मूर्धन्य अग्रज कलाकार केशव दुवाडीको २८औँ स्मृति दिवस

नेपालको ललितकलामा अमिट योगदान दिनुभएका मूर्धन्य अग्रज कलाकार केशव दुवाडीको स्मृतिमा आज हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँका जीवनका केही पाटा उजागर गर्ने अवसर पाएको छु । कला र सिर्जनाको क्षेत्रमा उहाँको जीवनमा पोखिएका भावना, उहाँका सिर्जनशील सोच र उहाँको साधना, सबै कुरा नेपाली समाजका लागि प्रेरणादायक छन् ।
२०५३ सालको पौष १८ गते, शिक्षण अस्पताल महाराजगञ्जको क्याविन नं. ३०४ मा जीवन र मृत्युको दोधारमा रहेका कलाकार केशव दुवाडीले आफ्नो भौतिक यात्रा टुंग्याउनुभयो । उच्च रक्तचापले गर्दा मस्तिष्कमा गम्भीर असर परेको थियो, जसका कारण उहाँको स्वास्थ्य स्थिति क्रमशः बिग्रँदै गयो । झण्डै दुई सातासम्म जीवन र मृत्युसँगको संघर्षपछि उहाँले संसार छोड्नुभयो । त्यो दिन मात्र ७५ वसन्त पार गर्नुभएका उहाँको निधन नेपाली ललितकलाका लागि ठूलो क्षति थियो ।
तर यो दुःखद क्षणमा पनि समाजको सामूहिक स्वर मौनजस्तै देखियो । कला, संस्कृति र साहित्यका धरोहरप्रति हामीले दिने सम्मानको अभाव स्पष्ट महसुस गरिन्छ । कलाकार दुवाडीको निधन केवल एउटा व्यक्तिको मृत्यु थिएन; त्यो त एउटा युगको समाप्ति थियो ।
विराटनगरको मधुमारामा १९७८ साल मार्ग कृष्ण चतुर्दशीका दिन जन्मनुभएका कलाकार दुवाडी बाल्यकालदेखि नै कलाका प्रति समर्पित हुनुहुन्थ्यो । उहाँका बुबा बाबुराम शर्मा र आमा अवन्तिकादेवीको सपना थियो– छोरो पण्डित बनोस्, शास्त्रको ज्ञाता बनोस् । तर, नियतिको विचित्र खेल ! समयले उहाँलाई पण्डित होइन, नेपाली कलाको उज्यालो भविष्य बनाइदियो ।
कलागुरु केशव दुवाडीले आफ्नो जीवनको धेरैजसो समय चित्रकला र शिक्षण कार्यमा समर्पित गर्नुभयो । उहाँले बनारसमा बस्दा धार्मिक ग्रन्थहरूका लागि सन्दर्भ–चित्रहरू बनाउनुभयो । उहाँका चित्रहरूले आध्यात्मिक भाव जगाउँदै मानिसलाई धर्म, संस्कृति र संस्कारप्रति जागरूक बनायो । दुवाडीले चित्रकलाका साथै नेपाली नोट एक, पाँच, दश, पचास, सय, पाँचसय र एक हजारको डिजाइन गर्नुभएको पनि यहाँ स्मरणीय हुन्छ ।
उहाँका शब्दमा, ‘काम धेरै र थोरै भन्ने हुँदैन, त्यसको स्तरीयता र कलाकारी क्षमता, सौन्दर्य–साधना महत्वपूर्ण कुरा हो ।’
यस्तो विचार राख्ने उहाँका सिर्जनाहरू नेपाली कलाक्षेत्रमा केवल कलाको अभिव्यक्ति थिएनन्, ती त एउटा विचार, एउटा प्रेरणा र एउटा आन्दोलन पनि थिए । उहाँले भन्नुभएकै झल्को म २०५० सालको त्यो क्षण सम्झन्छु, जब उहाँले इन्द्र राज्यलक्ष्मी प्रज्ञा पुरस्कार प्राप्त गर्नुभएको खुसी साझा गर्दै भन्नुभएको थियो– ‘मैले धार्मिक किताबहरूमा धेरै चित्र बनाएको छु । दृष्टान्त चित्रहरू पनि त्यत्तिकै मात्रामा बनाएको छु । प्रदर्शन गर्न लायक चित्रहरू मैले थोरै बनाएँ ।’
