञ्चालनमा रहेको उक्त बालगृहमा हाल ४६ जना बालबालिका आश्रित रहेको प्रबन्धक पराजुलीले बताउनुभयाे । ‘चिल उड्यो आकाशमा’, ‘साइकल’ र ‘बाबा कतारमा आमा हतारमा’ लगायत कृतिका स्रष्टा सुरज उपाध्यायका पिता शङ्कर उपाध्यायको गत फागुन ८ गते ७५ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो। निवृत्त शिक्षक स्वर्गीय उपाध्यायले करिब ४० वर्ष अध्यापन गर्नुभएकाे थियाे ।
हस्तान्तरण कार्यक्रमको सहजीकरण पत्रकार फडिन्द्र अकिञ्चनले गर्नुभएको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










