एउटा सिर्जनशील लेखकका लागि आफ्ना कृतिहरू प्रकाशित हुनु निकै ठूलो खुशीको कुरा हो । त्यसका लागि आमपाठक समक्ष पु¥याइदिने प्रकाशकको यसमा महत्वपूर्ण भूमिका हुन्छ । त्यसैगरी कलाकारका सिर्जनाहरूलाई कलापारखी दर्शक माझ पु¥याउने काम आर्ट ग्यालरीहरूले गर्छन् । ग्यालरीमा प्रदर्शित चित्रहरूका माध्यमबाट कलाकारका सिर्जना सार्वजनिक हुन्छन् र दर्शकहरूले कलाकार र कलाकारका सिर्जनालाई चिन्छन,् बुझ्छन् । यसरी कलाकारको प्रतिभालाई दर्शक माझ पु-याउने ग्यालरी एउटा महत्वपूर्ण सेतु हो ।
कलासिर्जनाको मुख्य ध्येय भन्नु सौन्दर्यको सम्प्रेषण नै हो । प्रदर्शनीमा राखिएका कलाकृतिहरूले कुनै पनि कलापारखी दर्शकलाई प्रथमतः सौन्दर्यको सम्प्रेषणको मिठास मनभित्रसम्म पु¥याउँन सक्नुपर्छ । त्यसैगरी कलाकृतिहरूले दिने सन्देश, पार्ने प्रभाव र त्यसबाट प्राप्त हुने उपलब्धि सधैँ सकारात्मक हुनु अति आवश्यक छ । कुनै पनि माध्यम वा शैलीमा गरिएका कलासिर्जना मूलतः; आफ्नै देशको भूगोल, संस्कृति, जातजाति, प्रकृतिका बहुआयामिक पक्षलाई केन्द्रबिन्दुमा राखेर सिर्जना गरिएको हुन्छ र हुनुपर्छ ।
राम्रो कलारचना गर्ने क्रममा वा अघिल्लो पुस्ताका कलाकारहरूले गरेको काम जस्तै काम आफूले पनि गरौँ भन्ने क्रममा बनाइएका सिर्जनाले कलाकारको कलाक्षमतालाई पुष्टि गर्न सक्छ जस्तो लाग्दैन । किनभने कलाकारले त सिर्जनामा अलग्ग किसिमको आफ्नै छवि निर्माण गर्न सक्नुपर्छ र त्यसमा प्रयत्नरत हुनुपर्छ । लामो साधना समर्पण सिर्जनात्मक क्षमता र सिकाइको निरन्तरको अभ्यासले नै कलाकर्ममा आफ्नोपन स्पष्ट रूपमा लेपन गर्न सकिन्छ ।
त्यसले पार्ने प्रभाव दूरगामी हुन्छ र एकचोटी हेरेका दर्शकले त्यो कलाकारको सिर्जनालाई कदापि पनि बिर्सन सक्दैनन् । बरु कैयौँ वर्षपछि आफूले हेरेको कलाकारको कलासिर्जनाले आज कहाँसम्मको यात्रा तय ग¥यो वा प्रगतिको चरणमा के कस्तो उपलब्धि हासिल भयो ? त्यो हेर्न र कलाका दर्शक र कलासमीक्षकहरू उत्सुक भइरहेका हुन्छन् ।
वस्तु त कलाको चर्चापरिचर्चा योगदानको सही मूल्याङ्कन यस्तै कलाकार र कलाकृतिको हुने गर्छ । विडम्बनाको कुरा नेपाली कलासंसारमा कलासमीक्षकको निरन्तर योगदान बिरलै देख्न सकिन्छ । कलाकारहरूका कामलाई नजिकबाट अवलोकन गर्दै आउने कलासमीक्षक हुन् वा दर्शकहरू हुन् । तिनले गर्ने मूल्याङ्कन अवश्यमेव निष्पक्ष हुन्छ । किनभने उनीहरूका आँखाले कलाकारका सिर्जनालाई प्रगतिको चरणमा एकपछि अर्को सफलताको सिँढी चढ्दै आएको थाहा पाउन सक्छ ।