उहाँले भनेजस्तै, कला कति धेरै बनाइयो भन्ने कुरा होइन; त्यसको गुणस्तर, सौन्दर्य र दर्शकको मनमा उत्पन्न गर्ने प्रभाव महत्वपूर्ण हुन्छ । उहाँका चित्रहरूमा रहेको आध्यात्मिकता र सौन्दर्यले मानिसलाई जीवनको गहिराइ बुझ्न प्रेरणा दिन्छ । उहाँले आफ्ना सिर्जनामा मात्र होइन, आफ्ना विचारहरूमा पनि यो साधनाको प्रस्तुति दिनुभएको अनुभव मैले उहाँसँगको साक्षात्कारम ागर्न पाएको थिएँ ।
अस्ति पौष १८ गते उहाँको २८औँ स्मृति दिवस । उहाँ बाँचिरहनुभएको भए अहिले १०३ वर्षका हुनुहुने थियो । उहाँकी धर्मपत्नी कुञ्जलता दुवाडी जो अहिले ८९औं वर्षमा पुग्नुभयो । उहाँ र उहाँका छोरा प्रदीपकुमार दुवाडी, परिवारका अन्य सदस्य तथा दुवाडीका शुभचिन्तकहरूको पहलमा २०७१ सालमा ‘केशव दुवाडी स्मृति प्रतिष्ठान’ स्थापना भएको थियो ।
सो प्रतिष्ठानका अध्यक्ष प्रदीपकुमार दुवाडीका अनुसार सो प्रतिष्ठानले वर्सेनि केशव दुवाडीको स्मति दिवस मनाउनुका साथै उहाँकै नाममा कलाकारहरूलाई नगद राशिले सम्मान र पुरस्कृतसमेत गरिँदै आइरहेको थियो । तर प्रतिष्ठानको रकम राखिएको सहकारी नै फरार भएपछि तीन वर्षदेखि नियमित कार्यक्रम स्थगित गर्नुपरेको छ ।
यसैगरी नेपाली कला, कलाशिक्षामा ठूलो योगदान पु¥याउनुभएका कलाकार दुवाडीको नाममा हुलाक टिकट प्रकाशनको कामसमेत हुन नसकेकोमा दुवाडी पुत्र प्रदीपकुमार दुवाडी अफसोस मान्नुहुन्छ । प्रतिष्ठानले नै प्रा.डा. कृष्णप्रसाद दाहालको लेखनमा ‘कलाशिरोमणि केशव दुवाडी’ २०७८ सालमा प्रकाशित भएको थियो ।
हामी उहाँको योगदान र उहाँको जीवनको मूल्याङ्कन गर्दै सन्देश दिने प्रयास गरौँ । कलाकार दुवाडी केवल एउटा व्यक्ति नभएर नेपाली ललितकलाका धरोहर हुनुहुन्थ्यो । उहाँले देखाएको कलाको मार्ग आजका पुस्ताका लागि एउटा पथप्रदर्शक हो ।
‘कलामा मानवीयता र सौन्दर्यको खोजी गर । यहाँ कला छ, त्यहाँ जीवन छ । जहाँ जीवन छ, त्यहाँ सिर्जना छ ।’ उहाँको भनाइ थियो ।
कहिलेकाहीं जीवनले आफ्नो यात्रामा असाधारण व्यक्तित्वहरूलाई चिनाउने अवसर दिन्छ, जसले आफूलाई मात्र नभई आफ्नो समय र सन्दर्भलाई पनि गहिरो प्रभाव पार्छन् । त्यस्तै एक व्यक्तित्व कलाकार केशव दुवाडी । उहाँको स्मरण गर्दा उहाँको सिर्जनशीलता, साधना र जीवनदृष्टिको विशेषता आँखाअघि छर्लङ्ग हुन्छ । उहाँको कलात्मक यात्रा र साधनामा झल्किएको गहनता सम्झेर पनि मनमा एउटा अनुपम श्रद्धाको भावना जागृत हुन्छ ।
दुवाडीले आफ्नो कला यात्रा बनारसको पवित्र भूमिमा आरम्भ गर्नुभएको थियो । धार्मिक र आध्यात्मिक वातावरणले उहाँको सिर्जनशीलता प्रगाढ बनायो । बनारसको त्यस समयको सांस्कृतिक धरोहरमा उहाँको कलाको योगदान अमूल्य थियो ।
