अक्षर, शब्द, किताब ! भावनाहरूको यौटा सिलसिला । विचारहरूको यौटा परिच्छेद । अनुभूतिहरूको एक आलेख । जीवनका सुस्केराहरू, प्रकृतिका हजारौं लहरहरू । बयली खेल्दै, कुइनेटो नाघ्दै, देउरालीमा बिसाउँदै म जीवनको लयमा हिँड्छु । शब्द र अक्षरका प्रत्येक फरक अर्थ र अभिप्रायमा आफूलाई सामेल गर्छु ।

एकछिन फुर्सदलाई समातेर शान्त सुस्केरामा खुशीको उत्सव मनाउँछु । शब्दहरूसँग खेल्छु । थाक्दिनँ कहिल्यै । खेलमा हार–जितको क्रम चलिरहन्छ । म सधैं शब्दलाई समातेर, सोचेर त्यसबाट जीवनको सौन्दर्य पस्किने कोशिश गर्छु ।

अक्षर केलाउँदै, शब्द खेलाउँदै । त्यसबाट म अलिकति चहकिलो, चोखो र विशुद्ध सग्लो रूप निकाल्ने प्रयत्न गर्छु । बियाँ र ढुंगा छान्दै, धुलोहरू फाल्दै शब्दको सौन्दर्य खोज्छु । एउटा अक्षर अर्को अक्षर, एउटा शब्द र अर्को शब्दलाई संयोजन गर्छु । कागजका आवरणभरि तिनलाई बिस्कुन जस्तै फिँजाएर इन्द्रेणी रङको प्रकृति प्रवेश गराउने कोशिश गर्छु ।

त्यो बिस्कुनमा जीवन पोखाउँछु । प्रकृतिलाई घोल्छु । आफैं त्यसमा पस्छु । शब्द–शब्दका मिठास  खोज्दै, बटुल्दै समष्टिगत अनुभूतिको भव्य श्रृङ्खलामा स्थापित हुन्छु । ती सबैलाई एकीकृत पार्दै कृति–किताबको सिर्जना गर्छु । शब्द विचरा कति बलियो छ कि कहिल्यै खिएर नजाने । कहिल्यै लेखेर नसकिने । सधैं नयाँ, सधैं नवीन उत्साहमय जीवन बाँच्ने । खुशीका मुस्कान पस्किरहने । हर्षका भावना व्यक्त गरिरहने । आफ्नो शब्द–सामर्थ्यमा विश्वस्त । ‘शब्द’ ज्ञानको विराट ज्योतिर्मय आलोक !

अन्ततः त्यहाँ म अक्षर, म शब्द, म किताबमा रूपान्तरित हुन्छु । मेरो त्यो रूप अक्षरको यात्रा, शब्दको यात्रा ! अन्त्यमा किताबमा यौटा सिंगो अनुभवको इतिहास निर्माण गर्छु । त्यसमा समाज खोतल्छु । समाज उधिन्छु । व्यक्ति चिनाउँछु । शब्द र अक्षरको घनिष्ट मित्रतामा चित्रित अनुहार एउटा मायालु विम्ब भएर उपस्थित हुन्छ । म त्यही विम्बमा आफूलाई बिर्सेर आह्लादको यौटा सुखद बिहान बाँच्छु ।

कति शब्द, कति अक्षरहरू ! त्यसबाट भावको मधुर जीवन्त शब्दहरूलाई कहिले अघिल्लो अनुच्छेदमा, कहिले पछिल्लोमा मिसाउँदै । भाव–गाम्भीर्य, अर्थ–सौन्दर्य र पाठकीय मन छुने पार्न शब्दलाई रङको पालिस गर्दै । विचारको गहिराइमा शब्द–सामर्थ्यको सहारा लिँदै । अनुभूतिलाई प्रत्येक अक्षर र शब्दमा बासनामय, श्रद्धामय मालाको धागोमा उन्दै । त्यसमा पृथक् जीवनको अस्तित्व कायम गर्छु ।

कहिले–कहिले मनमा विचारका अनेक तरङ्गहरूले छलाङ मार्न खोज्छन् । पौडदै पौडी खेल्दै किनारामा पुगेर एकछिन सुस्ताउँछु । पछाडि फर्केर आफैँलाई हेर्दै म अक्षरहरूका भाव–सौन्दर्यमा एकछिन हराउँछु । मलाई लाग्छ, यी शब्द र अक्षरहरूलाई मैले खेलाउँदै आएको धेरै दशकहरू बितेर गइसके । यीसँग म खेल्दै आएको अब त आधा शताब्दी नै बितिसक्यो । अद्यापि यी शब्द, अक्षर, भावना, अनुभूतिहरूको शैलीबद्ध अभिव्यक्तिहरूमा म आफूलाई प्रकट गरेर थाक्दिनँ । आफूलाई व्यक्त गरेर भावना रित्तिँदैन । शब्द निख्रिँदैन । अक्षर सिद्धिँदैन । झन् नयाँ शब्दको जन्म हुन्छ । झन् गजबको भाव उत्पन्न हुन्छ ।