यस दृष्टिकोणले कलाकार र कलासमीक्षकको सम्बन्ध वा भनौँ दूरी सन्निकट सधैँ भइरहनु अति आवश्यक छ । कलाकारले पनि कलासमीक्षकको सम्मान गर्न सक्नुपर्छ । समीक्षकले पनि कलाकारको सिर्जनाको सही मूल्याङ्कन गरिदिनुपर्छ । त्यसैगरी कलाकार र कला ग्यालरीको सम्बन्ध पनि टाढिनु हुँदैन नजिक भइरहनुपर्छ । किनभने कलाकारका सिर्जनालाई सार्वजनिक गरी प्रचार–प्रसारमा ल्याइदिने काम एउटा ग्यालरी गर्छ । ग्यालरी र कलाकारको सम्बन्ध टाढियो भने त्यो सार्वजनिक हुने अवसरबाट कलाकृति वञ्चित रहन्छ । एउटा मात्र होइन कैयौँ सिर्जनाले कोठामै थन्किएर माकुराको जालो वा धमिराले खाएर अतीतमै बिलीन पनि हुन नसक्ला भन्न सकिन्न । विगतलाई हेर्ने हो भने हाम्रा कैयौँ अग्रज कलाकारका महत्वपूर्ण कलाकृतिहरू त्यत्तिकै बिलीन भएका छन् ।
अग्रज कलाकारहरूको नक्कल गर्ने क्रममा आफ्नो मौलिकतालाई कहिल्यै पनि बिर्सनु हुँदैन कलासिर्जनामा आफ्नोपन ठूलो कुरा हो । यसले नै कलाकारको मौलिक पहिचानलाई आमदर्शक समक्ष स्थापित गराउँछ । अन्यथा कलाकारको कामको कुनै लेखाजोखा हुन सक्दैन । कलाकारलाई चिन्ने र कलाकारका कामलाई बुझ्ने अवसरबाट वञ्चित गराउँछ । यसरी हेर्दा एउटा आर्ट ग्यालरीले कलाकारका कामलाई वा कलाकारको प्रतिभालाई सार्वजनिक गर्दै प्रोत्साहन प्रदान गर्नु र व्यक्तिगत लाभका रूपमा पनि यसले सकारात्मक प्रभाव नै पार्न सक्छ ।
यहाँनेर एउटा कुरा के स्मरणीय हुन्छ भने हामीले कलाकृतिमा हेर्नुपर्ने मुख्य कुरा के हो र कलाकारले सिर्जनामा गर्नुपर्ने मुख्य काम के हो ? जहाँसम्म मलाई लाग्छ कुनै पनि कलाकारले क्यान्भास अगाडि बस्नुअघि रङ र कूची समाउनु भन्दा पहिले आफूले गर्ने सिर्जनाको विषयवस्तुको चयनमा गम्भीर हुनु अति आवश्यक छ । के बनाउने हो ? कस्तो बनाउने हो ? के का लागि बनाउने हो र त्यसले भविष्यमा पार्ने प्रभाव कस्तो हुन्छ भन्ने कुरालाई एकैछिन साँेच्नु चिन्तन, मनन गर्नु जरुरी हुन्छ जस्तो लाग्छ । ‘कलाका लागि कला’ भन्ने पुरातन मान्यताले अहिले फड्को मारिसकेको अवस्था छ । ‘कलाका लागि कला मात्र हुँदैन’ कलाका लागि अनेक कामहरूको सिलसिला सुरु भइसकेको छ ।
अप्रत्यक्ष रूपमा एउटा चित्रकलाले धेरै ठूलो प्रभाव प्रेरणा र प्रोत्साहन प्रदान गर्न सक्छ । परन्तु त्यो कलालाई हेर्ने दर्शकको आँखा मन र हृदय भने कलाकारी भावनाले ओतप्रोत हुनु आवश्यक हुन्छ । कलाकारको कामप्रतिको गम्भीर चासो र कलाकारले कहिलेदेखि, कसरी, के कस्तो सिर्जना गर्दै आएको हो र कलाकारको कामलाई अन्य कलाकार, कलापारखी दर्शक, कलासमीक्षक आदिले कसरी हेर्दै आएका छन् ? कसरी मूल्याङ्कन गर्दै आएका छन् ? त्यस कुरामा पनि ध्यान दिनु जरुरी हुन्छ जस्तो लाग्छ । कलाकारको ‘धरातल’, कलाकारको ‘पृष्ठभूमि’ वा भनौँ कलाकारको ‘स्कुलिङ’ ले पनि उसको कलासिर्जनाको प्रभाव र प्रस्तुतिलाई प्रभाव पार्छ ।
चित्रकलामा के हेर्नु ? के देख्नु ? किन घोरिनु ? किन घोत्लिनु ? के देखिन्छ, के देख्नुपर्ने हो ? के हेर्ने हो र के हेर्नुपर्ने हो ?