बनारसबाट प्रकाशित हुने धार्मिक ग्रन्थहरूका सन्दर्भचित्र उहाँकै सिर्जना थिए । ती चित्र हेर्दा, उहाँको अध्यात्मिक बोध र कलासिद्धिले उहाँलाई ‘आध्यात्मिक जागरणका चित्रकार’ का रूपमा स्थापित गरेको स्पष्ट हुन्छ । ती चित्रहरूमार्फत उहाँले न केवल आफ्ना विचारहरू अभिव्यक्त गर्नुभयो, बरु त्यो युगको भावनात्मक र सांस्कृतिक चेतनालाई पनि चिरस्थायी बनाउनुभयो ।
उहाँको कला यात्राको पहिलो पाइलामा ‘श्रीगणेश’ चित्र थियो, जसले उहाँको यात्रालाई शुभारम्भ गर्यो । पारिवारिक धार्मिक संस्कारले उहाँलाई सानै उमेरदेखि नै आध्यात्मिक सोचको बीजारोपण गर्यो । यद्यपि, धार्मिक आस्थाले मात्रै उहाँको यात्रालाई परिभाषित गरेन । उहाँको सम्पूर्ण व्यक्तित्व र समर्पणले कलालाई उहाँको जीवनको अनिवार्य अंश बनायो । उहाँले भन्नुभएको थियो, ‘कलामा समर्पण नै ठूलो कुरा हो, जसले कलालाई अमर बनाउँछ ।’ यो कुरा उहाँको जीवन र कलामा स्पष्ट देखिन्छ ।
दुवाडीको मुम्बई बसाइले उहाँलाई थप परिपक्व बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो । ‘कला–अनुसन्धान समिति’ को सदस्य बनेपछि उहाँले त्यहाँ खोज र अध्ययनको अद्भुत अवसर प्राप्त गर्नुभयो । त्यहाँको वातावरणले उहाँको सिर्जनशील क्षमतालाई नयाँ ढंगले उजागर ग¥यो । उहाँको प्रत्येक चित्रमा उहाँको श्रम, लगाव र कलाको गहन खोज देखिन्थ्यो ।
यस्तो महान कलाकारको जीवन संघर्ष र साधना पनि कम प्रेरणादायी थिएन । उहाँले भोग्नुभएको दुःख, झेलेको सास्ती र मित्रमण्डलीबाट पाएका आलोचनाहरू उहाँका लागि केवल बाधाहरू थिएनन्; ती उहाँलाई अझ सबल र सिर्जनशील बनाउने प्रेरणा बने । कलाका माध्यमबाट उहाँले आफ्नो हृदयको गहिराइ व्यक्त गर्नुभयो ।
आज उहाँको अनुपस्थितिमा पनि उहाँका सिर्जनाहरूले नेपाली चित्रकलाको मार्गप्रशस्त गरिरहेका छन् । उहाँका योगदानलाई सम्झिँदा लाग्छ, एउटा कलाकारको क्यानभासमा रङ्गीन तस्बीर मात्र हुँदैन; त्यो तस्बीरभित्र समाजको आत्मा झल्किन्छ । केशव दुवाडी, साँच्चै नेपाली चित्रकलाको स्तम्भ मात्र होइन, अमर स्रष्टा हुनुहुन्थ्यो ।
केशव दुवाडी कलाकार मात्र नभएर नेपाली कलाको एक अध्यायका रूपमा अमर हुनुहुन्छ । उहाँको जीवनको संस्मरण हामी सबैका लागि प्रेरणा र सम्पदाको स्रोत हो । कला, संघर्ष र समर्पणको यस यात्रामा उहाँले हामीलाई देखाउनुभएको मार्ग नेपाली कलाको उज्ज्वल भविष्यका लागि पथप्रदर्शक छ ।
उहाँप्रतिको श्रद्धाञ्जलि स्वरूप आज हामी उहाँका चित्रहरू हेर्दै उहाँको कला साधना सम्झन्छौं । ती चित्रहरू केवल उहाँका सिर्जनाहरू होइनन्; ती एउटा युगको प्रमाण हुन्, एउटा महान कलाकारको जीवनको कथा हुन् ।
उहाँप्रति श्रद्धा सुमन अर्पण गर्दै उहाँका यी शब्दहरू सदा प्रेरणाका लागि जिउँदा रहने छन् । केशव दुवाडीको सम्झना सदा अमर रहोस् ।