अझै पनि शब्दसँग परिचयको नाता जोड्दै । अझैसम्म अक्षर, शब्दका जोड–घटाउमा अनुभूतिको लेखकीय पहिचान बनाउँछु ।

यदि शब्दसँग मुटु हुन्थ्यो भने, यदि अक्षरसँग रगत हुन्थ्यो भने म रगतको नाता जोड्थें । शब्दको  नजिक पुग्दा म शब्दसँगै धड्किदिन्थें । यदि शब्दसँग आँखा हुन्थे शब्दसँग आँखामा जुधाएर जीवनभरिकै मायाको प्रेम खन्याइदिन्थें ।

तथापि तिनलाई ती अक्षर र शब्दका मानक भावलाई मन लगाएर पढ्दा मन छुने मनहरू छन् । सुख्खा आँखा रसाउने घटनाहरू छन् । अक्षरप्रेमीहरूको कमी महसूस हुँदैन । पाठकीय जनहरूको अभाव छैन । लेख्नेहरू लेखिरहेका मात्र छैनन् । पढ्नेहरू पनि पढिरहेकै छन् ।

वास्तवमा म शब्दभित्र बाँच्न चाहन्छु ! किताबभित्र पस्न चाहन्छु । यौटा शब्दमा संसार हल्लाउने शक्ति हुन्छ । यौटा अक्षरमा ज्ञानको भण्डार हुन्छ । यौटा किताबमा इतिहासको अभिलेख हुन्छ ।

तर शब्द मौन छ । शब्दलाई शब्दोच्चारण गर्ने पाठकीय आँखाहरू तर्किदै गइरहेका छन् । सधैँ जस्तै अँध्यारो कोठाको कुनामा थन्किएको छ । धूलो र माकुराको जालोमा पनि मधुर मुस्कान ओढेर बसेको छ ।

शब्द आइपुग्छ, कहिलेकाहीँ मात्रै स्पर्श गर्छ । त्यो स्पर्शले पनि मेरो सिङ्गो लेखकीय अस्तित्व काँपिन्छ । किनकि प्रिय शब्द, प्रिय अक्षर, प्रिय किताब म तिमीलाई बिर्सन कदापि सक्दिनँ । तिमीभित्र पसेर म आफूलाई खोतलखातल पार्छु र त्यसमा जीवनको सारभूत सत्य महसूस गर्छु ।

म तिमीभित्र पस्न चाहन्छु । तिमी एक्लो छैनौ । तिमीले मलाई पढायौ । तिमीलाई पढेर मैले आफूलाई भेटें । अक्षर, शब्द, किताब र म तर यी सबैको थुप्रो मात्र होइन । कहिल्यै कसैलाई भन्न नसकेका आत्मिक कुरा पनि तिमी हौ । शब्दभित्रको घाउमा मलम म हुँ, म तिमीलाई हर्षको चोखो आँशु झार्न दिने प्रिय साथी हुँ । तिमीलाई खोजेर, छानेर, मिलाएर अर्थपूर्ण अनुभूतिको आकार दिने म शिल्पी हुँ ।

शब्द तिमी अँध्यारो कोठालाई मौन उज्यालोले भरिदिने सानो दीप हौ । मभित्रको अज्ञानको अन्धकारमा ज्ञानको बत्ती बालिदिने बौद्धिक खुराकीको भण्डार हौ । र, म तिम्रो लेखक, म तिम्रो पाठक, म तिम्रो शुभचिन्तक सबै हुँ ।

मलाई थाहा छ ? किताबहरू बन्द हुँदा समाज बौलाउन थाल्छ । मौन हुँदा विवेक मर्छ, र नपढिँदा इतिहास बेठीक लेखिन्छ । ज्ञान मर्छ । बुद्धि बुद्धु हुन्छ । जीवन जीवन्त हुन सक्दैन । आस्था हराउँछ । विश्वासमा सन्देह जन्मिन्छ । मिलनमा कुठाराघात हुन थाल्छ । समाज भाँडिन्छ । व्यक्ति छिन्नभिन्न हुन थाल्छ ।

