नेपाली आधुनिक कलाका एक मूर्धन्य व्यक्तित्व शशीविक्रम शाह ! उहाँले आफ्नो सम्पूर्ण जीवन कला साधना, सिर्जना र शिक्षामा समर्पित गर्दै आउनुभएको छ । उहाँको कलाले नेपालमा मात्र नभई विश्वभरि नै एक विशिष्ट पहिचान बनाएको छ । उहाँको कुपण्डोलस्थित निवासमा उहाँसँगको भेट एउटा प्रेरणादायी अनुभव रह्यो । त्यहाँ मैले उहाँको कला र जीवनको गहिराइलाई फेरि अर्को पटक नयाँ किसिमले बुझ्ने अवसर पाएँ ।

  उहाँसँग अघिल्लो साताको पछिल्लो भेट र सोही भेटमा निबन्ध संग्रहको मेरो किताब ‘अर्धकदको अवसान’ उहाँको हातमा अर्पण गर्न पाउँदा मलाई गर्वको अनुभूति भयो । शशीविक्रम शाहजस्ता अग्रज कलाकारको साथ पाउनु नेपाली साहित्य र कला दुवैका लागि एक ठूलो सम्मान हो । उहाँ नेपाली कला जगत्का एक नक्षत्र हुनुहुन्छ, जसको प्रकाशले आउने पुस्तालाई पनि कला सिर्जनाको बाटोमा डो-याइरहने छ । उहाँको जीवन नै कलाको एउटा सुन्दर परिभाषा हो ।

चित्रकलाका क्षेत्रमा सात दशकदेखि अनवरत साधनारत ८५ वर्ष उमेरमा पनि उहाँको कलाप्रतिको लगावमा कुनै कमी आएको छैन । उहाँको निम्ति क्यानभासमा रङ पोत्नु एउटा काम मात्र नभई जीवनको एउटा अभिन्न अङ्ग हो, जसले उहाँलाई आनन्द र सन्तुष्टि दिन्छ । उहाँको कलामा सबैभन्दा बढी पहिचान बनाएको विषय हो– जागरूक घोडाहरूको बेगवान प्रवाह ! यी घोडाहरू केवल चित्र मात्र नभएर शक्ति, गति र स्वतन्त्रताका प्रतीक हुन् । त्यसलाई उहाँले विभिन्न ज्ञानमय स्वरहरूमा आकृतिबद्ध गर्नुभएको छ ।

‘घोडा’ चित्रहरूका अतिरिक्त, उहाँले आफ्ना सिर्जनाहरूमा ‘कल्की अवतार’ का विभिन्न संरचनाहरू पनि उतार्नुभएको छ । यसले उहाँको धार्मिक र आध्यात्मिक चेतनालाई दर्शाउँछ । त्यसैगरी राजदरबार हत्याकाण्डजस्तो संवेदनशील र ऐतिहासिक घटनामा आधारित उहाँका चित्रहरूले पनि उत्तिकै ख्याति कमाएको छ । यसले इतिहासलाई कलाको माध्यमबाट जीवन्त राख्ने प्रयास गरेको छ ।

यहाँ स्मरणीय छ, यिनै विषय श्रृंखलामा बनाइएका १५ कलाकृति बेलायतको विश्वप्रसिद्ध टेट मोर्डन (सङ्ग्रहालय) मा सङ्गृहित हुने मौका पाएको छ । नेपालबाट पहिलो पटक यस किसिमको ऐतिहासिक कलाले सङ्ग्रहालयमा रहने अवसर पाएको हो ।
शशीविक्रम शाहको प्रतिभा चित्रकलामा मात्र सीमित छैन । कार्टुन चित्रमा पनि उहाँको दक्षता अतुलनीय छ । उहाँका कार्टुनहरूले समाजका विभिन्न पक्षहरूमा व्यङ्ग्य गर्दै सन्देश प्रवाह गर्ने काम गरेका छन् । उहाँको कलामा विविधता, गहिराइ र समाजको यथार्थलाई चित्रण गर्ने क्षमता छ ।

आधुनिक नेपाली कलालाई उचाइमा पु-याउने केही सीमित कलाकारमध्ये वरिष्ठ कलाकार शशीविक्रम शाहको नाम अग्रपङ्क्तिमा आउँछ । उहाँ समसामयिक नेपाली कलाजगत्मा अति सशक्त हस्ताक्षर हुनुहुन्छ ।