ग्यालरीमा गएर चित्रकृति अगाडि उभिएर हामीले हेर्न खोजेको कुरा के हो र के हुनुपर्ने हो !? किन हामी ग्यालरीमा जान्छौँ र ग्यालरीमा गएर हामी के चाहन्छौँ ? कस्तो कृति हेर्ने चाहना हाम्रो हुन्छ ? कसको चित्र हेर्ने मन हामीलाई लाग्छ ?
आधुनिक शैलीका, परम्परागत शैलीका, मूर्त, अमूर्त वा दृश्यचित्र, व्यक्तिचित्र अथवा अन्य के कस्ता शैली र माध्यममा सिर्जना गरिएका कलाकृतिहरू हेर्ने हाम्रो धोको हुन्छ ग्यालरी गएर ?
वास्तवमा ग्यालरीमा हामी किन जान्छौँ ? केका लागि गएका हुन्छौँ र कला ग्यालरी गइसकेपछि पाइने उपलब्धि के हुन्छ ? यसमा हामी स्वयं स्पष्ट हुनु आवश्यक छ । हामी कतिको सचेत भएर ग्यालरी जान्छौँ र ग्यालरी पुगेर हामीले खोजेको सिर्जनात्मक बान्कीका सिर्जनाहरू कतिसम्म हाम्रा आँखा र मनले आनन्दपूर्वक हेर्न सक्छन् ?
ग्यालरीमा टाँगिएका कलाकृतिहरू देखेर हाम्रो मन र आँखाले कतिसम्म सन्तुष्टिको महसुस गर्न सक्छ । यो कुरा महत्वपूर्ण हुन्छ । कुनै पनि कलाकृतिमा हामीले खोजेको मुख्य कुरा भनेको रङको सौन्दर्य र त्यसले हामीलाई पार्ने सकारात्मक प्रभाव हो ।
त्यसैगरी कलाकारले आफ्नो कलाक्षमताको कतिसम्म उपयोग गर्न सकेका छन्, साथसाथै कलाकारको आफ्नो मौलिक सिर्जनात्मक क्षमता कतिको गतिशील रूपमा प्रकट भएको हुन्छ । रङलाई कलाकारले क्यान्भासमा कसरी नचाएर, खेलाएर, मिलाएर पारङ्गत र परिपक्व शैली–संरचनाको अलग्ग परिवेशको प्रस्तुति प्रस्तुत गर्न सकेको हुन्छ ? यो कुरा पनि हाम्रा आँखाले कलाकृतिहरूमा खोज्छ ।
यसरी हामीले खोजेको कुरा कलाकृति हेर्दा प्राप्त भयो भने साँच्चै नै हामीलाई ठूलो प्राप्ति हुन्छ । धेरै खुशी र सन्तुष्टिले कलाप्रतिको आकर्षण र कलामा व्यक्त भएको रहस्यमय प्रस्तुतिको रहस्य उद्घाटित हुन्छ ।
वास्तवमा कलाकारलाई लिन जानु भनेको कसैको निम्तोलाई स्वीकारेर ‘बधाई’ दिन वा ‘धन्यवाद’ पाउनको लागि मात्र हुनु हुँदैन । ग्यालरीमा गएर हामीले मनमा शान्ति र शीतल भावको महसुस गर्न सक्नुपर्छ । आर्ट ग्यालरीमा हुने सामूहिक कलाप्रदर्शनी होस् वा एकल कला प्रदर्शनी तिनमा प्रदर्शित प्रत्येक कलाकारका कलासिर्जनाहरूले आ–आफ्नो कलात्मक परिचयलाई पृथक रूपमा पेश गर्न सक्नुपर्छ । कलामा नवीनता र मौलिकता भनेको नै यही हो । नवीनता र मौलिकताबिनाको कलाले कलाकारको सिर्जन क्षमतालाई स्पष्ट रूपमा प्रस्तुत गर्न सक्दैन ।
