काठमाडौं ।  निबन्धकार ज्ञानेन्द्र विवशको नवीनतम् निबन्ध संग्रह ‘इन्द्रेणी सौन्दर्य’ प्रकाशित भएको छ। सुन्दर स्वदेश प्रकाशनद्वारा प्रकाशित उक्त कृतिमा ५७ वटा निबन्ध समावेश छन्।

‘इन्द्रेणी सौन्दर्य’ जीवनका विविध पाटाहरूको अनुभूतिमूलक अभिव्यक्ति हो। प्रकृति, यात्रा, अध्यात्म, जन्म–मरण, सुख–दुःखजस्ता विषयलाई निबन्धकार विवशले आफ्नै शैलीमा शब्दबद्ध गर्नुभएकाे छ ।

निबन्धकार तथा समालोचक डा. माधवप्रसाद पोखरेलका अनुसार संग्रहमा रहेका निबन्धहरूलाई मोटामोटी सात खण्डमा वर्गीकरण गर्न सकिन्छ— यात्रा केन्द्रित, दृश्य/दृष्टि केन्द्रित, अनुभूति केन्द्रित, स्मृति केन्द्रित, फुर्सद केन्द्रित, सौन्दर्य केन्द्रित तथा अन्य/विविध। यद्यपि सबै निबन्धको मूल स्वर सौन्दर्यकै विविध आयामसँग जोडिएको देखिन्छ।

संग्रहभित्र ‘बिर्सिन नसकिने मान्छे’, ‘बिर्सेर सम्झेका यादहरू’, ‘टनकपुरमा दुखेको मन’ र ‘एउटा यस्तो कालो दिन’ जस्ता शीर्षकहरूले स्मृति र संवेदनाको गहिरो तह उजागर गर्छन्। निबन्धहरूमा रातको चकमन्न शून्यता र दिनको कोलाहलमय उपस्थिति जस्ता भाव–विम्बहरू प्रभावकारी रूपमा अभिव्यक्त छन्।

निबन्धकार विवश भन्छन्, “‘इन्द्रेणी सौन्दर्य’ मेरो अनुभूतिको अभिलेखन हो— मनले देखेका, हृदयले महसुस गरेका र कानले सुनेका जीवनका सूक्ष्म तरङ्गहरूको शब्द रूप।” उहाँका अनुसार यी लेखहरू निजी विचार मात्र नभई समयका छाप र जीवनसँगको निरन्तर संवादका प्रतिध्वनि हुन्।

‘हतार विनाका फुर्सद’ र ‘फुर्सदको दिन’ जस्ता निबन्धहरूले समकालीन भागदौडपूर्ण जीवनमा एकछिन रोकिन र आत्मसंवाद गर्न प्रेरित गर्छन्।

ज्ञानेन्द्र विवशका यसअघि ६ निबन्ध, ३ नियात्रा र ५ जीवनी कृति प्रकाशित भइसकेका छन्। विभिन्न साहित्यिक तथा कला पुरस्कारबाट सम्मानित विवशको सगरमाथा आधार शिविर यात्रामा आधारित नियात्रा संग्रह ‘कालापत्थरबाट सगरमाथा नियाल्दा’ शीघ्र प्रकाशनमा आउने तयारीमा रहेको जनाइएको छ।

‘इन्द्रेणी सौन्दर्य’ समकालीन नेपाली निबन्ध साहित्यमा अनुभूतिको इन्द्रेणी थप्ने कृतिका रूपमा अपेक्षित देखिएको छ। पुस्तकको मूल्य ५५० रुपैयाँ रहेको छ।