‘घोडाचित्र’ अनि ‘शशी शाह’ एकार्काका पर्यायवाची हुन् भनेमा अतिशयोक्ति नहोला । विगत तीन दशकदेखि उहाँको मूल चित्र–पात्र घोडा नै रहिआएको छ । उहाँका कुनै घोडाहरू वेगवान् समयको गतिसँगै दौडिरहेका हुन्छन् । कुनै घोडाहरू अहङ्कारले मात्तिएर हिनहिनाइरहेका हुन्छन् । कुनै घोडाहरू वर्तमानदेखि आतङ्कित भएर त्राहिमाम भइरहेका हुन्छन् । कुनै घोडाहरू विसङ्गति र बेथिति विरुद्ध विद्रोह र आक्रोश पोख्दै बुर्कुसी मारिरहेका हुन्छन् । कुनै घोडाहरू अनन्त सङ्घर्षदेखि थकित र गलित भएर सुस्ताइरहेका हुन्छन् ।

उहाँ स्वयम्का व्याख्यानुसार यी घोडाहरू समय र समाजका प्रतिनिधि पात्र हुन् । उहाँ आफ्ना घोडाका आकृतिहरूलाई ‘कल्की अवतार’ का प्रतीकका रूपमा अथ्र्याउँछन् ।

कलाकार शशी शाह अत्यन्तै सौम्य र शान्त स्वभावका हुनुहुन्छ । कसैलाई नचिढ्याउने र कसैलाई नबिझाउने भद्र व्यक्तित्वका धनी हुनुहुन्छ । कलाको पढाइ पूरा गरी मुम्बईबाट फर्केको लगत्तै उहाँले २०२६–३९ सालसम्म ललितकला क्याम्पसमा अध्यापन गर्नुभयो । सोही क्याम्पसमा एघार वर्षसम्म क्याम्पस प्रमुखको जिम्मेवारी पनि वहन गर्नुभयो । त्यसपछि सिर्जना कलेज अफ फाइन आर्टस्को प्रिन्सिपलका रूपमा २०५८–०६८ सालसम्म उहाँ कार्यरत् रहनुभयो । २०५२–०५७ सालसम्म उहाँले नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको प्रज्ञा–परिषद् सदस्यका रूपमा पनि काम गर्नुभयो ।

वरिष्ठ कलाकार शशी शाह आधुनिक शैलीमा काम गर्नुहुन्छ । तथापि उहाँका चित्र रचनाहरू ‘फिगरेटिभ’ हुने गर्छन् । मुम्बईबाट फर्केपछि केही वर्ष उहाँले ‘सरिलियस्टिक’ शैलीलाई अवलम्बन गर्न थाल्नुभयो । मानवीय विषाद, युद्ध, भोक आदि विषयमा आधारित त्यो बेलाका उहाँका कामहरू निकै सशक्त र प्रभावशाली रहेका छन् । तत्पश्चात् उहाँका चित्ररचनाहरूमा वैदिक दर्शन तथा समसामयिक विषयवस्तुहरू देखापर्न थाले । उहाँको ‘दश अवतार’ शीर्षकको चित्ररचना निकै वर्षअगाडि जापानको फुकुओका म्युजियमले खरिद गरी आफ्नो सङ्ग्रहमा राखेको थियो ।

उपनामबाट बनाइएका उहाँका अनगिन्ती कार्टुन रचनाहरू तत्कालीन साप्ताहिक पत्रिकाहरू ‘समीक्षा’ लगायत अन्य पत्रपत्रिकामा प्रकाशित भइसकेका हुन्थे । साहित्यकार रोचक घिमिरेद्वारा सम्पादित साहित्यिक पत्रिका ‘रचना’ का लागि त उहाँले निकै लामो समयदेखि आज पर्यन्त मासिक रूपमा साहित्य र कलामाथि व्यङ्ग्यवाण हान्दै कार्टुन बनाउँदै आइरहनुभएको छ । उहाँ आफूलाई ‘पेन्टिङ’ का तुलनामा ‘ड्रइङ’ बढी बढी मन पर्ने बताउनुहुन्छ । उहाँले घोडालाई केही मूर्तिरचनामा पनि साकार स्वरूप दिनुभएको छ ।

कलाकार शशीविक्रम शाहले २०२७ सालमा राष्ट्रिय कलाप्रदर्शनीमा प्रथम पुरस्कार पाउनुभएको थियो । नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानद्वारा प्रदान गरिने ‘इन्द्र राज्यलक्ष्मी प्रज्ञा पुरस्कार’ उहाँले वि.सं. २०३५ सालमै पाउनुभएको छ । त्यसयता मुख्य रूपमा राष्ट्रिय प्रतिभा पुरस्कार, राष्ट्रिय ललितकला प्रज्ञा सम्मान, बासुदेव लुईटेल पुरस्कार, सुरेन्द्र प्रधान दीर्घ कलासाधना सम्मान, भैरव पुरस्कार, वानीरा–शंकर पुरस्कार, भीमदर्शन रोका आदर्श गुरु सम्मान आदि उहाँको योगदानको कदर स्वरूप उहाँलाई प्रदान गरिएका छन् ।