यसरी कलाप्रदर्शनीले कलाकारको कामलाई आमदर्शक समक्ष सार्वजनिक गरिदिँदा कलाकारको कला व्यक्तित्वलाई चिनारीको परिवेशमा ल्याइदिने काम गर्छ । यसरी कलापारखी दर्शक माझ कलाकारका कलाकृतिहरू सार्वजनिक हुँदा कलाकार आफूले आफ्ना कलामा के कस्तो विषयवस्तुलाई उठान गर्न सकेको हो ? त्यसले आफ्ना कलाकृति हेर्न आउने दर्शकलाई कस्तो किसिमको प्रभाव पार्न सक्छ भन्ने जस्ता कुरामा पनि गम्भीर हुनु अति आवश्यक हुन्छ ।
कलाकारले सिधै ‘सन्देश’ वा कुनै पनि किसिमको आग्रह पूर्वाग्रहको ‘सम्प्रेषण’ गर्न सक्दैन । र, गर्न हुँदैन पनि । तथापि हेर्ने दर्शकले आफूले हेरेको कलाबाट केही न केही नयाँपनको आभास महसुस गर्न सक्नुपर्छ । कलामा कुनै सन्देश नहोला कुनै आग्रह गरिएको नहोला तापनि कलाले दिने मूलभूत सन्देश भनेको सौन्दर्यको सम्प्रेषण नै हो । जहाँ अनेक रङहरूको मिठो मिलनमा आँखालाई आनन्द पार्ने मनलाई शीतल प्रदान गर्ने र हृदय रमाउने भाव सञ्चार गर्न सक्नुपर्छ ।
अन्ततः ग्यालरीमा प्रदर्शित कलाकृतिहरूको मौलिक सौन्दर्यले हामीलाई नयाँ सोँचविचार र विवेकको नवीनतम धरातलमा अवतरण गराउन सक्नुपर्छ । यसरी अवतरण गराउँदा कलाले सौन्दर्यको सम्प्रेषण प्रदान गर्न सक्नुपर्छ ।
गएको एक महिनाबिचमा काठमाडौँका कलादीर्घाहरूमा नेपालका ख्यातिप्राप्त कलाकारहरूका कलाप्रदर्शनी हेर्ने अवसरको सदुयपोग गर्दै केही अनुभूतिहरूका यी आलेख यसरी लेखियो । यसक्रममा नेपाली कलाका स्वनामधन्य कलाकारहरूका प्रतिनिधि कलासिर्जना हेर्ने अवसरको सौजन्य मिल्यो । लैनसिंह बाङ्देलदेखि शारदा चित्रकार, के.के. कर्माचार्य, कृष्ण मानन्धर, मदन चित्रकार, राधेश्याम मुल्मी, शरद रञ्जित, नवीन्द्रमान राजभण्डारी, श्यामलाल श्रेष्ठ, सुनिल रञ्जित, उमाशंकर शाह, डा. सीमा शर्मा, शाह, श्रीजनकुमार राजभण्डारीका कलाकृतिहरूसँग आँखा र मन रमाइरहँदाका केही पलहरू । यी चित्रहरूले समकालीन नेपाली कलाको अवस्थालाई प्रतिविम्बित गर्छन् । उल्लिखित कलाकार नेपाली कलाका स्थापित कलाकार हुनुहुन्छ ।