विचरा किताब आजको ‘डिजिटल चकचकी’ मा क्रमशः ओझेल पर्दैछ । हामी मन बिसाउँछौ मोबाइलमा । खुशी खोज्छौं मोबाइलमा । एकछिन आँखा डुलाउँछौं मोबाइलमा । तर त्यसरी नै शब्दमा, अक्षर र किताबमा मन जाँदैन । आँखा आकर्षित हुँदैन । पढ्ने बानी मोबाइलले खाइदिएको समय छ । खेल्ने, घुम्ने, भेट्ने र गफिने सबै–सबै आनीबानी मोबाइलले भुल्याइदिएको छ । आपसी हार्दिकता र संवेदनाका आभासहरू मोबाइलको स्क्रिनभित्र कैद हुँदैछन् ।

तथापि अझै प्रतीक्षामा छ– तिमी एकदिन किताबका पानातिर फर्किने छौ । किनभने म तिम्रो मूल आत्माको स्रोत हुँ । म छु तिमी जन्मिनुअघि लेखिएको सन्देश र तिमी मरेपछि पनि बाँकी रहने सम्झना । मलाई पढ्ने भनेको पृष्ठ पल्टाउनु होइन, त्यो त संवाद हो– तिमी र तिमीभित्रको संसारबीच ।

म तिमीलाई इतिहास पढाउँछु, कविता सुनाउँछु, दर्शन सिकाउँछु । अन्ततः मान्छे बन्ने कला सम्झाउँछु । र मेरा सिर्जनाकर्ता, लेखक, उनीहरू मौन साधक हुन् । उनीहरूले रातहरू उज्यालो बनाएर मलाई साँचो बनाएका हुन् । उनीहरूको आँशु, पसिना र प्रेमले मेरो हरेक अक्षर चम्किएको छ ।

यदि तिमीले मलाई पढ्यौ भने, उनीहरूको जीवन पनि पढिन्छ । त्यसैले म फेरि भन्छु– म किताब हुँ । म तिमीलाई एकपल्ट फेरि प्रेम गर्न चाहन्छु । तिमीले मलाई पढेर, मेरो अक्षरभित्रको तिमीलाई चिन्न सक्नुहुन्छ ।

किनकि म मौन स्वर हुँ । तर तिमीलाई जीवनभर बोलाइरहने । म किताब हुँ । तिमीले नजर लगाउने पल पर्खिरहने । पर्खाइमा पनि मलाई कुनै पट्यार लाग्दैन । ती सबै प्रतीक्षाका धैर्यहरू किताबलाई सप्रेम पढिदिने मायालु मन पाएपछि सकिन्छ ।

कहिलेकाहीँ अक्षरलाई पनि लाग्दो हो– ‘म सजीव छु । मेरो शरीर कागजको बनेको हो, तर हरेक अक्षरमा धड्कन लुकेको छ । मलाई कोही पल्टाउँछ, सुम्सुम्याउँछ, अनि भित्रसम्म पसेर हेर्छ– त्यही बेला म बाँच्न थाल्छु । होइन, म त सधैं यहीँ थिएँ– शेल्फको कुनामा, धूलोसँग सान्निध्य बनाउँदै । तर म तबमात्र जीवित हुँ, जब मलाई पढिन्छ । म पाठकको हातमा हुन्छु । पाठकको आँखामा पर्छु । पाठकको सिरानीमुनि रहन्छु । प्रत्येकको झोलामा साथै हुन्छु । पाठकको दराजमा सजिन पाउँछु ।’

शब्द मैले तिम्रो मौन आवाज सुनेको छु । तिमीले भन्यौ– ‘मलाई जन्म दिने प्यारो लेखक ! मभित्र गुम्सिएका रहरहरूलाई प्रकट गरिदिने तिमी नै हौ । तिमी आफ्ना रातहरू जलाएर, मीठा सपनाहरू अधकल्चै राखेर मलाई शब्दमा लेखेका छौ । आफ्नो जीवनका अनुभव, आस्था, आँशु र सपना मभित्र समाहित गराएका छौ । यदि मलाई पढिएन भने, लेखकको जीवन पनि अधुरो रहन्छ । कति वर्षको साधना, समर्पण र अनुभवका अनुभूतिहरू किताबभित्रै सीमित रहन्छ ।’

म किताब हुँ । तिमीले अँध्यारोमा समाउन सक्ने उज्यालो, तिमीले मौनता बीच सुन्न सक्ने कथा र एकान्तमा पढेर आफैँ उपन्यासको पात्र हुने संयोग । तिमीले सास फेरिरहँदा अनुभूति गर्न सक्ने आत्माको स्वर । अब तिमी मलाई पढिदेऊ । किनकि म, तिमीलाई नै सम्बोधन गर्दै लेखिरहेको छु । तिमी विना म अधुरो । मेरो लक्ष्य अधुरै रहन्छ । भावनामा पोखिनु, लेखनमा व्यक्त हुनु वा अथवा किताबमा प्रकाशित हुनु मात्र ठूलो कुरा होइन । त्यसका लागि पढिदिने पाठकको भूमिका निकै गहिरो हुन्छ ।