पोखरा । साहित्यकार सुरज उपाध्यायलाई पितृशोक परेको छ। उहाँका ७५ वर्षीय पिता शङ्कर उपाध्यायको शुक्रबार बिहान हृदयघातका कारण निधन भएको हो।

केही समयअघि क्यान्सरका कारण अस्वस्थ भएका उपाध्याय शल्यक्रियापछि स्वास्थ्यलाभ गर्दै स्याङ्जाको फेदीखोला–२, चनौटेमा बस्दै आउनुभएकाे थियाे । शुक्रबार बिहान घरायसी नियमित काम सकेपछि अचानक ढलेपछि उहाँलाई पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो। चिकित्सकले हृदयघातका कारण उहाँको निधन भएको जानकारी दिनुभएकाे छ ।

वि.सं. २००८ मङ्सिर १६ गते जन्मिएका उपाध्याय करिब ४० वर्ष विभिन्न विद्यालयमा अध्यापन गरी निवृत्त भएका शिक्षक हुनुहुन्थ्याे । उहाँका जेठा छोरा सुरज उपाध्याय साहित्यिक क्षेत्रमा सक्रिय स्रष्टा हुनुहुन्छ । विशेषगरी बालसाहित्यमा क्रियाशील उहाँका ‘चिल उड्यो आकाशमा’, ‘साइकल’ र ‘बाबा कतारमा आमा हतारमा’ बालकविता सङ्ग्रह तथा ‘तिम्रो मन फर्किएन’ गजल सङ्ग्रह प्रकाशित छन्। उहाँ प्रगतिशील लेखक सङ्घ गण्डकी प्रदेशका सचिवालय सदस्य तथा गीतकार प्रतिष्ठानका सदस्यसमेत हुनुहुन्छ ।

स्व. शङ्कर उपाध्यायका सुरजसहित सन्तोष र रेशम गरी तीन छोरा, एक छोरी र श्रीमती रहनुभएकाे छ ।